के.पी. सुवेदी
लागूऔषध तथा लागूपदार्थ सेवन गरेर त्यसको लतमा फसिसकेपछि त्यसबाट निस्कन असम्भव नभए पनि कठिन रहेछ । लागूपदार्थ सेवनको लतमा फसेपछिको अवस्थालाई दुव्र्यसन भनिन्छ, चाहे त्यो औषधी होस् या अन्य लागूपदार्थ ।
दुव्र्यसन समाजको जटिल समस्या बनेर उभिएको छ । समाजलाई विकृत र अस्तव्यस्त बनाउँदै गइरहेको यो समस्य नयाँ भने होइन । त्यसको उदाहरणका रुपमा आजभन्दा झन्डै पचास वर्ष अघि विस्वव्यापी समस्या बनेर उदाएको कारण संसारका धेरै मुलुकले समाजलाई यसको प्रभावबाट मुक्त गर्न आआफ्नो मुलुकमा गैह्रकानूनी वसारपसार तथा सेवनलाई नियन्त्र गर्ने राज्य संयन्त्र बनाएको देखिन्छ ।
यस सम्बन्धमा नेपालमा पनि लागूऔषध वसारपसार तथा बिक्री वितरणमा नियमन र नियन्त्रण गर्न ऐन जारी गरेर गम्भीर ध्यानाकर्षण भएको प्रस्टै देखाएको छ । लागूऔषध ओसारपसार तथा बिक्री वितरणविरुद्धको ऐन, २०३३ र २०३५ जारी गरेको छ । कानूनको कार्यान्वयन प्रभावकारी रुपमा लागु गर्न नियन्त्रण व्युरो गठन भएकोछ र त्यसले प्रभावकारी कार्यान्वयन गर्न प्रहरीलाई जिम्मेवारी दिइएको छ ।
यता लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको ऐक्यबद्धता जनाउँदै २०१९ जुन २६ मा विश्वभरि एक दिवसीय कार्यक्रमको सुरुवात भएको थियो । आफ्नो प्रयास मात्र पर्याप्त छैन भन्ने सन्देशसहित सुरु भएको ऐक्यबद्धता सामाजिक उछृङ्खखलता जोगाउने हातेमालो हुनसक्छ । जो आज पनि निरन्तर छ । लागूऔषध वा लागूपदार्थले मानिसको मनमष्तिस्कलाई उद्वेलित गर्दै मानसिक तथा शारीरिक रुपलेसमेत अशक्त र असक्षम बनाउँछ । त्यसको नशामा लठ्ठिएर बस्दाबस्दै मानिस त्यसको नशाबिना एकछिन पनि रहन नसक्ने हुन थाल्छ ।
यसरी नशामा लठ्ठिएर बस्नुलाई दुव्र्यसन र त्यस्ता व्यक्तिलाई दुव्र्यसनी भनिन्छ । दुव्र्यसन जाँड, रक्सी जस्ता लागू–पेयपदार्थ वा लागूऔषधी पनि हुन सक्छन् । कुलत अथवा दुव्र्यसनमा फसिसकेपछि उसलाई पहिलेको मात्राले पुग्न छोड्छ र त्योभन्दा कडा वा धेरै मात्रामा सेवन गर्नुपर्छ । लामो समयसम्म कडा खालको नसामा शरीरलाई डुबाएपछि शरीरका महङ्खवपूर्ण अङ्गहरु बिस्तारै फेल हुन थाल्छन् ।
किनभने लामो समयपछि मानव शरीरको भित्री रस उत्पादन प्रणाली असन्तुलित हुन थाल्छ । त्यसपछि मानसिक तथा शारीरिक तन्दुरुस्ती गुमाएपछि एक किसिमको कुपोषणग्रस्त हुन्छ । उसको शरीरको प्रतिरक्षा प्रणाली भताभुङ्ग, लथालिङ्ग भएको हुन्छ । त्यसपछि कहिलै निको नहुने रोगहरु देखिन थाल्छन् । जस्तै एचआइभि÷एड्स, हेपाटाइटिस्, कलेजोमा घाउ, मृगौला सुन्निने, मृगौलाले काम गर्न नसक्ने, मस्तिष्क पक्षघात जस्ता जटिल समस्याले ग्रस्त हुन थाल्छ ।
अन्तर्राष्ट्रिय अध्यायनको तथ्यात्मक विवेचनामा १७ वर्षको उमेर समूह निगरानीमा रहनुपर्छ भन्ने निष्कर्ष देखिन्छ । त्यसपछि विस्तारै सङ्गत, सामाजिक परिवेश, कार्यक्षेत्र, पारिवारिक हेलचक्राइलगायतका तङ्खवहरुले विस्तारै धकेल्दै लगेर ३० वर्ष र ४० वर्षको ऊर्जाशील समय एउटा युवक बर्बादीको बाटोमा पछाडि फर्किन नसक्ने गरी हेलिएको हुन्छ । यसरी बर्बाद हुने सङ्ख्या विश्वमा १५ दशमलव ३५ लाखको अनुमान गरिएको भए पनि यो तथ्याङ्क पूर्ण छैन ।
किनभने सहरबजार र सुरक्षा संयन्त्रको पहुँच दुरदराजसम्म पुग्न सकेको हुँदैन । एउटा सानो उदाहरण हाम्रै वरिपरिबाट नियालेर यसको तथ्याङ्कको विकराल रुप अनुमान गर्न कुनै कठिनाइ छैन । अभिलेखमा आएको सङ्ख्या उजुरीमा संलग्न भएको मात्र हो । जिल्ला प्रहरी कार्यालयको सहकार्यमा औषधी व्यवसायी संघ दाङद्वारा आयोजित एक कार्यक्रममा दिइएको जानकारी अनुसार हरेक वर्ष लागूपदार्थ अवैध ओसापसारमा वृद्धि भइरहेको छ ।
त्यसरी उजुरी अथवा सूचनाका आधारमा पक्राउ पर्ने सङ्ख्या गत वर्ष ५२–५३ बाट बढेर अहिले त्यसको दोब्बर अर्थात् १०६ जना कानूनको दायरामा आएका छन् । पक्राउ पर्ने अवैध कारोबारी हुन् । यसैगरी सेवनकर्ता बढिरहेका छन् । हरेक वर्ष यसैगरी दुव्र्यसनमा फस्ने युवाहरुको सङ्ख्या कति होला अनुमान गर्न गाह्रो त छ नै त्यसमा यसमा डुबिसकेकालाई कसरी समाजमा पुनःस्थापन गर्ने र नफसेकालाई त्यसबाट टाढै राख्न कसले, कसरी भूमिका खेल्ने ?
दुव्र्यसनमा गइसकेको मानिसलाई त्यसबाट बाहिर ल्याउन र सम्मानपूर्वक समाजमा जिउन या समायोजन हुन कसैको एक्लो प्रयासले सम्भव छैन । सरकार, संघसंस्था, समाज सुधारक अभियन्ता, राजनीतिक पार्टी, विद्यालय, कलेजलगायतका सबैको यसप्रति प्रयास हुन जरुरी छ । यसलाई बेवास्ता गर्नु समाज, परिवार र आफैँलाई बेवास्ता गर्नु हो । किनभने त्यस्ता दुव्र्यसनीको सङ्गतमा आफ्ना परिवारका सदस्य बालबालिका पर्दैनन् भन्ने हुँदैन ।
दुव्र्यसनले मानिसले परिवार र समाजलाई केही दिन नसक्ने भएकाले परिवारको बोझ बन्न थाल्छ । लागूपदार्थ जुटाउन आफ्नो स्रोतले पुग्न छोडेपछि चोरी, डकैती, हत्या जस्ता जघन्य अपराध गर्न पछि पर्दैन । यसले गर्दा समाजको शान्ति, सुरक्षा अमनचयन खल्बलिएर मानिसहरु बस्नलायक हँुदैन । अहिले भइरहेका सडक दुर्घटना, आत्महत्या, हत्यालगायतका काण्डहरुका भित्री कारण लागूऔषध र लागूपदार्थ हुन् ।
रक्सी, बियरको अत्यधिक सेवनले आज सडक आम सर्वसाधारणको लागि दिनदिनै असुरक्षित बनिरहेको छ । त्यसैले होला मादक पेयपदार्थलाई ट्राफिक सुरक्षा चुनौतीको रुपमा हेर्ने गरिएको छ र अन्य लागूऔषध तथा लागूपदार्थलाई सामाजिक सुरक्षा चुनौतीको रुपमा हेर्न थालिएको छ तर सुरक्षा चुनौती केवल यसको सम्पूर्ण समस्य होइन । समस्य समाज विगठनको जोखिमोन्मुख हो ।