जेसीजको म्याराथन–२०२५ तालिम

गोरक्ष समाचारदाता
दाङ, १३ भदौ । त्रिभुवननगर जेसीजले सातदिने ‘तालिम म्याराथन–२०२५’ को आयोजना गर्ने भएको छ । युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा जेसीजको पहिचानलाई लक्षित गर्दै भदौ १६ देखि २३ गतेसम्म घोराहीस्थित विभिन्न शैक्षिक संस्थामा सात दिन तालिमको आयोजना गर्न लागेको अध्यक्ष टंकबहादुर रावत ‘अनन्त’ ले जानकारी दिएका छन ।
तालिम म्याराथनले युवाको नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि र सीप विस्तारमा योगदान गर्ने अपेक्षा गरिएको अध्यक्ष रावतको भनाइ छ । अध्यक्ष रावतको नेतृत्वमा सञ्चालन हुने अभियानलाई सफल पार्न विभिन्न जिम्मेवारी प्रदान गरिएको महासचिव कृष्णदेव थापाले जानकारी दिए । पहिलो दिन भदौ १६ गते मेचीकाली बोर्डिङ स्कुलमा बैठक सञ्चालन कार्यशाला विषयमा प्रशिक्षण हुनेछ ।
उपाध्यक्ष महेश बस्नेत संयोजक रहेको प्रशिक्षणको प्रशिक्षकमा जेसीजका पूर्वअध्यक्ष माधवप्रसाद पौडेल रहेका छन् । दोस्रो दिन भदौ १७ गते मार्क इन्टरनेसनल कलेजमा वित्त क्षेत्रमा भावी नेतृत्व विषयमा प्रशिक्षण हुनेछ । सचिव विवेक देवकोटा संयोजक रहेको प्रशिक्षणको प्रशिक्षकमा सिए कैलाश खत्री रहने छन् । तेस्रो दिन भदौ १८ गते भिक्टोरिया इन्टरनेसनल कलेजमा सपनादेखि उद्यमसम्म विषयमा प्रशिक्षणको आयोजना गरिनेछ ।
उपाध्यक्ष खेमराज भण्डारी जिल्ला संयोजक रहेको प्रशिक्षणको प्रशिक्षकमा पूर्वअध्यक्ष ओविन्द्रबहादुर महरा रहेका छन् । त्यस्तै चौथो दिन भदौ १९ गते राप्ती शिक्षा क्याम्पसमा क्लिकदेखि अदालतसम्म ः साइबर अपराध र कानुनी पक्ष विषयमा प्रशिक्षणको आयोजना गरिनेछ । सूचना तथा प्रविधि संयोजक हिमाल केसी संयोजक रहेको प्रशिक्षणको प्रशिक्षकमा जिल्ला अदालत दाङका शाखा अधिकृत मञ्जु शर्मा रहेकी छिन् ।
पाँचौं दिन भदौ २० गते पद्मोदय क्याम्पसमा आध्यात्मिकता ः सन्तुलित जीवनको विज्ञान विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ । प्रकरण निर्देशक गणेश वली संयोजक रहेको प्रशिक्षणको प्रशिक्षकमा नेपाल संस्कृत विश्व विद्यालयका उपप्राध्यापक किशोरचन्द्र गौतम रहने छन् । छैठौँ दिन भदौ २२ गते दीपशिखा कलेजमा प्रभावकारी सार्वजनिक भाषण कला विषयमा प्रशिक्षण हुनेछ । सदस्य प्रेमलाल न्यौपाने संयोजक रहेको प्रशिक्षणको प्रशिक्षक नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष निशान्त आचार्य रहनेछन् ।
सातौँ दिनभदौ २३ गते महेन्द्र बहुमुखी क्याम्पसमा माइन्युट तथा प्रतिवेदन लेखन विषयमा प्रशिक्षण दिने कार्यक्र तय भएको छ । खेल संयोजक रणबहादुर खड्का संयोजक रहेको प्रशिक्षणको प्रशिक्षकमा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक दुर्गालाल केसी रहनेछन् । जेसीजले कार्यक्रमलाई सफल बनाउन सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।