calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा कार्यान्वयन गर्न माग

गोरक्ष समाचारदाता
दाङ, ९ भदौ । नागरिक समाज दाङले नेपाल सरकारबाट आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य लागु गर्न लागिएको इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा कायम गरेर मात्रै कार्यान्वयन गर्न आग्रह गरेको छ ।

समाजको आइतवार घोराहीमा बसेको बैठकले संविधान प्रदत्त सरकारी कामकाजको भाषा नेपाली हुने व्यवस्था अनुसार इम्बोस्ड नम्बरको अङ्क र अक्षर देवनागरी लिपिमा कायम गर्न र सहजताका साथ उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

समाजका जिल्ला संयोजक निमबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले घोराही उपमहानगरपालिका वडा नं. १४ झिँगौरास्थित स्वर्गद्वारी आश्रमको नजिकै रहेको वर्षौं पुरानो सार्वजनिक पिपल चौतारी परिसरमा वडा कार्यालयले स्थानीय टोल विकास संस्थाका लागि भवन निर्माण गरिदिँदा ऐतिहासिक धरोहर नै मासिने खतरा देखिएकाले उक्त संरचना हटाई साविककै अवस्थामा चौतारीको व्यवस्थापन गर्न सरोकार निकायको ध्यानाकर्षण गराएको छ ।

यसैगरी भारत र चीनबिच हालै भएको लिपुलेक व्यापारिक द्विपक्षीय सम्झौताले नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतामाथि आँच आएकाले उक्त सम्झौतामाथि तत्काल पुनर्विचार गर्न र कुटनीतिक तहबाट पहल गरी त्रिपक्षीय आपसी सहमति अनुरूप गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आगामी असोजको २५, २६ र २७ गते नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा हुन लागेको अन्तर्राष्ट्रिय योग सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न समाजको तर्फबाट आवश्यक सहयोग र पहल गर्ने निर्णय भएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकले नेपाली समुदायमा अट्वारी, हरितालिका तिजलगायतका पर्व भित्रिएकाले ती पर्व सभ्य, मर्यादित र व्यवस्थित रूपमा मनाउँदै परम्परागत संस्कार, संस्कृति संरक्षण र प्रवर्धनमा ध्यान दिन सरोकारवाला सबैमा आग्रह गरिएको छ ।