calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

शिक्षक संगठनले बुझायो ध्यानाकर्षण पत्र

दाङ, १३ भदौ । नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको आव्हानमा दाङ जिल्लाका १० वटै स्थानीय तहमार्फत शिक्षामन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।
प्रतिनिधि सभाको शिक्षा समितिले पारित गरी सभामा प्रस्तुत गरिएको शिक्षा विधेयकमा सरकार र शिक्षक महासंघबीच भएको सम्झौताका प्रावधान समावेश नभएको भन्दै शिक्षकहरुले आन्दोलनका कार्यक्रम सुरु गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीका अध्यक्ष पोषणराज विष्टले जानकारी दिएका छन्।

शिक्षक अगुवाहरुले मानव संसाधन नै देश विकासको प्रमुख आधार भएको उल्लेख गर्दै त्यसको निर्माण गर्ने शिक्षकलाई अवमूल्यन गरेर समृद्धि सम्भव नभएको बताए। उनीहरुले शिक्षक पेशालाई मर्यादित र पहिलो रोजाइको पेशा बनाउन राज्यले विशेष प्राथमिकता दिनुपर्नेमा उल्टै पेशाप्रति विकर्षण उत्पन्न गराउने गतिविधि भएको आरोप लगाए।

घोराहीमा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना कार्यक्रम सम्पन्न गरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो। कार्यक्रममा पेशागत महासंघ नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष उद्दव न्यौपाने, नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्य श्यामा रावत, पेशागत महासंघ लुम्बिनीका उपाध्यक्ष श्रीमण न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक दामोदर बस्नेतलगायत शिक्षकहरुको उपस्थिति रहेको थियो।

ध्यानाकर्षण पत्र बुझिसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत केसीले ऐन–नियमअनुसार शिक्षकको पेशागत विकास सुनिश्चित हुनुपर्ने भन्दै शिक्षकका मागहरू पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।