अमरराज आचार्य
दाङ, २५ बैशाख । बुद्ध जयन्तीका दिन बिहानैदेखि भीडभाड तथा चहल–पहल हुने घोराही उपमहानगरपालिका वडा नं. १८ ढोडेनीमा रहेको नमः छु बौद्ध गुम्वा बिहीवार भने सुनसान देखियो । कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण गुम्वामा कुनै चहल–पहल नभएको हो । २५६४औं बुद्ध जयन्तीको अवसरमा गुम्बामा यस वर्ष कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएको नमः छु बौद्ध गुम्वा व्यवस्थापन समितिका अध्यक्ष सतबहादुर रोकाले बताए । ‘अहिलेको परिस्थिति कारण कुनै प्रकारको कार्यक्रम आयोजना नगरिएको हो’, अध्यक्ष रोकाले भने । अघिल्ला वर्षमा गुम्बा व्यवस्थापन समितिले पुजापाठसँगै औपचारिक कार्यक्रम समेत गर्ने गर्दथ्यो । जसले गर्दा बिहानदेखि साँझसम्म गुम्बामा भीडभाड हुने गरेको थियो ।
यस वर्ष गुम्वा व्यवस्थापन समितिका सदस्यहरु तथा स्थानीय बासिन्दाहरुले भने पुजाआजा गरे । ‘भीडभाड नहोस् भनेर पालैपालो गरेर पुजाआजाको व्यबस्था गरिएको हो’, अध्यक्ष रोकाले भने । यस वर्ष टाढाबाट मानिसहरु नआएको उनको भनाइ रहेको छ । अघिल्लो वर्षहरुमा हजारौंको संख्यामा मानिसहरु त्यहाँ आउने गरेको रोका बताउँछन् । लकडाउन भएकाले मानिस आवत–जावत गर्न नपाएपछि यस वर्ष गुम्बा सुनसान अबस्था रह्यो ।
भ्युटावर पनि बन्द
नमः छु बौद्ध गुम्बामा रहेको मनदिल भ्युटावर पनि बन्द गरिएको छ । भ्युटावरमा चढ्न आउनेहरुको भीडभाडबाट कोरोनाको संक्रमण हुनसक्ने भएकाले सरकारले लकडाउन गरेदेखि नै सो टावर बन्द गरिएको गुम्वा व्यवस्थापन समितिका अध्यक्ष रोकाले बताए । लकडाउनभन्दा पहिले दैनिक २५ देखि ३० जनासम्मले भ्युटावरबाट अवलोकन गर्ने गर्दथे । भ्युटावर निर्माण भएपछि उक्त स्थान पर्यटकीयस्थलको रुपमा विकास हँुदै पनि गएको छ । घोराही बजारको दृश्यसँगै जिल्लाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिने भएकाले उक्त स्थानसम्म मानिसहरु जाने क्रम बढ्दो थियो । यसले गुम्बाको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । भ्युटावर घोराही–१४ निवासी पुन परिवारले आफ्नै लगानीमा निर्माण गरिदिएका हुन् ।