त्रिभुवननगर जेसीज ट्रेनिङ म्याराथन सुरु

गोरक्ष समाचारदाता
दाङ, १७ भदौ । त्रिभुवननगर जेसीजले आयोजना गरेको ट्रेनिङ म्याराथन–२०२५ घोराहीमा सुरु भएको छ । मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलमा सोमवार भएको तालिममा बैठक सञ्चालन विधिसम्बन्धी प्रशिक्षण दिइएको हो ।

त्रिभुवननगर जेसीजका अध्यक्ष टंकबहादुर रावत ‘अनन्त’ को अध्यक्षता तथा नेपाल पत्रकार महासंघ नेपालका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यता एवम् मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल सञ्चालक समिति अध्यक्ष धर्मबहादुर केसीको विशिष्ट आतिथ्यतामा तालिम उद्घटन गरिएको थियो ।

तालिममा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष निशान्त आचार्यले जेसी आइका समग्र उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल चक्रबहादुर रावत, त्रिभुवननगर जेसीज तालिम प्रतिष्ठानका अध्यक्ष रजिव उल्लाह खानलगायतको सहभागिता रहेको थियो ।

त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष माधवप्रसाद पौडेलको प्रमुख प्रशिक्षणमा सम्पन्न तालिममा बैठक सञ्चालन विधिको महत्व, बैठकका औपचारिक चरणहरू, कार्यसूची तयार गर्ने तरिका, निर्णय प्रक्रियाको पद्धति, सभाध्यक्ष र सचिवको भूमिका, प्रस्ताव प्रस्तुत गर्ने तथा बहस–छलफल व्यवस्थित गर्ने तरिकालगायतका व्यावहारिक पक्षबारे विस्तृत प्रशिक्षण दिइएको थियो । तालिममा कक्षा ११ र १२ का गरी एक सय २५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक महेश बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आस्थापाठको अगुवाइ गणेश वलीले गरेका थिए भने किरण गौतमले जेसिआइको मिसन–भिजन वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव कृष्णदेव थापाले गरेका थिए । त्रिभुवननगर जेसीजको ट्रेनिङ म्याराथन–२०२५ ले युवा विद्यार्थीलाई नेतृत्व, व्यक्तित्व विकास, सञ्चार, वित्तीय व्यवस्थापनदेखि सामाजिक चेतना अभिवृद्धिसम्मका विषयमा निरन्तर तालिम दिने लक्ष्य राखेको छ ।