‘सरकारको अस्पष्ट नीतिले व्यवसाय धरापमा’

उद्यमशीलता बारे बहस
टेकबहादुर पुन
देउखुरी, १५ भदौ । दाङ देउखुरीलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनासहित लमहीमा उद्यमशीलताबारे बहस भएको छ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले देउखुरीका चार पालिकाका उद्यमी, व्यवसायी तथा स्थानीयको सहभागितामा लमहीमा उद्यमशीलताबारे बहस चलाएको हो ।

छलफलका क्रममा बोल्ने अधिकांश उद्यमी तथा युवाले लगानीको अभावले पछि परिरहेको बताएका थिए । ऋण प्रवाह गर्ने बैँक तथा वित्तीय संस्थाले साना उद्यमीलाई विभिन्न बहानामा ऋण लगानी गर्न आनाकानी गर्ने गरेको स्थानीय प्रशान्त बसेलले बताए । उनले आफू कृषि उद्यमी भएको र बैँकबाट ऋण माग गर्दा आनाकानी गर्ने गरेको र दिएको ऋण पनि चर्को व्याजमा दिएकाले उद्यमीबाट आफू पलायन हुने अवस्थामा पुगेको उनले बताए ।

विगत तीन वर्षदेखि राजपुर गाउँपालिका–२ मटेरियामा बाँसका विभिन्न सामान उत्पादन गर्दै आएकी कलावती चौधरीले आफूले उत्पादन गरेको वस्तु बेच्ने बजार नपाएपछि उद्योग बन्द गर्ने अवस्थामा पुगेको बताइन् । ‘मैले पढेको छैन । अनपढ भए पनि उद्योग चलाउने हिम्मत गरेँ, बाँसबाट बनेका सामान उत्पादन गरेँ तर बजार पाउन सकेको छैन ।’

बजारीकरणमा समस्या भएपछि उद्योग बन्द गर्ने अवस्थामा पुगेको उनले बताइन् । उनले परिवारको आयस्रोत नै उद्योग भएको बताउँदै उत्पादित सामान बिक्रीमा सरकारको स्पष्ट नीति नहुँदा आफूलाई समस्या भएको बताइन् । दुई वर्षदेखि बाँसको सामान उत्पादन गर्दै आएका लमही–४ का बाबु रोकाको समस्या पनि यस्तै छ ।

रोकाको उद्योगमा उत्पादन भएका बाँसका सामानले बजार नपाएपछि उद्योग बन्द हुने अवस्थामा पुगेको छ । व्यवसायी–व्यव्सायीमा महिला–पुरुषबिचको विभेद स्थापित भएको लमही–३ निवासी बालिका वलीले गुनासो गरिन् । उनले महिलाले केही व्यवसाय गर्दा समाजले हेर्ने दृष्टिकोण फरक भएको बताइन ।

महिलाले उत्पादन गरेका सामान भनेपछि व्यापारीले विश्वास नगर्ने गरेको गुनासो पोख्दै उनले भनिन्, ‘बिक्री भए पनि व्यापारीले केही न केही समस्या देखाएर सस्तो मूल्यमा किन्छन् । लगानी उठाउनै समस्या छ ।’ कृषि उद्यमीले विभिन्न बहानामा समस्या झेलिरहेको बताउँदै उनले पर्याप्त ऋणको अभाव र उत्पादित सामग्रीको बजारीकरण नहुँदा व्यवसाय फस्टाउन नसकेको बताइन् ।

देउखुरीमा कृषि उत्पादलाई प्रशोधन गरी बजारसम्म पु¥याउने, पर्यटन व्यवसाय विस्तार गर्ने, घरेलु उद्योग तथा सिपको प्रवर्धनको सम्भावना रहेको कार्यक्रममा अन्य वक्ताले बताएका थिए । लमही, गढवा, राजपुर, राप्तीलगायतका क्षेत्रमा लघु तथा मध्यम उद्योगलाई प्रोत्साहन गर्न सके रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्र बलियो हुने कार्यक्रमका सहभागी व्यवसायीले बताएका थिए ।

कार्यक्रममा उद्यमशीलतालाई अघि बढाउन सरकारले सहज ऋण, प्राविधिक तालिम र बजार सुनिश्चितता गर्ने खालको नीति ल्याएर युवा व्यवसायीलाई प्रोत्साहन गर्न सके विदेश पलायन रोक्न सकिने बताइएको थियो । देउखुरी उद्योग वाणिज्य संघ लमहीका महिला उपाध्यक्ष शारदा सुवेदीले श्रमप्रतिको अधिकार स्थापित हुन नसकेसम्म महिला श्रमिक माथिको विभेद अन्त्य नहुने बताइन ।

सरकारले देशभित्र उद्यमी र युवा व्यवसाय बढाउन नयाँ तथा व्यवसायमैत्री रणनीति वार्षिक कार्यक्रममा समावेश गरेको उनले बताइन् । कार्यक्रममा लमही–१ निवासी खगेश्वर खनालले साना उद्यमीहरूलाई प्रोत्साहित र प्रवर्धन गर्नतर्फ सरकारले अभिभावकत्व लिन नचाहेको र राज्यको व्यवस्थाले उद्यमीहरू आर्थिक रूपले धरासायी बन्दै गएको गुनासो पोखे ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीका बरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेलको अध्यक्षता तथा पूर्व सहरी विकास मन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्यता एवम् लमही नगरपालिका प्रमुख जोगराज चौधरीको विशिष्ट आतिथ्यमा बहस कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा पूर्वमन्त्री चौधरीले आफू उद्यमीका विषयमा जानकार रहेको बताउँदै सरकारले उद्यमीका समस्या समाधान गर्न नसकेको स्वीकार गरे ।

उनले देउखुरी क्षेत्रका उद्यमीलाई सरकारले उपेक्षा गरेकाले उद्यम तथा व्यवसायमा आबद्ध व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको आधारशीला भएकाले निजी क्षेत्र र सरकारले संयुक्त रूपमा अघि बढ्नुपर्ने छ ।’

कार्यक्रममा लमही नगरपालिका प्रमुख जोगराज चौधरीले साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको आधारशीला भएकाले निजी क्षेत्र र सरकारले संयुक्त रूपमा अग्रसरता देखाउनुपर्ने बताए । उनले उद्यमीको समस्या समाधान गर्दै अगाडि बढ्ने बताउँदै उद्यमीका समस्या समाधान गर्न उद्यमी अनुदानका कार्यक्रम नगरपालिकाले सञ्चालन गर्ने बताए ।

कार्यक्रमा देउखुरी उद्योग वाणिज्य संघ लमहीका बरिष्ठ उपाध्यक्ष पोख्रेलले उद्यमीले सामाजिक आर्थिक विकासका साथै रोजगारी सिर्जना, गरिबी निवारण र सीमान्तकृत समुदायको सशक्तीकरणमा योगदान पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उद्यमशील संस्कृति र सामाजिक, सांस्कृतिक मापदण्डको अभावले उद्यमीको प्रगतिमा बाधा पुगिरहेको बताउँदै उनले नीतिनिर्माता र सरोकारवालाले यी समस्या सम्बोधन गरेर समाधानको बाटो खोजिनु पर्ने बताए ।

संघका उद्योग उपाध्यक्ष इश्वरप्रकाश श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव हरिबहादुर थापाले गरेका थिए । कार्यक्रममा कृषि सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो । नेपाल यु.एस अल्मुनाई नेटवर्क (नुसान)को आल्मुनाई स्माल ग्रान्टको प्राविधिक सहयोगमा ‘देउखुरी उद्यमी सङ्गम’ कार्यक्रम भएको हो ।