कोरोना रिपोर्ट नेगेटिभ भएमा मात्र बैठकका लागि योग्य
दाङ, २६ बैशाख । आजदेखि संसदको बैठक बस्दै छ । कोरोना संक्रमणका कारण संसद बैठक सञ्चालनपूर्व विभिन्न तरिकाले स्वास्थ्य सतर्कता अपनाइएको छ । बैठकमा संक्रमण परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरु मात्र प्रवेश गर्न पाउनेछन् ।
बिहीबारदेखि सांसदहरुको परीक्षणका लागि स्वाव संकलन शुरु भएको छ । यो क्रम आज शुक्रबार बिहानसम्म जारी रहेन र दिउँसो ३ बजेसम्म परीक्षणको रिपोर्ट आइसक्ने गरी तयारी भइरहेको जनाइएको छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५८ जना सांसद रहेका छन् । उनीहरु सबै र संसद सचिवालयका कर्मचारीहरुको स्वाव परीक्षण गरिने छ ।
सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पिसिआर परीक्षणको रिपोर्ट देखाएर मात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो । यदि कसैको रिपोर्टमा संक्रमण देखिएको पाइए बैठकमा सहभागी हुन पाउने छैनन् । बिहीबार २ सय १२ जना सांसदसहित ४ सय ४१ जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरी टेकु लगिएको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि शुरु भएको परीक्षणमा प्रतिनिधिसभातर्फका १ सय ७९ जना र राष्ट्रियसभातर्फका ३३ जना सांसद सहभागी भए ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली बस्ने कुर्सी वरपर अन्य मन्त्रीहरु नबस्ने गरी सिट व्यबस्थापन गरिएको संसद सचिवालयले जनाएको छ । कोरोनासँगै, मृगौला फेरेका कारण उनलाई कुनै पनि संक्रमणबाट सुरक्षित राख्नका लागि चिकित्सकहरुको परामर्शमा अलग्गै बस्ने व्यवस्था मिलाइएको बताइएको छ ।
आज शुक्रबार ४ बजेबाट शुरु हुने यो बैठकमा प्रि–बजेटमाथि छलफल थालिने छ भने यही बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट समेत आउने छ । जेठ १५ गते बजेट सार्वजनिक गर्ने व्यबस्था रहेको छ । जेठ २ गते राष्ट्रपति बिद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका बनाइएको छ ।