मह प्रशोधन उद्योगले बिक्रीमा सहज

गोरक्ष समाचारदाता
दाङ, ५ भदौ । दाङमा गुणस्तरीय मह उत्पादन र बजारीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष ०८१÷०८२ मा घोराही उपमहानगरपालिका–४ डाँडागाउँमा मह प्रशोधन उद्योग स्थापना गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मौरी जोन दाङको आर्थिक तथा प्राविधिक सहयोगमा मह प्रशोधन उद्योग स्थापना गरिएको हो ।

किसानको ५० प्रतिशत लगात सहभागिता गरेर २० लाख ५९ हजार रुपैयाँको लगानीमा मह प्रशोधन उद्योग स्थापना गरिएको थियो । मह प्रशोधन उद्योग स्थापना भएपछि किसानलाई सहज भएको घोराही–४ डाँडागाउँ निवासी बि एण्ड बि मौरी फर्मका सञ्चालक भीमकान्त देवकोटाले बताएका छन् ।

प्रशोधन उद्योग नहुँदा मह प्रशोधनसँगै महको बजारीकरणमा समस्या भए पनि उद्योग स्थापना भएपछि बिक्रीमा सहज भएको बताए । उनले भने, ‘मह प्रशोधन उद्योग नहुँदा उत्पादन भएको मह बिक्री गर्न समस्या थियो । उद्योग स्थापना भएपछि महलाई प्रशोधन गरेर प्याकिङ र लेबलिङ गरेर बिक्री गर्ने गरेका छौँ । जसले गर्दा मह बिक्री गर्न सजिलो भएको छ ।’

डाँडागाउँमा जस्तै जिल्लाका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मौरी जोन दाङले किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा जिल्लाका १० स्थानमा मह प्रशोधन उद्योग स्थापना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङकी सूचना अधिकारी चन्द्र शोभा कँडेलले बताइन् ।

उनका अनुसार मह प्रशोधन उद्योग स्थापनाका लागि मौरी जोन कार्यक्रमसँगै साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम), जिआइजेटलगायतका संस्थाको दुई करोड बढी सहयोग रहेको बताइन् । सूचना अधिकारी कँडेलका अनुसार घोराही–४ डाँडागाउँको बि एण्ड बि मौरी फर्मसँगै घोराही–१८ स्थिन प्रकृति एग्रीकल्चर सेन्टर, घोराही–१२ हापुरस्थित देउराली मौरीपालन सहकारी संस्था, घोराही–१५ स्थित शिवशक्ति बि कन्र्सन, १५ नं. वडामै राइजिङ बि एपियरी र घोराही–१९ स्थित सनराइज बि किपिङ सेन्टर, तुलसीपुर उपमहानगरपालिका–६ स्थित विशाल मौरी फर्म, तुलसीपुर–१२ स्थित आचार्य माहुरी कृषि तथा पशुपन्छी पालन बहुउद्देश्यीय फर्म, तुलसीपुर–१७ स्थित स्मार्ट शिवशक्ति माहुरीपालन फर्म र तुलसीपुरकै वडा नं. १९ मा सूर्याेदय माहुरी फर्ममा उद्योग स्थापना गरिएको छ ।

किसानलाई मह प्रशोधन उद्योग स्थापनासँगै परियोजनामा आबद्ध एक सय ६७ वटा मौरीपालन समूह, सहकारी र फर्मलाई अनुदानमा माहुरीपालनका लागि आवश्यक पर्ने विभिन्न सामग्री उपलब्ध गराउँदै आएको छ । अनुदानमा मह प्रशोधन उपकरण, तालिम, भण्डारण ट्याङ्की र प्याकेजिङका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराउने गरेको छ । मह उत्पादनका लागि ऊर्वर भूमि मानिने दाङमा वार्षिक छ सय ३० मेट्रिक टन मह उत्पादन हुने गरेको छ ।