लुम्बिनी पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा

खेमराज रिजाल
भालुबाङ, ६ भदौ । प्रदेश माताहतका १२ वटै जिल्लाका लक्षित उमेर समूहका सबै बालबालिकालाई राष्ट्रिय खोप निर्देशिका अन्तर्गत सबै खोप लगाइएपछि लुम्बिनी प्रदेशलाई एक समारोहकाबिच बिहिबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोणणा गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा मुख्यमन्त्री चेतनारायण आचार्यले डिजिटल ब्यानर क्लिक गरेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरेका हुन् । यस अघि मधेस प्रदेशलाई पहिलो प्र्रदेशका रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको थियो, लुम्बिनी दोस्रो हो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गर्ने अभियानसम्म आइपुग्न अहोरात्र खटिने महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका, खोपकर्ता, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि, स्वास्थ्य कार्यालयका कर्मचारी एवम् खोप समन्वय समितिका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद ज्ञापन गरे ।

‘आज प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिरहँदा हामीलाई गर्वको अनुभूति भएको छ, यो निरन्तर चलिरहने प्रक्रिया भएकाले आगामी वर्ष पनि यहाँहरूको यसमा सार्थक प्रयास हुनेछ’, मुख्यमन्त्री आचार्यले भने । स्वास्थ्य सेवामा धेरै सुधारात्मक काम भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशका स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार बढाउन र गुणस्तरीय जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले पहिलो प्राथमिकता दिइरहेको बताए ।

‘हामी स्वास्थ्यका सूचकका सुधारको चरणमा छौँ, यसका लागि सबैको साथ र सहकार्यको अपेक्षा गर्दछौँ’, प्रमुख अतिथि आचार्यले भने मातृशिशु मृत्युदर घटाउन र पोषण व्यवस्थापनमा हाम्रो एकीकृत प्रयास केन्द्रित हुन जरुरी छ ।’ सो अवसरमा मुख्यमन्त्री आचार्यले पूर्ण खोप अभियानलाई सार्थक बनाउन अतुलनीय योगदान गरेको भन्दै केही स्वास्थ्य कार्यालयका प्रमुख तथा दातृ निकाय युनिसेफ, विश्व स्वास्थ्य संगठन तथा वाटर एडका नेपाल प्रतिनिधिलाई सम्मान गरेका थिए ।

लुम्बिनी प्रदेश खोप समन्वय समितिका संयोजक तथा स्वास्थ्य सचिव दुर्गालक्ष्मी थापाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खोप समन्वय समितिका संयोजक एवम् स्वास्थ्य सचिव विकास देवकोटाले लुम्बिनी प्रदेश खोप समन्वय समितिका संयोजक, सदस्य सचिवलगायतलाई संयुक्त रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरेका थिए ।

पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र प्राप्त गर्नु अघि लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा खोप समन्वय समितिका सदस्य सचिव रोशनलाल चौधरीले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका बालबालिकाले पाएको पूर्ण खोपको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लुम्बिनीका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनीका स्वास्थ्य सूचक क्रमशः माथि उठ्दै गएकाले यसलाई कम हुन नदिन हरेक स्वास्थ्यकर्मी एवम् स्वास्थ्य संस्थाहरू प्रतिबद्ध हुनुपर्ने बताए । ‘हामीले प्रदेशका स्वास्थ्य संस्थाको हरेक वर्ष स्तर वृद्धि गर्दै आएका छौँ, गुणस्तरीय जनशक्ति थप्दै गएका छौँ, अब मातृशिशु मृत्युदर घटाउने पहल स्थानीय सरकारबाटै हुनुपर्छ’, विशिष्ट अतिथि सारुले भने ।

२०३४ सालमा विफर उन्मूलन भएपश्चात नेपालमा खोप कार्यक्रम विस्तारीत खोप आयोजनाका रूपमा धनुषा, रुपन्देही र सिन्धुपाल्चोक जिल्लाबाट बालबालिकालाई बिसिजी र डिपिटी खोप दिएर सुरु भएको थियो । त्यसपछि क्रमशः खोपको सङ्ख्या बढाउँदै अहिले नेपालका ७७ वटै जिल्लामा पूर्ण खोप कार्यक्रम सञ्चालनमा छ ।

हाल क्षयरोग, भ्यागुते रोग, रुघाखोकी, धनुष्टङ्कार, हेपाटाइटिस–बी, हेमोफिलस इन्फ्लुन्जा बी, पोलियो, दादुरा, रुवेला, निमोनिया, मेनेन्जाइटिस, जापानिज इन्सेफ्लाइटिस, टाइफाइड र रोटा रोटा भाइरसबाट हुने रोगबाट बचाउन खोप उपलब्ध गराइँदै आइएको छ । हरेक पालिकाले आफूले तोकेको खोप तालिका अनुसार मासिक रूपमा खोप कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

आर्थिक बर्ष ०८१÷०८२ मा लुम्बिनीका १२ जिल्लाका एक सय नौ स्थानीय तहमा करिब नौ सय ४६ स्वास्थ्य संस्थामार्फत् दुई हजार नौ सय ९१ खोप केन्द्र र तीन हजार तीन सय १० खोप सेसन मासिक रूपमा सञ्चालन हुँदै आएका छन् । लुम्बिनीमा पूर्ण खोप सेवाबाट गत आर्थिक वर्ष एक लाख ७० हजार पाँच सय ५१ बालबालिका लाभान्वित भएका छन् ।

स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नतामा घरधुरी सर्वेक्षण गरी खोज र खोप रणनीति अनुसार १६ देखि ५९ महिनाका बालबालिकामध्ये ६९ शून्य डोज र दुई हजार तीन सय ८७ कुनै खोप लगाउन छुटेका खोजी गरी पूर्ण खोप लगाएपछि प्रदेशले पूर्ण खोप सुनिश्चितताका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा आवेदन गरेको थियो ।

राष्ट्रिय खोप समन्वय समितिले प्रमाणीकरण गरेपछि मात्रै प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको हो । यस आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा घरधुरी सर्वेक्षणका क्रममा १६—२३ महिनाका ७० हजार पाँच सय १८ बालबालिकाले नियमित खोप पाएको सुनिश्चितता गरिएको थियो ।

दाङमा १६ देखि २३ महिना उमेरसम्मका १४ हजार ९३, पूर्णखोप प्राप्त गरेका बालबालिकाको सङ्ख्या १४ हजार ९३, खोप कार्ड भएका १३ हजार सात सय २१, सर्वेक्षणका क्रममा शून्य डोज खोप भेटिएका पाँच जना, ड्रपआउट ८० जना भेटिएकोमा सबैलाई खोप दिएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो ।

पछिल्लो तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ड्रपआउट बाँकेमा सात सय ७२ रहेको थियो भने रुकुम पूर्वमा शून्य ड्रपआउट रहेको थियो । पूर्ण खोप घोषणा सभामा बोल्दै लुम्बिनी प्रदेश खोप समन्वय समितिका सदस्य एवम् दाङ जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माले पूर्ण खोप सुनिश्चितताको अभियानलाई निरन्तर अघि बढाउँदै लुम्बिनी प्रदेशको मातृशिशु मृत्युदर घटाउन सबैको पहल हुनु आवश्यक रहेको बताए ।

यसका लागि सङ्घीय स्वास्थ्य मन्त्रालय एवम् प्रदेश स्वास्थ्य मन्त्रालयले समेत विशेष अभियान सञ्चालन गर्न सुझाव दिए । सो अवसरमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले बच्चा जन्मने क्रम निरन्तर चलिरहने भएकाले पूर्ण खोपको अभियानलाई सुनिश्चितता एवम् दिगोपना बनाउन हरेक वर्ष यसरी नै काम गर्न सबैलाई सुझाव दिए ।

पूर्ण खोप सुनिश्चितता घोषणा सभाको सहजीकरण लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका कुमार थापाले गरेका थिए ।