खेमराज रिजाल
बिजौरी, १५ भदौ । बिजौरी उद्योग वाणिज्य संघको १२ औँ साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रदेश सभा सदस्य दिल्लीबहादुर चौधरीलाई बिजौरी क्षेत्रलाई नयाँ ऊर्जावान् सहरका रूपमा विकास गर्न सहयोगको प्रस्ताव गरेका छन् ।
बिजौरी उद्योग वाणिज्य संघले गरेको प्रस्तावमा भर्खरै उदीयमान बजार बिजौरीलाई कृषि एवम् व्यावसायिक प्रवर्धनको भविष्य कोर्न संघ, प्रदेश र स्थानीय सरकारको सहयोगको अपेक्षा गरियो । नजिकै तुलसीपुर बजार हुँदाहुदै बिजौरीलाई अर्को बजारका रूपमा जागरण ल्याउन विभिन्न विकल्प उद्योग वाणिज्य संघ बिजौरीले अघि सारेको छ । ‘बिजौरी त्यो बेला मात्र स्थापित हुनेछ, जतिबेला बिजौरी भएर रोल्पा जोडिने सहिद मार्ग होलेरी—दहवन—बिजौरी हुँदै पूर्व–पश्चिम राजमार्गको जलकुन्डीमा जोडिनेछ ।’
साधारणसभामा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समावेशी र समानुपातिक विकासमा आफू जहिलै पनि सकारात्मक भएको भन्दै जनताको आवश्यकतालाई मध्यनजर गर्दै बिजौरी उद्योग वाणिज्य संघले उठाएका मागलाई आफूले सक्दो पहल गरिरहेको र गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘बिजौरीलाई रोल्पासँग जोड्ने यो मध्यमार्ग हो र इन्धन खपत कम गर्न राज्यले यो सडकलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउनुपर्छ भन्नेमा म एकदमै विश्वस्त छु’, प्रमुख अतिथि चौधरीले भने । बिजौरीसँग रोल्पा जोडिएपछि त जलकुन्डीसम्म लैजान धेरै समस्या छैन । कार्यक्रममा प्रमुख अतिथि चौधरीले बिजौरी कुनै बेला मध्य दाङकै व्यापारिक ट्रान्जिट हुने भएकाले यो क्षेत्रको प्रवर्धन गर्नु आफ्नो दायित्व भएको बताए ।
उनले बिजौरी बजारको व्यावसायिक सुरक्षा सबैभन्दा पहिले व्यवसायी सचेत हुनपर्ने भन्दै थप सहयोगका लागि आवश्यक हाइम्याक्स लाइट र सिसीक्यामेराको प्रबन्ध गर्ने प्रतिबद्धता जनाए । आन्तरिक स्वरोजगारको वातावरण मिलाउन प्रदेश सरकार लागिरहेको भन्दै सहलगानीमा व्यावसायिक प्रवर्धन गर्न लुम्बिनी प्रदेश सरकार तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा तुलसीपुर उद्योव वाणिज्य संघका अध्यक्ष बिनिल केसीले स्थानीय स्तरमै स्वरोजगार सिर्जना गर्न सबैले हातेमालो गर्नुपर्ने बताए । ‘यहाँ केही छैन मन्ने गलत भाष्य जनमानसमा व्याप्त छ तर यहाँ धेरै सम्भावना छन् भन्न उद्योग वाणिज्य संघ र उद्यमी व्यवसायीले भन्न सक्नुपर्छ’, विशिष्ट अतिथि केसीले भने ।
युवा पलायन रोक्न उद्योव वाणिज्य संघहरूको अहम भूमिका हुने भन्दै आवश्यकता अनुसासरको रोजगारी सिर्जना गर्नु सबै उद्योग वाणिज्य संघको दायित्व भएको बताए । ‘विदेश गएर जे जस्तो काम पनि गर्न सक्नेले यहाँ किन सक्दैनन् ?’ अध्यक्ष केसीले भने, ‘आफ्नै देशमा जुनसुकै व्यवसाय गर्न युवाहरू लजाउने संस्कृति हुनु हुँदैन ।’
कार्यक्रममा सहभागी सबैको धारण यस्तै थियो । स्थानिय स्तरमै स्वरोजगार सिर्जना गर्ने, त्यसका लागि आवश्यक पूर्वाधार स्थानीय सरकार, सङ्घीय सरकार र प्रदेश सरकारले सहजीकरण एवम् सम्वोधन गर्नुपर्ने तथा लाभग्राही पनि यही मार्गमा लाग्ने सबैले सुझाव दिएका छन् । यद्यपि बिजौरीदेखि रोल्पालाई जोड्ने सबैभन्दा छोटो र सुगम मार्ग हो । दाङको क्षेत्र भनेको ग्वार खोलाको रानीवाससम्म मात्रै हो ।
रानीवासमा पुल निर्माण भएपछि ग्लार खोला तरेर सोझै रोल्पाको दहवन मात्रै होइन सल्यान र रुकुम जोडिन्छ । ग्वार खोलामा पक्की पुल नबनाउन राजनीति भएको सभाका सहभागीले बताएका छन् । बजेट विनियोजन भएको पक्की पुलको ठेक्का आह्वानै गरिएन । यसमा केही केन्द्रीय नेताहरूले अवरोध गरेका छन् । केन्द्रीय नेताहरूले ग्वारखोलालाई हाइड्यामको प्रस्ताव गरेकाले पक्की पुलको अर्थ नरहेको भन्दै ठेक्का सम्झौता रोकेपछि ग्वार खोलामा स्थानीयले कम्तिमा अटो र मोटरसाइकल चल्ने पक्की पुल बनाएपछि यसले राज्यलाई नैतिक दबाब भने सिर्जना गरेको छ ।
बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको साधारणसभामा बोल्ने वक्ताले बिजौरी बजारलाई चलायमान बनाउन आग्रह गरेका थिए । त्यसका लागि आवश्यक व्यावसायिक सुरक्षा, औद्योगिक पूर्वाधार एवम् रात्रिकालीन व्यवसाय सञ्चालनका लागि पहल गर्न आग्रह गरेका थिए ।
वाणिज्य उपाध्यक्ष दिल्लीबहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नरेश श्रेष्ठ, नारायणपुर उद्योग वाणिज्य संघका अनिल बस्नेत, बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डा प्रदीप गौतम, बिजौरी उद्योग वाणिज्य संघका संस्थापक महासचिव मुकेश वली, रेडक्रस सोसाइटी बिजौरीका प्रमुख बालकृष्ण रेग्मी, तुलसीपुर उपमहानगरपालिका—१६ का अध्यक्ष शिवानन्द डाँगी, बिजौरी उद्योग वाणिज्य संघका संस्थापक उपाध्यक्ष पुष्पा डाँगी, एमाले तुलसीपुर–१८ का कमानसिंह खड्का, नेपाली कांग्रेस तुलसीपुर–१८ का सचिव विदुर गौतम, नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका—१९ का सभापति पदम वली, तुलसीपुर–१९ का लोकबहादुर रोकालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नियमित रूपमा व्यावसायिक दर्ता कर समयमै तिर्ने बिजौरी उद्योग वाणिज्य संघका सदस्य सुरजबहादुर वली, बिजौरी उद्योग वाणिज्य संघलाई संस्थागत सहयोग २५ हजार रुपैयाँभन्दा माथि गर्ने सदस्यहरू तथा बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा निर्वाचित र बिजौरी रेडक्रसमा निर्वाचित सबै पदाधिकारीलाई सम्मान गरिएको थियो ।
बिजौरी उद्योग वाणिज्य संघका महासचिव दीपक बस्नेतले सहजीकरण गरेको कार्यक्रमको समापन अध्यक्ष रेश्मीराज खड्काले गरेका थिए । औपचारिक कार्यक्रमसँगै सुरु भएको बन्दसत्रले महासचिव र कोषाध्याक्षका भिन्न भिन्न प्रतिवेदन सर्वसम्मतले पारित गरेको महासचिव दीपक बस्नेतले जानकारी दिएका छन् ।