गोरक्ष समाचारदाता
तुलसीपुर, १७ भदौ । तुलसीपुर उपमहानगरपालिकालाई सडक आश्रित मानवमुक्त घोषणा गरिने भएको छ । उपमहानगरपालिकालाई आगामी भदौ २८ गते सडक आश्रित मानवमुक्त घोषणा गरिने भएको हो ।
तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले आगामी भदौ २८ गते शनिवार सडक आश्रित मानवमुक्त पालिका घोषणा गरिने बताए । घोषणा कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको बताउँदै नगर प्रमुख खड्काले सडक आश्रित मानवमुक्त घोषणाका लागि तयारी स्वरूप आइतवार सरोकारवालासँग भएको छलफलमा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले १९ वटै वडाका पाँच हजार बढीको उपस्थितिमा घोषणा कार्यक्रम गरिने बताए ।
सडक आश्रित मानवमुक्त घोषणाका लागि छिट्टै बैठक बसेर व्यापक तयारी गरिने बताएका थिए । मानव सेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीले २०८२ भित्र नेपाललाई नै सडक आश्रित मानवमुक्त घोषणा गर्ने तयारी स्वरूप तुलसीपुर उपमहानगरपालिकालाई घोषणा गर्ने गरी तयारी अघि बढेको बताए ।
अधिकारीका अनुसार देशभरका २१ जिल्लामा २७ सेवा केन्द्रमा सहयोगापेक्षी सडक आश्रित मानवको संरक्षण भइरहेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दाङमा अहिलेसम्म दुई सय ६४ जनाको उद्धार गरिएको र एक सय २६ जनालाई परिवारसँग पुनर्मिलन गराएको जानकारी गराएका थिए । मानव सेवा आश्रम तुलसीपुरमा अहिले ६६ जना आश्रित रहेको उनको भनाइ थियो ।
प्रमुख अधिकारीले घोषणा कार्यक्रमपश्चात कहीँकतै देखिएमा पाँच घण्टाभित्र उद्धार गरिने जानकारी दिए । मानव सेवा आश्रमका केन्द्रीय संयोजक अधिकारीले प्रत्येक परिवारले आफ्नो जिम्मेवारी पूरा गरे सडक मानव कोही नहुने बताए । उनले बेसहारा तथा अभिभावकविहीनलाई सहारा दिने, मृत्यु भएमा पोस्टमार्टमपछि धार्मिक संस्कारलाई प्राथमिकता दिँदै अन्तिम संस्कार गर्ने, मृतकका आफन्तले पार्थिव शरीरको खोजी गर्ने भएकाले त्यसको व्यवस्थापन गर्ने गरेको जानकारी दिए ।
सडक आश्रित मानवमुक्त घोषणाका लागि अहिले सडक पेटीमा बसोबास गर्ने मानवलाई उद्धार अभियान, सरोकारवालासँग छलफल, समन्वयको काम भइरहेको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताइन् । सरोकारवालाले घोषणापछि पनि उद्दार अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् । तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारी, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान सहसचिव दीप्तिशिखा चौधरीले अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।