नारायणप्रसाद श्रेष्ठ
बाबुको पहिचान जन्म दिने आमाको हाउभाउ र परिचयबाट भएको हुन्छ । बच्चाको बाबु यो हो भनी जबसम्म आमाले इशारा गर्दैनिन्, तबसम्म बाबुको हुनु हुन्छ थाहा हुँदैन । यो अदृश्य शक्तिभित्र लुकेको सत्य पनि हो । हुनत अहिले आधुनिक प्रवृद्धिको विकासले असम्भवलाई सम्भव बनाएको पाइन्छ ।
बावुको पहिचान बिना पनि बच्चा जन्मने हुर्कने गरेको पाइन्छ तर पनि बच्चा जन्माउने आमाको अन्तर मनभित्रको सत्य बुझ्न उहाँलाई नै विश्वास गर्नु पर्ने हुन्छ । कतिपय अवस्थामा बाबुको पहिचान विवाह संस्कारमा सामेल भएको नाताले त्यही हो भन्ने मान्यता हुन्छ तर असली कुरा उसको आमा बाहेक बच्चा कसको, अरुलाई थाहा हुँदैन । यो सामाजिक मर्यादा र मान्यता पनि हो । त्यसैले भनिन्छ ‘आमा सत्य हो, बाबु सत्यभित्र लुकेको विश्वास र अदृश्य शक्ति हो ।
जसरी जन्ममरणको इतिहासमा सृष्टि चक्रको यो क्रम दोहोरी रहन्छ, त्यसैगरी ईश्वरीय शक्ति पनि यसरी नै गतिशिल हुँदै विभिन्न कालखण्डमा युगको परिवर्तन भइरहेको हुन्छ । विश्वास र भरोशा कुनैबेला सत्य भएर प्रकट भएको हुन्छ भने कुनै बेला अप्रत्यक्ष रुपमा महसुस गरेको अवस्था हुन्छ । जसरी आमाले बाबुको पहिचान गराएकी हुन्छीन्, त्यसरी नै आस्थाले ईश्वर, भगवान्को पहिचान, गराएको हुन्छ ।
आस्था, विश्वास र समर्पण नै ईश्वरको पहिचान हो । जहाँ आस्था हुन्छ, त्यहाँ विश्वास जागृत भई ईश्वरको रुप प्रकट भइरहेको हुन्छ । तसर्थ संसारमा जे जति घटना र परिघटना भइरहेका छन् ती सबैमा कही कतै ईश्वरीय रचना प्रतिबिम्ब भइरहेको हुन्छ भनी विभिन्न शास्त्रले प्रमाणित गर्न खोजेको देखिन्छ । ठूला–ठूला दर्शनशास्त्री पनि ईश्वरप्रतिको विश्वासले आफू सफल भएको महसुस गर्दछन् ।
ईश्वर छ र ईश्वरीय कृपाले नै अहिले मेरो संकल्प सफल भएको भनी उनीहरु भन्न हिच किचाउँदैनन । यति मात्र होइन आविष्कारको प्रत्येक क्षण वा प्रारम्भको पहिलो कर्मबिन्दुको सुरुवात उनीहरुले ईश्वरप्रति आस्था र भरोसा राख्दै आफूलाई प्रदर्शन गरेका हुन्छन् । हामीले वर्तमान अवस्थामा जे जति पौराणिक ग्रन्थहरु अध्ययन र विश्लेषण गरेका छौँ । त्यसमा कहीँ न कतै ईश्वरीय लीला प्रतिबिम्ब भएको पाइन्छ ।
ती सबै हामीमा रहेको आस्था र भरोसाले स्वीकार गर्दै आएको सत्य हो । त्यसैले हिजो आज र भोलिको परिस्थितिलाई अंगाल्ने परिस्थिति जुन किसिमले आज देखिँदै छ । त्यसमा कतै विश्वास र कतै भरोसा लुकेकोले यसलाई ईश्वरीय कृपा होइन भन्ने आधार भेटिनसकेका छैनन् । जन्म मृत्यु सत्य हो भने प्रमाणित गर्ने वैज्ञानिकले समेत मानव आत्माभित्र समाहित सत्यपुञ्ज कहाँ र कसरी आउँछ जान्छ यस कुराको खोज गर्न सकेका छैनन् । यसबाट सिद्ध हुन्छ ईश्वर छ र यो आस्था र विश्वासमा रहेको छ ।
केही समय पहिले आस्था र भरोसाका कारण कृष्ण जन्मको सार्थकतालाई स्वीकारी हामीले विविध किसिमले कृष्ण जन्माष्टमी मनायो । कृष्णले गरेका कर्म र व्यवहारलाई मार्गदर्शनको रुपमा स्वीकार्दै अघि बढ्ने संकल्प समेत ग¥र्यौ । त्यसैगरी कुशे औंशी बाबुको मुख हेर्ने पर्व, तिज पर्व, समेत मा आफूलाई सरिक बनायो । पार्वतीले महादेव स्वामी पाउँ भनी गरेको व्रतको प्रभाव, तीज पर्वलाई हिन्दु अनुयायीहरुले स्वीकार गरी त्यसमा आबद्ध पनि भयो ।
हाम्रो हिन्दु संस्कृति र संस्कारभित्र आउने जति पनि चाडपर्वहरु छन् त्यसमा कहीँ न कतै ईश्वरीय भाव जागृत भइरहेको हुन्छ भन्ने आत्मविश्वास बढाइ हामी आफूलाई सोही पर्वभित्र समाहित पनि गर्ने गरेका छौँ । केही समय पछि सोह्र श्राद्ध, बडादशै आउने छ । त्यसमा पनि हामी रमाउने छौँ । यसबाट के थाहा हुन्छ भने जहाँ सत्य हुन्छ,त्यहाँ विश्वास हुन्छ र जहाँ विश्वास र आस्था हुन्छ, त्यहाँ संकल्प र दृढता रहन्छ । यही मानव जीवनलाई गतिशील बनाउने आधार पनि हो ।
त्यसैले ईश्वर ( सत्य) खोज्न अन्त होइन आफूभित्रको विश्वास र आस्थालाई बलियो बनाई अन्तर आत्माभित्रको चेतनालाई जागृत गराउनु परेको छ भन्ने गरिन्छ । विश्वास र श्रद्धा नै हाम्रो सभ्यताको अनुपम दृष्टान्त पनि हो ।
हुनत मानिसहरु ईश्वर (सत्य) खोज्न विभिन्न मठमन्दिर गिरिजाघर मस्जीदमा गएको पाइन्छ र ईश्वरीय भक्तिमा आफूलाई समर्पित भएको र गरेको पनि देखिन्छ । वास्तवमा मठ मन्दिरभित्र रहेको ईश्वरलाई पहिचान गर्न सक्नु भनेको आफ्नो अन्तर मनभित्रको सत्यलाई जागृत गर्नु हो । भन्ने कुरा बिर्सन पनि हुँदैन । किनकि मन्दिर मस्जीदमा हामी जुन उद्देश्य र प्रयोजनको लागि गएका हुन्छौँ र आफूलाई समर्पित भावले समर्पित गरेका पनि हुन्छौँ वास्तवमा त्यो मानव अन्तर हृदयभित्र लुकेको अदृश्य जीव तत्वले हामीलाई त्यस्तो गराएको हो ।
किनकि हाम्रो आस्थाभित्र ईश्वरप्रतिको अटल आस्था र विश्वास छ । आस्था छैन भरोसा पनि छैन । देखावटी हिसाबले यदि मानिसले ईश्वरलाई स्वार्थपूर्तिको आधार बनाउँछ भने त्यो असत्य पनि हुनसक्छ किनकि आँखा लोभी मनपापी भनेझै देखावटी आचरणले ईश्वरीय रुप देख्न सकिँदैन र अर्को कुरा आँखाले देखेको सबै सत्य पनि हुँदैन । मानिसको इच्छा र आकांक्षाभित्र लुकेका अनगिणित विचारले मानिसलाई सधैं चिन्तित बनाएको हुन्छ ।
त्यसको एक मात्र समाधान भनेको ईश्वरप्रतिको विश्वास र आस्था पनि हो । मन ताक्छ बुढो बन्चरो ताक्छ घुडो । भनेझैँ मनमा एउटा, कर्ममा एउटा भयो भने त्यहाँ विश्वासको खडेरी पर्न सक्छ । जहाँ विश्वास हुँदैन । त्यहाँ आस्था र भरोसा पनि रहँदैन । तसर्थ ईश्वरलाई खोज्न अथवा प्राप्ति गर्नु छ भने मनको मैलोलाई पखाल्न सक्नुपर्छ । दृष्टि भ्रमभित्र रहेको विलासीपनलाई त्याग्न सक्नुपर्छ । प्रकृतिसँग रमाउन सिक्नुपर्छ एकले अर्काप्रति आस्था र विश्वास बढाउन सक्नुपर्छ । क्षैणिक लोभ र मोहमा नफसी हिजो जे भएको थियो ।
त्यो सत्यमा आधारित थियो । आज जे हुँदैछ त्यो पनि सत्यमा नै अगाडि बढेको छ र भोलि जे हुन्छ त्यो पनि सत्य र विश्वासको आधारबाट नै अगाडि बढ्न सक्छ । त्यसैले क्षणिक लोभ र आशक्तिमा फसेर आफ्नो आध्यात्मिक सत्यलाई गुमाउनु भनेको दुःख र पीडाभित्र आफूलाई धकेल्नु हो । गलत सम्बन्धमा आफैलाई धकेल्नु हो ।
किनकि विश्वास र भरोसाजगाइ गरिने समर्पित भाव नै खुसी र मेहनत पछि प्राप्त हुने आनन्द हो । जहाँ निस्वार्थ रुपले परिश्रम र विश्वास गरिएको हुन्छ । तब मात्र त्यहाँ सफलता हुन्छ । जहाँ सफलता हुन्छ, त्यहाँ आनन्द हुन्छ । आनन्द प्राप्ती नै ईश्वरीय वरदान पनि हो । फेरि अर्को कुरा खुसीले खुसी पनि पाइँदैन ।
किनकि खुसी हुनलाई कर्म र व्यवहारमा विश्वास जगाउनु पर्दछ । त्यसैले सत्यको पहिचान गर्न आफैले परिश्रम गरी आनन्द को अनुभूति गर्नु सक्नु पर्दछ । ईश्वरीय महिमालाई बुझ्न सक्नुपर्दछ । मनलाई सधैं सुनितितर्फ आकर्षित गर्नुपर्दछ ।
सुरुचितर्फ विचारलाई आकर्षित नगरी दृष्टिभमभित्र रहेको गलत मानसिकतालाई हटाएर आफूभित्रको शक्तिलाई पहिचान गरेर विश्वास र आस्थाको भरमा आफूले आफैलाई ईश्वरीय वरदानको रुपमा पहिचान गर्न सक्नुपर्दछ । किनकि आस्था र विश्वास नै सम्पूर्ण सृष्टि रचनाको बलियो आधार हो यो निरन्तर गतिशील भइरहेको हुन्छ । चेतना भया ।