सांसदहरुको सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई प्याब्सनको चुनौती

महेश बस्नेत
घोराही, १३ भदौ । प्रतिनिधि सभाको शिक्षा तथा प्रविधि समितिले संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयक २०८० विरुद्ध निजी विद्यालयका छाता संगठनहरुले आन्दोलन जारी राखेका छन् ।
शुक्रबार घोराहीमा भएको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरीले सांसदहरुको सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई चुनौती दिनुभयो । सभाका प्रमुख वक्ता समेत रहनुभएका गिरीले आफ्ना करोडौंका सम्पत्ति गैह्रनाफामूलक बनाएर राज्यलाई हडप्न नदिने दृढता व्यक्त गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै प्याब्सनका केन्द्रीय सदस्य रेशमबहादुर बुढाले विगतमा निजी विद्यालयलाई कम्पनीमा दर्ता गर्न बाध्य बनाएर अहिले गैह्रनाफामूलक बनाउन खोज्नु न्यायोचित नभएको उल्लेख गर्नुभयो । यसैगरी प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापाले सरकारलाई विश्वभरिका निजी विद्यालयहरु के कसरी सञ्चालित छन् र उनीहरुका शैक्षिक मूल्य मान्यता र मापदण्ड के कस्ता छन् अध्ययन गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले प्याब्सनलाई सांसदहरुका विरुद्ध बहिस्कार आन्दोलन गर्न बाध्य नबनाउन सुझाउनुभयो ।
प्याब्सन दाङका सल्लाहकार जीवन आचार्यले सरकारको शून्य लगानीमा सञ्चालित निजी विद्यालयमाथि सरकारको हस्तक्षेप स्विकार्य नभएको स्पस्ट पार्नुभयो । हिसान दाङका सचिव विष्णु देवकोटाले राज्यले दायित्वभार बहन गर्नुपर्ने लाखौं जनशक्तिलाई निजी विद्यालयले व्यवस्थापन गरेको योगदान सरकारले नदेखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
घोराहीको भानुचोकमा भएको खबरदारी सभालाई प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण ओली, तुलसीपुरका अध्यक्ष डम्बर डाँगी, लमहीका अध्यक्ष नारायण भुसालले सम्बोधन गर्नुभएको थियो । प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक विरेन्द्र चन्दको विषय प्रवेशबाट सुरु भएको सभाको सहजीकरण सचिव आदिम केसीले गर्नुभएको थियो ।