गोरक्ष समाचारदाता
भालुबाङ, १८ भदौ । देउखुरीमा डेँगु, जापानिज इन्सेफ्लाइटिसलगायतका रोग नियन्त्रणका लागि लामखुट्टेका बासस्थान खोज्दै नष्ट गरिएको छ ।
देउखुरीस्थित राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कीटजन्य रोगहरूको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरणसँगै लामखुट्टेको सम्भावित बासस्थानको खोजी गर्दै नष्ट गरिएको हो ।
अभिमुखीकरणमा लामखुट्टे नियन्त्रण, सरसफाइ, रोकथामका उपाय र रोग लागेपछि गर्नुपर्ने प्राथमिक उपचारबारे जानकारी गराइएको थियो । कार्यक्रममा राप्ती गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक पदम पौडेल, लालमटिया स्वास्थ्यचौकी प्रमुख कृष्ण श्रेष्ठ र जनस्वास्थ्य निरीक्षक पोषणराज शर्मालगायतका स्वास्थ्यकर्मीले लामखुट्टेले कुन रोग सार्छ, सङ्क्रमण फैलिन नदिन अपनाउनु पर्ने सावधानी, घर वरिपरि पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने तथा लक्षण देखिए गर्नुपर्ने क्रियाकलापबारे प्रशिक्षण दिइएका थिए ।
कार्यक्रममा पालिका अन्तर्गतका १२ वटा टोल विकास संस्थाका प्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविका, रोटरी क्लब तथा अन्य उपभोक्ताको सहभागिता रहेको थियो । स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार हालसम्म राप्ती गाउँपालिकामा २० जनाको रगत परीक्षण गर्दा दुई जनामा डेङ्गु पोजेटिभ देखिएको छ ।
राप्ती गाउँपालिकामा मात्र वडा नं. १ भालुबाङमा २ जना, वडा नं. ६ मझेरियामा २ गरी डेङ्गु सङ्क्रमित भेटिएका ४ जनामध्ये एक जनाको मृत्यु भइसकेको छ । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले गरेका थिए ।