calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

‘तिज पर्व सभ्य र मर्यादित रूपले मनाऔँ’

गोरक्ष समाचारदाता
दाङ, ७ भदौ । हरितालिका तिज पर्वलाई सभ्य र मर्यादित रूपमा मनाउनुपर्ने दाङमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । प्रेस चौतारी दाङले लुम्बिनी प्रदेश समितिको संयोजनमा घोराहीमा आयोजना गरेको तिज पर्व र महिला सशक्तीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् ।

चौतारी दाङका अध्यक्ष सुधासूमन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य शान्ता चौधरीले तिजको आफ्नै मौलिकता र महत्व भएकाले यसलाई हर्ष र उल्लासपूर्ण किसिमले मनाउनुपर्ने बताइन् । पछिल्लो समयमा तिज भड्किलो, खर्चिलो, उच्छृङ्खल बन्न थालेकाले त्यसलाई सुधार गरी एक महिना अघिबाट दर खाने परिपाटी अन्त्य गर्नुपर्ने उनले बताइन् ।

कार्यक्रममा बोल्ने वक्ताले नेपालको कला, संस्कति जगेर्ना गर्न तिज पर्वले महत्वपूर्ण भूमिका खेल्ने भन्दै तिजलाई रचनात्मक र सन्देशमूलक बनाउन आवश्यक रहेको धारणा राखेका छन् । पछिल्लो समयमा तिज पर्वलाई भड्किलो र खर्चिलो बनाउने प्रयास गरिएको भन्दै उनीहरूले त्यसलाई रोक्न सबैले आफू र आफ्नो परिवारमार्फत् भूमिका खेल्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सीता सिग्देल न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस सेन्टरका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्य, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य सुशीला आचार्य, अखिल नेपाल महिला संघ दाङका सचिव पशुपति चौधरी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरे, अधिवक्ता सुष्मा केसीलगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा चौतारी दाङका अध्यक्ष ढकालले तिज पर्व र महिला सशक्तीकरण विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्रमाथि सञ्चारिका समूह दाङका अध्यक्ष रञ्जिता शर्माले टिप्पणी गरेकी थिइन् । चौतारी दाङका महिला उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद चौतारीका प्रदेश कमिटी सचिव निता चौधरीले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण चौतारीको महिला विभाग संयोजक दीप्तिशिखा चौधरीले गरेकी थिइन् ।