युवराज शर्मा
घोराही उपमहानगरपालिका अन्तर्गत पर्ने घोराही जार दाङ जिल्लाको सदरमुकाम हो । यहाँ वडा नं. १४ र १५ लाई बजार क्षेत्रमा गणना गर्छन् । जहाँ घोराहीको पुरानो बजार, नयाँ बजार वडा नं. १४ मा पर्छ भने सरकारी कार्यालयहरु भएका क्षेत्रहरु वडा नं. १५ मा पर्छन् ।
त्यस ठाउँमा जिल्ला प्रशासन कार्यालय र घोराही उपमहानगरपालिका पनि पर्छ । त्यस्तै धेरै कार्यालहरु, बजार, मुख्य सडकहरु पर्छन् तर यहाँ औद्योगिक क्षेत्र छैन । बुटवल बजारबाट सामानहरु ल्याएर बेच्नेहरु धेरै छन् । धेरैजसो पसलहरु बुटवल साहुहरुका छन् । यस बजारमा धेरै फेन्सी पसलहरु छन् । कपडा व्यपारीहरुमध्ये धेरैजसो मधेशीहरु छन् ।
मधेशीहरु भारतको गोण्डा जिल्लामा पर्ने दाङ उत्तरौला र विखिोरबाट आई बसेको पुस्तौदेखिको परिवारहरु हुन् । अर्काथरी मधेशीहरु भारतको विहारबाट आएका र नेपालको मधेश प्रदेशका जिल्लाहरुबाट आई बसेका व्यक्तिहरु छन् । भारतीय मुसलवान र चुरेटाहरु पनि छन् । यी चुरेटाहरुलाई राजा पृथ्वीनारायण शाहले गोरखाको भगवतीमा चुरा, पोते र धागो चढाउने बस्तुहरुलाई ल्याउन बनारस (भारतबाट) गोरखामा ल्याएका व्यक्तिका परिवारहरु हुन् ।
उनीहरुका सन्तानहरु गोरखाबाट पश्चिम नेपालमा चुरा, पोते, डोरी, धागो बेच्दै हिडेको परिवारहरु दाङमा त्यस्ता बस्तुहरुको व्यापार र फेन्सी पसल चलाउँदै छन् । अहिले बजारमा घरबास बनाउनेको लहर छ । पूर्व सिमलतारादेखि लक्ष्मीपुरसम्मका धेरै व्यक्तिहरुले घरबास बनाएर बसेका छन् । त्यस्तै विभिन्न ाउँहरुबाट गाउँ छोडी बजारमा बस्नेहरु पनि छन् । छोराछोरी पढाउन घोराहीमा बस्नेहरु पनि छन् । गाउँघर पनि सहर भएको छ । घोराही बजारको रौनक बढ्दै छ तर घोराहीको महत्व घटिरहेको छ ।
घोराही बजारबाट यातायातका साधनहरु विभिन्न जिल्लाहरुमा जान्छन् । यातायातको राम्रो प्रवन्ध छ । रुकुम, सल्यान, रोल्पा र प्युठानलाई पनि जोडेको हुँदा मानिसहरुको आउजाउ पर्याप्त हुन्छ । दिउँसोमा बजारहरु भरिभराउ मानिसहरुको जमघटले हुन्छ । यहाँ राजनीतिज्ञ, वौद्धिक व्यक्तिहरु, समाजसेवी, फटाहाहरुको संख्यात्मक वृद्धि छ ।
जिल्लामा रचनात्मक कार्यभन्दा झेलझाम बढी हुन्छ । त्यसैले भन्छन्– दाङमा फटाहाहरुको कार्यशैली धेरै हुन्छ । दाङका गाउँघरमा भन्छन्– गाउँका फटाहाहरु घोराही बजारमा गए । युवाहरुले गाउँ छोडेर विदेशी भए ।
गाउँघरमा बुढाबुढीहरु मात्र छन् । खेतीयोग्य जमिन बाँझै छ । खाद्य सामग्रीहरु भारतबाट आयात हुन्छ । बजारमा बस्नेहरु भन्छन्– भारतीयहरुले आफ्नो देशमा खेती गर्दछन् । आफूले खाएर बचेको अनाज हामीलाई बेच्छन् । उनीहरु पैसा कमाउँछन् तर हामीहरुले पैसा फाल्छौँ । सरकारको कृषि नीति छैन । त्यसैले होला गाउँबाट जग्गा जमिन बेच्दै बजार पस्दै छन्– गाउँलेहरु ।
घोराही बजारको धेरै परिवारहरुको दिन प्लाष्टिकको थैलीमा जीवन अडेको छ । विश्वास, आस्था, ममता मानव समाजमा पाइन्न । गाउँबाट आफ्ना इष्टमित्र आएपछि घरमा गाँस, बास दिन रुचाउँदैनन् । चाडै गाउँ फर्के हुन्थ्यो भन्ने परिवारहरु धेरै देखिन्छन् । घोराहीको रौनक हराउँदै छ भने मानवता भन्दा स्वार्थी भावना बढ्दै छ । यहाँ छोराछोरी पढाउन डेरा गरी बस्नेहरु पनि छन् ।
शिक्षण संस्थाहरमा धेरै बोर्डिङ स्कुल र थोरै सामुदायिक स्कुलहरु छन् । दुवैमा विद्यार्थी खचाखच छन् तर पढाउने शिक्षक धेरै शिक्षण तालिम अप्राप्त छन् । कतिपय शिक्षकले आफ्नो योग्यताको घमण्ड गर्छन् भने धेरैजसो शिक्षक अस्थायी छन् । उनीरुले पेसागत सुरक्षा नभएको ठान्छन् । यसले पढाइमा प्रभाव पर्छ ।
विद्यार्थीमा रचनात्मक विकास बन्दैन । व्यावहारिक ज्ञान र सिपको अभावले गर्दा बुद्धि विकास हुन सक्दैन । पढाइमा चुनौतीपूर्ण वातावरण छ । घोराही बजारको रौनक घट्दै गएको छ । शिक्षा, स्वास्थ्य र सुरक्षामा शान्त वातावरण छैन ।
दाङबासीहरुको मुख्य बजार घोराही थियो । अहिले तुलसीपुर, हापुर पश्चिमतर्फ छन् भने घोराही नजिकको बजार नारायणपुर र रामपुर बजार पर्छन् । बजारलाई व्यवस्थित गर्न उद्योग वाणिज्य संघले पनि सकेको छैन । व्यापारिकसँग कर असुलीमा सफल छ । हुनतः शनिवारको बिदामा बजार बन्द हुन्थ्यो ।
अहिले शनिवार पनि बजार खाल्ने पाएर व्यापारीहरु मख्ख परेका छन् । यो बजारभन्दा सस्तो सामान रामपुर र नारायणपुरका बजारहरुमा बिक्री भएको व्यापारी भन्छन् । दुवै ठाउँमा सामानहरु बुटवलबाट आउँछन् मूल्य बढी घोराही छ भन्छन्–गाउँलेहरु तर घोराही बजारको रौनक घट्दै छ । कुनै संघ, संस्था र समितिले घोराही बजारलाई विकास गर्न समस्या छ ।
बजारीमा शिष्टत, धैर्यता, सहनशीलता र सरलता हुनुपर्छ । यहाँका व्यापारीहरुमा यस्ता गुणहरु सेवाग्राहीप्रति अपनाउँदैनन् । पसलमा पसेर सामान खरिद गरेन भने व्यापारीको स्वचाव रिसाउने छ । खरिदकर्ता व्यक्तिले माल छानेर किन्छन् । पसल–पसलमा मूल्य जाँच्छन् । शिक्षाले सबैलाई चेतना दिएको छ ।
गाउँले भनी हेलाहाको व्यवहार नगर बजारका व्यापारी हो ? तिमीहरुका छोराछोरीभन्दा बढी ज्ञानी, सहनशीलता र धैर्यवान छन् । अहिले घोराहीको बजारस्तरीय रौनक व्यापारीहरुले नै घटाइरहेका छन् ।
नेपालमा लोकतान्त्रिक गणतन्त्र भित्रिएपछि नेपालको ७७ जिल्ला ७ प्रदेश र ७५३ स्थानीय तह भएपछि घोराही उपमहानगरपालिका पनि एउटा स्थानीय सरकार भयो । यसका १९ वडाहरु छन् । विकासको दृष्टिले संगठनात्मक स्वरुप भए पनि दश वर्षमा जुन गतिमा विकास हुनुपर्दथ्यो, त्यो तरिकाबाट अगाडि बढेन ।
पहुँच र सम्बन्धका आधारमा भएका विकास निर्माणहरु एक दशकसम्म अधुरै भएका छन् । घोराही बजारमा सडक पक्कि बनाउने कार्य उपमहानगरपालिकाले जोड दिन्छ तर वडाहरुमा ध्यान जान्न । यसको एउटै कारण हो– गाउँलेप्रति उपेक्षा । घोराही बजारलाई श्रृङ्गार्नु पर्छ तर गाउँलेहरुको मतलाई कदर गर्न जान्नुपर्छ ।
बजारको राम्रो व्यवस्था गर्नुपर्छ भने सोही अनुपातमा गाउँलाई पनि व्यवस्थित गर्नुपर्छ तर घोराही उपमहानगरपालिका अन्तर्गतका गाउँहरुमा आउजाउ गर्न समस्या छ । जसले गर्दा गाउँको उत्पादन बजार आउन सक्दैन । गाउँले समाजको जीवनस्तर माथि उठ्न सक्दैन ।
बजारमा पनि बस्तुरुको अभाव बढ्छ । यसले बजारको रौनक घट्छ । गाउँमा पक्कि बाटो, खानेपानी सिँचाइ कुलो, विद्युत आपूर्ति र नेटको व्यवस्था मिलाउनु स्थानीय सरकारको काम कर्तव्य हो । बजारको रौनक बढाउन गाउँको विकास गर्नुपर्छ । तबमात्र घोराही बजारको रौनक बढ्ने छ ।