‘संस्कृति संरक्षणमा कांग्रेस’

बालाराम खड्का
तुलसीपुर, ७ भदौ । ‘पारी पारी आएका, ढाका टोपी लाएका, तिनै होलान् हाम्रा बाबा लिन आएका’लगायतका विभिन्न मौलिक तिज गीतमा महिला दिदीबहिनीहरू छमछमी नाचेका छन् । सधैँ झैँ आसन र भाषणमै सीमित रहने कार्यक्रम यस पटक भने अलि फरक रह्यो ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका नगर कार्यसमितिको आयोजनमा तुलसीपुरको ड्रिम्स ब्याङक्विटमा भएको तिजमिलन कार्यक्रममा केन्द्रदेखि स्थानीय स्तरका नेता, कार्यकर्ता तथा महिला दिदीबहिनी, दाजुभाइले महिलाहरूको पर्व हरितालिका तिजको अवसरमा शुभकामना साटासाट गरे ।
नेपाली कांग्रेसका नगर सभापति सुरेश हमालको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यता एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सहभागीले हरितालिका तिजलाई भव्य र सभ्य रूपमा मनाउनु पर्ने बताएका थिए ।
यसले नेपाली कांग्रेसले संस्कार, संस्कृति र कलाको संरक्षण गर्ने उद्देश्यले नगरका सबै वडाका महिला दिदीबहिनीबिच तिज प्रतियोगितासमेत गरेको थियो । कांग्रेसको राष्ट्रियता लोकतन्त्र, समाजवादको नारासहित पछिल्लो समयमा हराउँदै गएको संस्कार, संस्कृति र रीतिरिवाजको संरक्षण गर्ने काम गरेको भन्दै सहभागीले यस कार्यप्रति नगरलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा विभिन्न जाताजाति, भाषाभाषी समुदायलाई एकै थलोमा राखेर आयोजना गरिको तिजमिलन कार्यक्रमले एकआपसमा भाइचाराको सम्बन्ध स्थापित गर्दै संगठनलाई थप बलियो बनाएको सहभागीको भनाइ थियो । कार्यक्रममा नगरका सबै वडाबाट आफ्नो प्रस्तुति दिदीबहिनीले देखाएका थिए भने राष्ट्रिय कलाकार प्रकाश रेग्मी र शक्ति चन्दलेसमेत आफ्नो कला प्रस्तुत गरेका थिए ।
प्रतियोगितमा वडा नं. १३ बाट प्रतिनिधित्व गर्ने महिला समूह प्रथम भएको थियो भने वडा नं. ७ दोस्रो र वडा नं. २ तेस्रो भएको थियो । कलाको सम्मान गदै प्रथम हुने समूहलाई नौ हजार, दोस्रो हुने समूहलाई सात हजार र तेस्रो हुने समूहलाई पाँच हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिएको थियो । अन्य सहभागी वडा कलाकारलाई दुई हजार पाँच सय रुपैयाँका दरले प्रोत्साहन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको र पार्टीमा सबै अट्न सक्ने समावेशी भएको भन्दै सम्पूर्ण जातजाति, धर्म संस्कृतिक र संस्कारको संरक्षण गर्ने बताए । उनले महिलाको थप शक्तीकरणका लागि स्वयम् अगाडि आउनु पर्ने बताए ।
पूर्वमन्त्रीसमेत रहेका गिरीले पछिल्लो समय भइरहेका गलत प्रवृत्तिबारे सबै महिला दिदीबहिनीलाई सचेत हुन आग्रह गरे । ‘पछिल्लो समय आपूm स्थापित हुने नाउमा तपाईँहरूलाई फेरि झुक्याउँदै छन्, त्यसको पछि नलाग्नुहोला ।
सबैको हित, देशको निकास र विकास दिने एउटै लोकतान्त्रिक पार्टी कांग्रेस हो’, गिरीले भने । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता गिरीले दाङको एउटा निर्वाचन क्षेत्रबाट आपूm निर्वाचित भए पनि समग्र जिल्लाको विकासका लागि पहल गर्दै आएको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य गेहेन्द्र गिरीले आफ्नो कला, संस्कृति संरक्षणमा सबै लाग्नु आवश्यक रहेको बताए । गिरीले तिजको परम्परा र मौलिक अनुरूप तिज मनाउन सके मात्रै घरपरिवार र समाजमा खुसी छाउने बताए ।
कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले संस्कार, संस्कृतिको मौलिकता जोगाउन कांग्रेसजन एकै थलोमा उपस्थित भएको भन्दै संगठन बलियो बनाउन पनि यसैगरी सबै एकजुट हुनुपर्ने बताए । डाँगीले तिजमिलन कार्यक्रमले आफ्नो मौलिक धर्म र संस्कृतिको संरक्षणसँगै पार्टीभित्र एकता कायम गर्न सहयोग पुग्ने बताएका थिए ।
कार्यक्रममा लुम्विनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयले गीतमार्फत् पार्टीलाई एकता र संगठन बलियो बनाउनतर्फ सबै लाग्ने सन्देश दिएका थिए । महाधिवेशन प्रतिनिधि सुष्मा गिरी, देविका नेपाली, चित्रा गिरी, कविता शर्मा, देवा डाँगीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
उपसभापति बिनिल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कलापती चौधरी, बेनु अधिकारी, जिल्ला सचिव बालिका लम्साल, क्षेत्रीय सभापति जगतबहादुर खड्का, जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीलगायतले शुभकामना दिएका थिए । कार्यक्रममा उपस्थित सबैलाई नगर सभापति हमालले कांग्रेसलाई सव्य र भव्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सहजीकरण सचिव बिमल पौडेलले गरेका थिए ।