नेपालको सीमाबारे चीन र भारतको कदम गलत : महासचिव पोख्रेल

गोरक्ष समाचारदाता
दाङ,७ भदौ । नेकपा एमाले महासचिव शंकर पोख्रेलले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे भारत र चीनको कदम गलत भएको बताएका छन् । प्रेस चौतारी दाङले शनिबार बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले नेपाललाई बेवास्ता गरी सीमामाथि बलमिच्याइँ गर्नु उचित नहुने बताएका हुन ।
सुगौली सन्धिलाई आधार मानेर नै नेपालको सीमा निर्धारण गरिएको भन्दै महासचिव पोख्रेलले सुगौली सन्धि अनुसार नै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको दाबी गरेका हुन । भारतले एकतर्फी रूपमा सीमामा नेपालको दाबी नपुग्ने भनी सार्वजनिक गर्न नहुने बताउँदै उनले दुई पक्ष बसेर मात्र यसको टुंगो लगाउनुपर्ने धारणा व्यक्त गरेका हुन । नेपालले वार्तामार्फत नै समस्या समाधान गर्न खोजे पनि भारत तयार नहुँदा विवाद कायम रहेको पोख्रेलले भने,‘हामी वार्तामा बसेर प्रमाण पेश गर्न चाहन्छौं । हामी द्वन्द्व गर्न चाहन्नौं । प्रमाणका आधारमा आफ्नो भूमि स्पष्ट पार्न चाहन्छौं । एकतर्फी दाबी गरेर विवाद टुंगिँदैन । हामी तयार भएपनि भारत यो विवाद टुङ्गाउने विषयमा तयार देखिदैनन् ।’
महासचिव पोख्रेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबारे बोल्दै राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतिक विवादमा आउन नहुने तर्क गरे । माओवादी केन्द्रले पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा ल्याउने निर्णय गरेर गलत गरेको भन्दै उनले उक्त निर्णय सच्याउनुपर्ने विचार व्यक्त गरेका छन । पूर्वराष्ट्रपति भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रकालागि खतरा भएको बताएका थिए । महासचिव पोख्रेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किदा गणतन्त्रप्रति अनाश्था फैलिने खतरा बढ्ने बताएका हुन । ‘पूर्वराष्ट्रपति संविधानको संरक्षक हो । सेनाको परामाधिपति भइसकेको व्यक्ति हो,’ महासचिव पोख्रेलले भने,‘उहाँ सक्रिय राजनीतिमा फर्किदा गणतन्त्रप्रति नै अनास्था र अविश्वास पैदा गर्छ । त्यो गल्ती पार्टीहरू गर्नुहुँदैन ।’
माओवादीले पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काएर गल्ती गरेको पोख्रेरेलको भनाइ थियो । माओवादीले लोकतन्त्र सिक्दै गरेको पार्टी भएको भन्दै महासचिव पोख्रेलले एमाले र कांग्रेसले उसलाई लोकतन्त्र सिकाउनुपर्ने बताए । महाओवादीले उपराष्ट्रपतिलाई राजनीतिमा फर्कायो एमाले किन रोकेको भन्दै कतिपयले विरोध गर्ने गरेको भन्दै महासचिव पोख्रेलले भने,‘माओवादी लोकतन्त्र सिक्दै गरेको पार्टी भएकाले पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गल्ती गरेको छ । माओवादीले एमाले र काँग्रेसबाट लोकतन्त्रका बारेमा सिकाउनुपर्छ, एमाले–कांग्रेसले होइन ?’ उनले माओवादीले उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउनुपर्ने समेत बताए ।
पोख्रेलले सरकारको कार्यक्षमता र उपलब्धिबारे बोल्दै अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको बताए । अहिले देशमा राजस्व बढेको, खर्च गर्ने क्षमता मजबुत भएको, लगानीयोग्य वातावरण बनेको र निजी क्षेत्र उत्साहित रहेको जिकिर गरे । यसैबीच पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २१, २२ र २३ गते हुने भन्दै महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने उनले बताए । उनका अनुसार साढे ६ लाख सदस्य छलफलमा सहभागी हुनेछन् । पत्रकार सम्मेलन प्रेस चौतारी दाङकी अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको थियो । प्रेस चौतारी घोराही नगर अध्यक्ष महेश बस्नेतको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव निमुसंगम घर्तीले गरेका थिए ।