जेसीजद्वारा राहत वितरण

गोरक्ष समाचारदाता
दाङ, २६ बैशाख । त्रिभूवननगर जेसीजले राहत वितरणको कार्यलाई निरन्तरता दिएको छ । लकडाउनको समयमा निम्न आय भएका परिवारमा उत्पन्न भोकको समस्या हल गर्नका लागि राहत अभियान सुरु गरेको जेसीजले विहीवार घोराही–१९ का अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ ।

जेसीजका पूर्व अध्यक्षसहित बोर्डका सदस्यहरुले घोराही–१९ का वडासचिव भीमबहादुर केसीलाई राहत हस्तान्तरण गरेको महासचिव मिनराज भाटले बताए । घोराहीका वडा नम्बर ५, १३, १४, १५, १६, १७, १८ का २ हजार अतिविपन्न परिवारलाई राहत वितरण गरेको भन्दै महासचिव भाटले घोराही–१९ का ७५ परिवारका लागि राहत हस्तान्तरण गरेको बताए । उनकाअनुसार ४० बोरा चामल, ५० पोका नुन, सय पिस साबुन हस्तान्तरण गरिएको हो । सो अवसरमा निवर्तमान अध्यक्ष बसन्तराज अधिकारी, महासचिव भाट, उपाध्यक्ष जगत जिएम, शाखा सम्पादक प्रदीप सुवेदी, तालिम निर्देशक रोशन दाहाल, पूर्व अध्यक्ष रजिव उल्ला खान, सदस्य माधव केसीलगायतको उपस्थिति थियो ।

चेम्बर अफ कमर्सको सहयोग

यसैबीच घोराही उपमहानगरपालिका चेम्बर अफ कमर्शले घोराही–१६ लाई चामल सहयोग गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने नागरिकको भोकको समस्या हटाउन घोराही–१६ का मजदुरहरुका लागि २० बोरा चामल सहयोग गरेको सचिव खानले बताए । घोराही चेम्बर अफ कमर्शका अध्यक्ष मञ्जु बज्राचार्यले विहीवार घोराही–१६ का अध्यक्ष ताराबहादुर डिसीलाई चामल हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसका कारण अतिविपन्न परिवारमा उत्पन्न भएको भोकको समस्या हल गर्नका लागि घोराही उपमहानगरपालिका चेम्बर अफ कमर्शले चामल सहयोग गरेको भन्दै बज्राचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा वडा नम्बर १६ लाई चामल सहयोग गरिएको जानकारी गराइएको छ ।