गोरक्ष समाचारदाता
लमही, १७ भदौ । नेपाल प्रहरीलाई लक्षित गर्दै लमही नगरपालिका–९ अमिलियास्थित ईलाका प्रहरी कार्यालय अमिलियामा एक दिवसीय कर्तव्यबोध योग प्रशिक्षण सम्पन्न भएको छ ।
प्रशिक्षणमा ईलाका प्रहरी कार्यालय मातहतका अस्थायी प्रहरी चौकी बनगैँ, प्रहरी चौकी सतबरिया, प्रहरी चौकी रिहार तथा आयोजक अमिलियामा कार्यरत प्रहरी जवान र अधिकृतहरूको सहभागिता रहेको थियो ।
गायत्री परिवार दाङका कोषाध्यक्ष श्रीराम दहितले प्रशिक्षण दिएका थिए । उनले आधुनिक जीवन शैली, संस्कार र संस्कृतिको अपहेलना तथा अप्राकृतिक बानीका कारण शारीरिक र मानसिक समस्या बढ्दै गएको बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख प्रहरी निरीक्षक भवानीप्रसाद धमालाले सुशासन, स्वास्थ्य र समृद्ध जीवनका लागि कर्तव्यबोध योग अपरिहार्य भएको बताए । प्रशिक्षण सञ्चालन गर्ने प्रशिक्षक र सहभागी प्रहरी टोलीलाई धन्यवाद दिएका थिए ।