calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

देउखुरीमा उद्यमशीलताबारे बहस हुने

टेकबहादुर पुन
देउखुरी, १३ भदौँ । देउखुरीमा उद्यमशीलबारे बहस हुने भएको छ । बिहिबार देउखुरी उद्योग वाणिज्य संघ लमहीले पत्रकार सम्मेलनको आयोजना गरेर देउखुरी क्षेत्रको उद्यमशीलताबारे बहस हुने जानकारी गराएको हो । बहस कार्यक्रम भदौ १४ गते शनिवार हुने भएको छ ।

नेपाल युएस अल्मुनाई नेटवर्क (नुसान) को आल्मुनाई स्माल ग्रान्टको प्राविधिक सहयोगमा लमहीमा देउखुरीको चारवटा स्थानीय तहलाई सहभागी गराउदैँ उद्यमी कथा सेसनसहितको देउखुरीको उद्यमशीलबारे बहस गर्न लागिएको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंगसिंह ठकुरीले जानकारी दिए । उद्यमीले सामाजिक, आर्थिक विकासका साथै रोजगारी सिर्जना, गरिबी निवारण र सीमान्तकृत समुदायको सशक्तीकरणमा योगदान पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उद्यमशील संस्कृति र सामाजिक, सांस्कृतिक मापदण्डको अभावले उद्यमीका प्रगतिमा बाधा भइरहेको बताए ।

‘नीति निर्माता र सरोकारवालाले यी चुनौती सम्बोधन गर्न नीतिगत सुधार, क्षमता विकास, वित्तमा पहुँच र पूर्वाधार विकास, बजार विश्लेषण, उत्पादित वस्तु वा सेवाको बजारीकरण, बजारमुखी शिक्षा र व्यावसायिक तालिम, उत्पादित वस्तुका लागि बजार पहुँचको ग्यारेन्टी गर्दै व्यापक रणनीतिलाई प्राथमिकता दिनुपर्छ । सीमित रोजगारीका अवसरसँगै उद्यमीमा उद्यमबारे ज्ञान र सिप बिचमा खाडल छ’, उनले भने, ‘राष्ट्र निर्माणमा युवालाई सक्रिय बनाउन उपयुक्त नीति र नियमावली बनेका छैनन् भने बनेका नीति अपूर्ण भएकाले कार्यान्वयन पक्ष फितलो छ ।

त्यसैले उत्पादित वस्तुको बजारीकरणको ग्यारेन्टीसहितको उद्यमीमैत्री नीतिको आवश्यकता छ ।’ आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न मद्दत गर्ने भएकोले नेपालमा गरिबी निवारण र आर्थिक विकासका लागि उद्यमशीलता राज्यको प्रमुख नीति बन्न आवश्यक रहेको उनले बताए ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीका महासचिव हरिबहादुर थापाले देशको जनसाङ्ख्यिक संरचना र आर्थिक अवस्था, विभिन्न क्षेत्रलाई समेट्ने गरी उद्यमशीलताको नयाँ सम्भावनाको खोजी गर्न आवश्यक रहेको बताए । उनले समाजमा सकारात्मक सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणलाई गति दिन स्टार्टअप परम्परागत रोजगारीको उत्तम विकल्प हुन सक्ने बताए ।

उनले युवा उद्यमशीलता विकासका लागि अवलम्बन गरिने नीतिले प्रभावकारी उद्यमशील, इकोसिस्टमको विकास र सहयोगसँगै उद्यमशीलताका लागि युवाको क्षमता अभिवृद्धि गरी दीर्घकालीन आर्थिक लक्ष्य प्राप्तिको आधार तयार गर्न अनुकूल वातावरण सिर्जना गर्न तिनै तहका सरकार गम्भीर बन्नुपर्ने बताए ।
कार्यक्रममा युवा उद्यम सञ्जाल निर्माण गर्ने र युवा अनुभव आदानप्रदान जस्ता कार्यक्रम सञ्चालन गर्नमा ‘देउखुरीमा उद्यमशीलता बहस’ले महत्वपूर्ण भूमिका खेल्ने अधिवक्ता अर्णव चौधरीले बताए । उनले नवप्रवर्तनमा आधारित स्टार्टअपको स्थापना र सञ्चालन, युवा उद्यमीलाई स्वदेशमै व्यवसाय सञ्चालन गर्ने, उद्यमशीलता विकास, बौद्धिक सम्पदा अधिकारको संरक्षण, प्रविधि, वित्तीय स्रोत र उपकरणमा पहुँच, परम्परागत सिप र ज्ञानको आधुनिक कार्यक्रम घोषणा गरिएको भए कार्यान्वयन हुन नसकेको बताए ।