तुलसीपुर, २६ बैशाख । जिल्लामा लकडाउनको समयमा रगतको अभाव देखापरेको छ । जिल्लामा पर्याप्त मात्रामा रगत नभएपछि विहीवार तुलसीपुरमा रक्तदान गरिएको छ । तुलसीपुर क्षेत्रमा रगतको अभाव देखिएपछि तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा विहीवार रक्तदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी दाङद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रले सरोकारवालाहरुलाई रगत अभाव देखिएपछि रक्तदानका लागि अपील गर्दै आएको छ । विहीवार पनि रेडक्रसको अपीलपछि तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रक्तान गरेको संघका अध्यक्ष वीरबहादुर रावतले बताए ।
नेपाल रेडक्रस रक्त सञ्चार केन्द्र दाङका इञ्चार्ज दीलिप न्यौपानेले जिल्लामा पर्याप्त मात्रामा रगत नभएको र तुलसीपुरमा अभाव देखिपछि रक्तदान कार्यक्रम गरी रगत संकल गरिएको जानकारी दिएका छन् । उनका अनुसार घोराहीमा केही मात्रामा रगत भए पनि तुलसीपुरमा भने अभाव भएसँगै रक्तदान गरिएको जानकारी दिए । न्यौपानेले विभिन्न समयमा जिल्लामा रगत अभाव हुने गरेको र विभिन्न संघसंस्था र व्यक्तिले रगतको अभाव हुन नदिन रक्तदान गर्ने गरेको जानकारी दिएका छन् ।
‘रगतको अभाव भएसँगै हामीले संघसंस्था र व्यक्तिलाई अनुरोध गर्ने गरेका छौँ, उहाँहरुले स्वतःस्फूर्त रुपमा सहयोग विभिन्न समयमा गर्नुभएको छ, आज पनि भएको छ’–न्यौपानेले भने । विहीवार पनि ११ जनाले रक्तदान गरेको न्यौपानेले जानकारी दिएका छन् । जिल्लामा रक्त सञ्चार केन्द्र घोराहीबाट मासिक २ सयदेखि ३ सय युनिट रगत खपत हुने गरेको उनले बताए । जसमध्ये जिल्लामा सबैभन्दा बढी बी–पोजेटिभ रगतको माग हुने गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी दाङले घोराही र तुलसीपुरमा रक्त सञ्चार केन्द्र स्थापना गरी जिल्लामा रगत उपलब्ध गराउँदै आएको छ । घोराही, लमही, तुलसीपुर क्षेत्रका निजी तथा सरकारी अस्पतालहरुलाई आवश्यक पर्ने विभिन्न सिकिमका रगतहरु केन्द्रले उपलब्ध गराउँदै आएको छ ।
विहीवार तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष वीरबहादुर रावत, सचिव विनिल केसी, व्यवसायीहरु सन्दीपन रिजाल, हेमेन्द्र खड्का, रुपेश शर्मा, सुरेश बस्नेत, लीलबहादुर वली, सुमन बस्नेत, यज्ञप्रसाद पोख्रेल, वाणिज्य संघका सदस्य टेकप्रसाद केसी, सुन्दर चौधरीले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी दाङका प्रशासकीय अधिकृत विश्राम अधिकारीले बताए । यसैबीच रेडक्रसले तुलसीपुरका अस्पतालहरुमा रहेका विरामीका लागि
यति मात्रामा संकलन भएको रगत पर्याप्त नभएको भन्दै सरोकारवालाहरुसँग रक्तदानका लागि अनुरोध गरेको छ ।