दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुँदै, उद्घाटन प्रधानमन्त्रीले गर्ने

दाङ, १३ भदौ । नेपाललाई अध्यात्म र योगविज्ञानको उद्गमस्थलका रुपमा विश्वभर चिनाउँदै विश्वशान्ति र मानव कल्याणका लागि दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन–२०८२ हुने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयले आयोजनामा आगामी असोज २५ देखि २७ गतेसम्म दाङको बेलझुण्डीमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुन थालेको हो ।
अन्तर्राष्ट्रिय योग सम्मेलनमा भारत, अमेरिकालगायतका ५० देशका पाँच हजारभन्दा बढी योग साधकको सहभागीता रहने अन्तर्राष्ट्रिय योग सम्मेलन मुल आयोजक समितिका संयोजक तथा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेलले जानकारी दिनुभएको छ । शुक्रवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुल आयोजक समितिका संयोजक पौडेलका अनुसार अन्तर्राष्ट्रिय योग सम्मेलनको समुदघाटन नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
अन्तर्राष्ट्रिय योग सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त विद्धान, विदुषी, योगसाधक, आध्यात्मिक चिन्तक, अनुसन्धाता र प्राज्ञिक व्यत्तित्वहरुबाट योगदर्शनका शास्त्रीय तथा आधुनिक विषयवस्तुसँग सम्वन्धित ३०भन्दा बढी अनुसन्धानमुलक कार्यपत्र प्रस्तुतसँगै एक हजार जनाले सामूहिक योगाभ्यास गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिका संयोजक पौडेलले बताउनुभयो ।
बिश्वशान्ति र मानव कल्याणका लागि योग सम्पदाको पुनरुत्थान एवं विश्वव्यापीकरण गर्ने लक्ष्यका साथ योग सम्मेलन गर्न थालिएको भन्दै मुल आयोजक समितिका संयोजक पौडेलले भन्नुभयो,‘‘अन्तर्राष्ट्रिय योग सम्मेलनले योगको महत्वलाई विश्वव्यापी रुपमा चिनाउनका साथै दाङको पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका खेल्नेछ ।’’ उहाँका अनुसार सम्मेलनमा शास्त्रीइ विधिपूर्वक रुद्रयाग, अग्निपूजन, गायत्री उपासना र गुरु गोरखनाथको धुनि जगाउने चतुर्विध यज्ञकर्म पनि सञ्चालन गरिनेछ ।
सम्मेलनमा सहभागी हुने अतिथिहरूलाई निमन्त्रणा गर्ने र कार्यक्रमको रूपरेखा तयार पार्ने काम पूरा भएको सम्मेलनका अन्तर्राष्ट्रिय संयोजक भोलानाथ योगीले बताउनुभयो । सम्मेलनमा सहभागी हुन आउने बाह्य योग साधकहरूलाई जिल्लाका पर्यटकीय स्थलसहित लुम्बिनी प्रदेशका धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थलहरुको अध्ययन भ्रमण गराइने भएको अन्तर्राष्ट्रिय संयोजक योगीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका प्रमुख गन्तव्य स्थलहरूमा आयोजक स्वयंले नै घुमाउने छ भने जिल्ला बाहिरका पर्यटकीय स्थलहरू घुमाउनका लागि ट्राभल एजेन्सीहरूसँग समन्वय गरिने छ ।
सम्मेलनका अन्तर्राष्ट्रिय संयोजक योगीले भन्नुभयो,‘‘जिल्लाका प्रमुख पर्यटकीय स्थलहरूमा मुल आयोजक समितिले नै बाह्य योग साधकलाई घुमाउने छ । जिल्ला बाहिर रहेका पर्यटकीय स्थलहरू घुमाउनका लागि ट्राभल एजेन्सीहरुसंग समन्वयको काम भइरहेको छ । उहाँहरुको इच्छा अनुसार घुम्ने व्यवस्था मिलाउने छौ ।’’ योग सम्मेलनले योगको महत्वलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारसँगै विश्वविद्यालयमा पठनपाठन र अभ्यासका लागि वातावरण निर्माणमा सहयोग पुग्ने नेपाल संस्कृत विश्वविद्यालका कुलसचिव माधव अधिकारीले बताउनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयको आयोजना तथा पतञ्जलि योग समिति लुम्बिनी प्रदेश, योग युनिभर्सिटी अफ अमेरिकास, नेपाल महर्षि वैदिक फाउण्डेसन, रोटरी बैङ्लोर ग्लोबल योग भारतलगायतको सहआयोजनामा हुने अन्तर्राष्ट्रिय योग सम्मेलन अवधिभर यौगिक आहारविहार बारे जानकारी गराउनकाका लागि विभिन्न स्टलहरुको स्थापना, योग र स्वासथ्यसँग सम्वन्धित प्रवचन, स्वास्थ्य शिविर, आयुवैदिक उपचारकर्म र रक्तदानका कार्यक्रमहरु पनि सञ्चालन गरिनेछन् ।
सम्मेलनका लागि विश्वविद्यालयले १३ सदस्यीय मुल समिति र २१ वटा उपसमिति गठन गरिएको प्रचारप्रसार उपसमिति संयोजक दुर्गालाल केसीले जानकारी दिनुभएको छ । पत्रकार सम्मेलनमा आर्थिक उपसमितिका संयोजक प्रेम शाह, झाक्री उपसमिति संयोजक डा किशोर खत्री, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीलगायतले सुझावसहितको मन्तव्य व्यक्त गरेका थिए ।