गोरक्ष समाचारदाता
दाङ, १८ भदौ । घोराही उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा जफत गरेका ८० हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले २०८१ साल फागुन महिनादेखि २०८२ साउनसम्म संयुक्त बजार अनुगमनका क्रममा नियन्त्रणमा लिइएका म्याद गुज्रेका तथा लेबल नभएका सामग्रीलाई घोराही–१६ करौँतीडाडाँस्थित डम्पिङ साइडमा नष्ट गरेको हो ।
उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले घोराही उपमहानगरपालिका लगायतको संयुक्त टोलीले बजार अनुगमनका क्रममा नियन्त्रणमा लिइएका तेल, चुक, पिठोलगायत पेय पदार्थ मङ्गलवार नष्ट गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोनहसिंह सुनारले जानकारी दिएका छन् ।
उनका अनुसार गत फागुनदेखि साउन महिनासम्म गरिएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका खाद्य तथा अखाद्य वस्तुहरूलाई स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७८ को दफा २० उपदफा २ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको बताए । उनका अनुसार चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई पुनः निरन्तरता दिइनेछ ।
कारबाहीमा परेका डेरी उद्योग
यसैबिच घोराही उपमहानगरपालिकाले गुणस्तर नभएको दुध बिक्री गर्ने नौ वटा डेरी पसल तथा उद्योगलाई पाँच÷पाँच हजार रुपैयाँका दरले जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा घोराही बजारका विभिन्न स्थानमा सञ्चालनमा रहेका १६ वटा पसल तथा उद्योगबाट १८ वटा नमुना सङ्कलन गरेर परीक्षण गर्दा नेपाल सरकारले तोकेको दुधको गुणस्तर तथा मापदण्ड बमोजिमको गुणस्तर नभएको पाइएपछि नौ वटा डेरी उद्योगलाई कारबाही गरेको हो ।
स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७८ को दफा २९ को ९(ग) बमोजिमको कसुर गरेको देखिएकाले एक पटकका लागि गुणस्तर नभएको दुध बिक्री गर्ने डेरी व्यवसायीलाई दफा ३० को उपदफा १९ क अनुसार जनही पाँच÷पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख सुनारले जानकारी दिएका छन् ।
उनका अनुसार घोराही उपमहानगरपालिका–१५ मा रहेका पाण्डे डेरी एन्ड किरण, आचार्य डेरी उद्योग, बस्नेत किराना एन्ड डेरी उद्योग, अधिकारी डेरी उदोग, देउखुरी डेरी उद्योग, नेपाल डेरी उद्योग, रिचा डेरी उद्योग, हिमालय डेरी उद्योग र साधना दुध सङ्कलन केन्द्रलाई कारबाही गरिएको छ । कारबाहीमा परेका डेरी उद्योगबाट सङ्कलन गरिएको दुधको नमुनामा एसएनएफ÷फ्याट न्यूनतमभन्दा कम र पानी ३० प्रतिशत बढी मिसावट गरिएको पाइएको शाखा प्रमुख सुनारले बताए ।