दाङ,५ भदौ । घोराही उपमहानगरपालिका– ७ को आयोजनामा तीजमिलन तथा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रम संयोजक गोमा नेपालीको अध्यक्षता तथा घोराही उप महानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यमा तीजमिलन कार्यक्रम भएको हो । वडा अध्यक्ष खोपिराम चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बोल्दै उपप्मुख डिसीले तीज पर्वले मौलिक संस्कृतिको जगेर्नासंगै आपसी सद्भभाव बढाउने भएकाले यसलाई सरल र सभ्य तरिकाले मनाउनुपर्ने बताइन ।
उनले पछिल्लो समयमा तीज पर्वका नाममा देखा परेका बिकृति र बिसंगती हटाउनुपर्ने भन्दै उहाले तीजलाई भड्किलो नभई सामाजिक एकता र सुखदुखको भावना साट्ने पर्वको रूपमा लिनुपर्ने बताइन । बिभिन्न टोलका तीन सय भन्दा बढि महिलाहरूको सहभागीता रहेको कार्यक्रममा भएको तीज नृत्य प्रतियोगितामा बेलहरी टोलका पवित्रा बुढाथोकी प्रथम,पर्शा शिव टोलका पवित्रा पुन द्वितीय र सोही टोलकी समिक्षा पुनले सान्त्वना स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट हुने सवैलाई प्रमाणपत्र र नगर पुरस्कार प्रदान गरिएको थियो । सो कार्यक्रमको निर्णायकमा वडा सचिव माधवा घिमिरे र मावि सौडियारकी शिक्षिक सुभद्रा भण्डारी रहेका थिए । कार्यक्रमको सहजीकरण वडाका कर्मचारी विमल योगीले गरेका थिए । कार्यक्रममा सवै सहभागीलाई दर समेत खुवाईएको थियो ।