दाङ, २५ बैशाख । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका कारण अन्योलग्रस्त भएको नेकपा स्थायी समितिको बैठक अझै अनिश्चित देखिएको छ । २५ गते बस्ने र त्यसभन्दा अघिल्लो दिन सचिवालयको बैठक बसेर एजेण्डा तय गर्ने भनी १९ गते सचिवालयको बैठक टुङ्गिएको थियो । तर २४ गतेको बैठकमा प्रधानमन्त्री असन्तुष्ट भएर निस्केपछि बैठक नै अन्योलग्रस्त हुन पुगेको हो । उठ्दै गर्दा दुई अध्यक्षले परामर्श गरी बैठकको मिति तोक्ने भनिए पनि हालसम्म बैठक कहिले बस्ने भन्ने कुराको जवाफ स्थायी समितिका सदस्यरुले पाउन सकेका छैनन् ।
बिहीबार बैठक बस्ने भनेकाले स्थायी समितिका झण्डै आधा सदस्यहरु पार्टी कार्यालय पुगेका थिए । यता, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका छन् । ‘अलि गृहकार्य नपुगेकै हो मुख्यरुपमा । त्यसकारण दुई अध्यक्षले एक÷दुई दिनभित्र बोलाउँछौं,’ अध्यक्ष प्रचण्डले भनेका छन् । पार्टी कार्यालय पुगेका २० स्थायी कमिटी सदस्यले छुट्टै बैठक गरेका छन् र पार्टी नेतृत्वलाई एजेण्डा सुझाएको जनाएका छन् । लिखितरुपमै बैठक माग गर्ने २० स्थायी कमिटी सदस्य बिहीबार पार्टीे कार्यालय धुम्बाराही पुगेर छलफल गरेका हुन् । उनीहरुले पार्टी र सरकारको काम, कोरोना संकट, पार्टी एकताका बाँकी काम, विदेशमा रहेका नेपालीहरुको समस्या र उद्धारलगायतका एजेण्डालाई स्थायी समितिको बैठकका रुपमा नेताहरुलाई सुझाउने सहमति गरेको एक नेताले बताए ।