गलत प्रवृत्तिबारे जनता सचेत हुनुपर्छ : नेता गिरी

गोरक्ष समाचारदाता
दाङ, ६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले राजनीतिका नाममा पछिल्लो समय भइरहेका गलत प्रवृत्तिबारे जनता सचेत हुनुपर्ने बताएका छन् । हरितालिका तिज पर्वको पूर्वसन्ध्यानामा नेपाली कांग्रेस दाङ प्रदेश सभा क्षेत्र नम्बर २ (२) को आयोजनामा बिहिबार घोराही–१० फनभ्याली पार्कमा भएको तिजमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले पछिल्लो समय आपूm स्थापित हुने नाउमा अरूको वदनाम गर्ने प्रवृत्ति बढेको बताएका हुन् ।

‘नयाँ पुस्ता यसबारे सचेत हुनुपर्छ, हल्लाको पछि नदौडिई यथार्थता बुझ्नेतर्फ ध्यान दिनुपर्छ’, नेता गिरीले भने । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता गिरीले दाङको एउटा निर्वाचन क्षेत्रबाट आपूm निर्वाचित भए पनि समग्र जिल्लाको विकासका लागि पहल गर्दै आएको बताए । एयरपोर्ट, घोराही–तुलसीपुर चारलेन सडकदेखि स्वास्थ्य क्षेत्रलगायत समग्र जिल्लाको विकासका लागि पहल गर्दै आएको उनले बताए ।

नेपाली कांग्रेसको संगठन निर्माणका लागि नेतादेखि कार्यकर्तासम्म एकजुट भएर लाग्नुपर्ने बताउँदै नेता गिरीले धर्म र संस्कृतिले नेपालीलाई जोडे जस्तै पार्टी संगठन निर्माणमा सबै एकजुट भएर जोडिन आवश्यक रहेको बताए । नेता गिरीले धर्म र संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्धनका लागि एकजुट भएर लाग्नुपर्ने बताए ।

समयको विकाससँगै तिज मनाउने परम्परा बदलिन सक्ने भए पनि मौलिकतालाई मर्न नदिने गरी पर्व मनाउन आग्रह गरेका थिए । पूर्वीय दर्शनलाई बचाइराख्न आफ्नो कला, संस्कृति संरक्षणमा सबै लाग्नु आवश्यक रहेकोमा उनको जोड थियो ।

नेपाली कांग्रेस दाङ प्रदेश सभा क्षेत्र नं. २ (२) सभापति अभियान बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयले तिजको पूर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रमले तिजको धार्मिक एवम् सामाजिक मूल्य, मान्यतालाई जीवन्त राख्नुका साथै पार्टीभित्र एकता कायम गर्न सहयोग पु¥याउने बताएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि नेता पाण्डेयले धर्म र संस्कृतिलाई बचाउन गतल प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले धर्म, संस्कृति संरक्षणसँगै मौलिक परम्परा नमर्ने गरी तिज पर्व मनाउन आग्रह गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि रहेका जिल्ला सभापति डाँगीले तिजमिलन कार्यक्रमले आफ्नो मौलिक धर्म र संस्कृतिको संरक्षणसँगै पार्टीभित्र एकता कायम गर्न सहयोग पुग्ने बताएका थिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता एवम् उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले पार्टीसँगै जनप्रतिनिधिका रूपमा महिला जनसहभागिता बढाउने गरी सबै लाग्नुपर्ने बताए । लुम्बिनी प्रदेशमा मन्त्री भएसँगै महिलासँगै युवालाई उद्यमशीलता, रोजगार र सिपसँग जोडेर आत्मनिर्भर बनाउँदै अघि बढाउन विविध सिपमूलक कार्यक्रम ल्याएको भन्दै ती कार्यक्रममा सहभागी भएर लाभ लिन महिला तथा युवालाई आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले तिज पर्वको शुभकामना व्यक्त गर्दै तिजको मौलिकता संरक्षण गर्दै मनाउनुपर्नेमा जोड दिएका थिए । सहभागीले तिज पर्वले महिलालाई एकताबद्ध बनाए जस्तै दाङमा कांग्रेस संगठन निर्माणमा नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । महिलाको एकता जस्तै कांग्रेसको संगठनलाई दाङमा सुदृढ बनाउन नेता–कार्यकर्ताले एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापतिहरू विरकेशवरी गौतम, घनश्याम रेग्मी, नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्का, महासमिति सदस्य गोमा रावत, महाधिवेशन प्रतिनिधि एवम् घोराही १० का अध्यक्ष दीपक पाण्डेय, नेपाली कांग्रेस क्षेत्र नं २(ख) का सहसचिव निर्मला आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा तुलसीपुर–१९ की डिला खत्री र घोराही ११ निवासी सुनिता गन्धर्वलाई सम्मान गरिएको थियो । उपसभापति ज्ञानबहादुर केसीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव तिलक केसीले गरेका थिए ।