म को हुँ !

एकराज शर्मा अधिकारी
आजभोलि मानिसले आफूलाई म भन्दै आइरहेका छन् । त्यो म कहाँ छ ? शरीरलाई म भन्दै आइरहेका छौँ । बाल्यकालदेखि म फलानो हुँ भन्दै शरीरलाई विभिन्न नाम राखेका छौँ । जन्मपछि ब्राहमणले राखेको नाम हो ।
जन्मिनुभन्दा अगाडि हाम्रो कुनै नाम थिएन, जात थिएन, लिंग थिएन, रुप थिएन । यी सबै जन्मेपछि राखेका नाम हुन् । यी काल्पनिक नाम हुन् । बाबुआमा, पतिपत्नी, देश, समाज सम्पूर्ण मानिसले चलाएका काल्पनिक नाम हुन् । यी नाम व्यवहारिक रुपमा सत्य हुन् तर पारमार्थिक रुपमा सत्य होइनन् ।
म को हुँ भन्ने परिचय एउटा महर्षिले दिनुभएको छ । ती महर्षिको नाम हो रमण महर्षि । मैले उहाँले लेखेको किताब पढेको छु । उनी भारतको अरुणाञ्चल प्रदेशमा जन्मेका थिए । मध्यम परिवारका थिए । तर, उनी दाशनिक थिए । उनको भनाई छ– कुनै एक दिन मामाको घरमा गएका रहेछन् ।
राति एउटा कोठामा सुतेको बेला सपना देखेछन् । त्यो सपना आश्चर्य लाग्दो थियो । उनले सपनामा आफू मरेको देखे । उनी अकस्मात बिउँझिए । यो सोचे– किन निन्द्रा लागेन । आज मैले के सपना देखे ? सपनाको कुरा जागेर भने– आज मैले के सपना देखे यस्तो ? उनी मामाको घरमा सुतेको बेला उनी मरेको देखेछन् ।
उनले आफू मरेको देखेर परिवारले शोक गरेको, मुर्दाघाटमा लगेको, मलामीहरुले जलाएको सबै दृश्य देखेछन् । एकछिनपछि सपनाबाट बिउझिँदा आफ्नो पहिलेको जस्तो अवस्था देखेछन् । त्यो सपना देखेपछि यो थाहा भयो कि म त मरेको रहेनछु । शरीर पो मर्ने रहेछ ।
शरीर मर्दा पनि म त बाँकी नै रहने रहेछु । म त देख्नेवाला पो रहेछु । शरीर त दृश्य रहेछ । म त द्रष्टा रहेछु । म त नमर्ने रहेछु । म त जल्ने रहेछु । सबै अवस्था मेरै अगाडि घट्ने रहेछन् भनी म को हुँ भन्ने बोध भएछ । त्यसपछि मामाको घरबाट आफ्नो घरमा गएर श्रद्धालु मुन्यूक्षजनहरुलाई यही उपदेश दिन थालेछन्– म भनेको आत्मा रहेछु, शरीर रहेनछु, मर्ने, जल्ने त शरीर पो रहेछ ।
हुन पनि गहिरेर विचार गर्ने हो भने त्यही म मा सबै अटाएको रहेछ । म भन्ने शरीर रहेनछ, आत्मा रहेछ । सारा शास्त्र र सद्गुरुले यही कुरा बताएका छन् । त्यसैले सबभन्दा पहिले आफूले आफैलाई जान्न कोशिस गर्नुपर्छ ।
हामीले आफूलाई नचिनेर अरुलाई चिन्ने कोशिस गर्छौँ । यो हाम्रो भुल हो । म भन्ने आत्मा स्वरुप हो । आत्मा बन्धनमा पर्दैन । आत्मालाई हामीले किन देख्न सक्दैनौँ भन्दा आत्मालाई अनात्माले ढाकेको छ । अनात्मा भनेको शरीर, मन, बुद्धि, चित्त र अहंकार हुन् । यी अनात्मालाई ज्ञानद्वारा हटाउने सके आत्माको दर्शन हुन्छ ।
शरीर बन्धनमा परेको छ । आत्मा पहिले बन्धनमा पर्दैन । आत्मा मुक्त स्वरुप हो । शरीर मनको अधिनमा छ । मनले जता लगे उतै जान्छ । आत्मा इन्द्रीय रहित छ, निराकार छ, निर्रविकार छ, परम व्यापक छ, सबै ठाउँमा छ । आत्मालाई भावनाले मात्र देख्न सकिन्छ ।
व्यवहारिक दृष्टिले हेर्दा कंश कृष्णका शत्रु हुन् । पारमार्थिक दृष्टिले कृष्णका कोही शत्रु छैनन् । कृष्णलाई भावनाले देख्न सकिन्छ । एक पटक कंशले कृष्णलाई मार्न मथुरामा मल्ल युद्धको आयोजना गरेको थियो । त्यो मल्ल युद्ध हेर्न राजा, महाराजाहरु, योगी र भक्तजनहरु, नरनारीहरु पनि हेर्न आएका थिए । कृष्णलाई सबैले आफ्नो भाव अनुसार देखे ।
पहलमानहरुले कठोर शरीर देखे । योगीहरुले आफ्नो रक्षक देखे । कंशले आफ्नो शत्रु देख्यो । साधरण मानिसले श्रेष्ठ पुरुष देखे । स्त्रीहरुले कामदेव जस्तो देखे । गोपिनीहरुले आफ्नो सम्बन्धी जस्तो देखे । दुष्ट राजाहरुले दण्ड दिने शासक जस्तो देखे । वृद्धवृद्धाहरुले बालक जस्तो देखे । अज्ञानीहरुले विराज देखे ।
आफ्नो भाव अनुसार सबैले फरक–फरक देखे । ईश्वरलाई जसरी सम्झे पनि हुन्छ । प्रेमले, भक्तिले, द्धंषले जुन भावले देखे पनि मुक्ति मिल्छ । ईश्वर, गुरु र आत्माले कहिले पनि धोका दिँदैनन् ।
ईश्वर आत्मा हो । जसले ईश्वर र आत्मालाई फरक देख्छ त्यसले ज्ञान प्राप्त गर्न सक्दैन । सुख पाउन सक्दैन । शरीर र मन बन्धनमा बाँधिएको छ । मनलाई बन्धनबाट मुक्त गराउन मुख्य कर्तव्य हो । सारा शासकले यही कुरा बताएका छन् । ब्रहम सत्य हो । संसार मिथ्या हो । भ्रमले सत्य ठानेका छौँ ।
संसारलाई सत्य हो भन्ने ठान्दासम्म बन्धनबाट मुक्त हुन सकिँदैन । म को हुँ भन्ने कुरा पनि थाहा हुँदैन । म आत्मा हुँ । म शरीर होइन । मेरो कहिले पनि नाश हुँदैन । शरीर मरे म मरे भन्नु भुल हो । शरीर मरेर म मर्दैन ।