गोरक्ष समाचारदाता
दाङ, १७ भदौ । नेपाल फार्मेसी संघ दाङ शाखाले स्वास्थ्य संस्था र औषधी पसलमा फर्मासिस्ट अर्थात् औषधी विज्ञको व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरेको छ ।
औषधी ऐन २०३५ अनुसार औषधी भण्डारण तथा बिक्रीका लागि फर्मासिस्ट अर्थात् औषधी विज्ञबाट गर्नुपर्ने भए पनि त्यस अनुसार हुन नसकेको भन्दै औषधी ऐनलाई कडाइका साथ कार्यान्वयन गर्न माग गरेको हो ।
संघले घोराही उपमहानगरपालिकाको स्वास्थ्य संस्थासहित नगर क्षेत्रमा रहेका औषधी पसलमा अनिवार्य औषधी विज्ञ अर्थात् फर्मासिस्ट वा सहायक फर्मासिस्टको व्यवस्था गर्न माग गरेको छ । नगर क्षेत्रमा रहेका सबै औषधी पसल र स्वास्थ्य सस्थालाई औषधी ऐन २०३५ अनुसार दर्ता, लाइसेन्स, दक्ष जनशक्ति र आवश्यक पूर्वाधारको व्यवस्था मिलाउन माग गरेको छ ।
नक्कली, म्याद गुजे्रका वा गुणस्तरहीन औषधी बिक्री गर्न रोकथामका लागि नियमित अनुगमन गर्नुपर्ने भन्दै संघले अवैध रूपमा सञ्चालनमा रहेका पसल तथा संस्थालाई कानूनी प्रक्रियामा ल्याउनसमेत माग गरिएको नेपाल फार्मेसी संघ दाङका अध्यक्ष श्यामकुमार गिरीले जानकारी दिएका छन् ।
उनका अनुसार नगर क्षेत्रमा औषधीसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्न माग गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखामार्फत् औषधी व्यवसायमा देखिएका समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउनसमेत आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख नरुलाल चौधरीले फार्मेसी संघ दाङले नागरिकको स्वास्थ्यसँग जोडिएको गम्भीर विषय उठाएको भन्दै कानूनी दायरामा ल्याउन आह्वान गर्ने बताए । नेपाल फार्मेसी संघ दाङका अध्यक्ष श्यामकुमार गिरीको नेतृत्वमा गएको टोलीले नगर प्रमुख चौधरीलाई ज्ञापनपत्र बुझाएको थियो ।