गोरक्ष समाचारदाता
दाङ, १८ भदौ । जिल्ला समन्वय समिति दाङको नवौँ जिल्लासभा आज बुधवार हुने भएको छ । प्रतिनिधि सभा सदस्य तथा पूर्व सिँचाइ मन्त्री दीपक गिरीको प्रमुख आतिथ्यतामा हुने जिल्ला सभामा प्रतिनिधि सभा सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा, प्रतिनिधि सभा सदस्य तथा पूर्व सहरी विकास मन्त्री मेटमणि चौधरीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समितिका सदस्य सचिव तथा जिल्ला समन्वय अधिकारी सावित्री श्रेष्ठले जानकारी दिएकी छन् ।
सभामा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरी, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी प्रदेशका उर्जा तथा जलस्रोत मन्त्री सीता चौधरी, पूर्व स्वास्थ्यमन्त्री राजु खनाल, पूर्व अर्थमन्त्री धनबहादुर मास्की, पूर्व स्वास्थ्यमन्त्री इन्द्रजित थारू, प्रदेश सभा सदस्य अनुराग श्रेष्ठ, प्रदेश सभा सदस्य लोका विश्वकर्मा तथा प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले पनि सम्बोधन गर्नेछन् ।
सभामा जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेनाको ज्वाला दल गणका प्रमुख, अनुसन्धान प्रमुख, प्रमुख राजनीतिक दलका प्रमुखहरू, उद्योग वाणिज्य संघका पदाधिकारीहरू, पत्रकार महासंघ, नागरिक समाज, गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारीहरू, १० वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहनेछ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जिल्ला सभामा आर्थिक वर्ष २०८१÷०८२ सालमा सम्पादन गरेका कार्यक्रम तथा आर्थिक वर्ष ०८२÷०८३ सालको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
जिल्ला सभाकै अवसर पारेर यो वर्षको वार्षिक समीक्षा कार्यक्रममा सहभागिता जनाउने सङ्घीय कार्यालय, प्रदेश कार्यालय र स्थानीय पालिका मध्येबाट उत्कृष्ट हुनेलाई सम्मान गरिने कार्यक्रम रहेको जिल्ला समन्वय समितिले जनाएको छ । मूल्याङ्कन समितिले गरेको नतिजा अनुसार तीन वटा पालिकालाई प्रथम द्वितीय र तृतीय रूपमा सम्मान गरिनेछ ।
यसैगरी संघ तर्फका दुई कार्यालय र प्रदेश तर्फका दुई कार्यालयलाई पुरस्कृत गरिनेछ । जिल्ला समन्वय समिति दाङको सभाहलमा बिहान ११ बजे आयोजना गरिने जिल्ला सभामा उत्साहजनक सहभागिताका लागि जिल्ला समन्वय समितिले सबै आह्वान गरेको छ । जिल्ला सभामा जिल्लाका १० वटै पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका सदस्यको सहभागिता रहनेछ ।