गोरक्ष समाचारदाता
दाङ, ५ भदौ । तिज महिला स्वतन्त्रता र खुसीको पर्व भएको कार्यक्रमका सहभागीले बताएका छन् । हरितालिका तिजको अवसरमा नेपाल पत्रकार महासंघ दाङ महिला विभागले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले सांस्कृतिक रूपमा तिज महिलाका बिच एकता, आत्मीयता र खुसी बाँड्ने पर्व भएको बताएका थिए ।
तिजको अवसरमा महिलाले गीतका माध्यमबाट आफ्ना पीडा, अभाव, अधिकार र सामाजिक यथार्थलाई प्रकट गर्नेदेखि सामाजिक दृष्टिले महिलाको आवाज अभिव्यक्त गर्ने पर्व भएको बताएका थिए । सहभागीले तिजलाई धार्मिक पर्वका रूपमा मात्र नभई सांस्कृतिक, सामाजिक र भावनात्मक एकताको प्रतीकको पर्व भएको बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले तिजको मौलिकतालाई ख्याल गर्दै आर्थिक भार नपर्ने गरी मनाउनुपर्ने बताए । पछिल्लो समय देखासिकीका कारण चाडपर्व खर्चियो हुने र परिवारमा अािर्थक भार पर्ने भएकाले कम खर्चमै खुसी साटासाट गरेर दिदीबहिनीले तिज मनाउनुपर्ने बताएका थिए । चाडपर्व रमाइलो र संस्कृतिको संरक्षणका लागि भएको भन्दै सरल र सामाजिक सद्भाव बढाउने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष तथा महिला विभाग संयोजक नारायणी रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लीला शाहले महिलाका लागि तिजले आत्मबल, उमङ्ग र उत्साह दिने अवसर निर्माण गर्ने बताइन् । तिज पर्व केवल गीत, नृत्यमा सीमित नभएको भन्दै यसले संस्कृतिको संरक्षण गर्नेदेखि महिलाबिच आपसी एकता र सद्भाव कायम गर्न सहयोग पु¥याउने गरेको बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले तिज पर्वले सामाजिक एकतासँगै परिवारमा खुसी ल्याउने पर्व भएको बताए । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले तिजमिलन कार्यक्रमले पत्रकारबिचको आत्मीय सम्बन्ध बलियो हुने बताए । पत्रकार महासंघले केवल पेसागत अधिकारका लागि मात्र नभई सामाजिक र सांस्कृतिक क्षेत्रको संरक्षणका लागि काम गर्ने बताए । उनले तिज पर्वले हाम्रो सामाजिक सद्भाव र एकता कायम गर्न सफल भएको बताए ।
नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव सुलोचना गौतमले तिजलाई महिला सशक्तीकरणसँग जोडेर बुझ्नुपर्ने बताइन् । तिज महिलालाई सशक्तीकरणका लागि महत्वपूर्ण पर्वका रूपमा भएकाले तिजको मर्म र महत्वलाई बचाई राख्नुपर्ने भन्दै भनिन्, ‘तिज पर्वलाई महिलालाई खुसी र स्वतन्त्रता दिने पर्वको रूपमा मनाउने गरिएको छ । यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ ।’
कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यले तिज जस्ता पर्वले महिला पत्रकारको हौसला बढाउने बताइन् । पत्रकार महिलाले पेसागत दायित्वसँगै संस्कृतिको जगेर्नामा सक्रिय हुनुपर्ने भन्दै प्रेस सेन्टरकी केन्द्रीय सचिव आचार्यले तिजलाई महिला स्वतन्त्रता र खुसीको पर्वका रूपमा मनाउनुपर्ने बताइन् । विगतको तुलनामा पछिल्लो समय पर्व मनाउने प्रचलनमा परिवर्तन भएको भन्दै पर्वको मौलिकतालाई ख्याल गर्नुपर्ने बताइन् ।
क्रान्तिकारी पत्रकार संगठनकी केन्द्रीय सदस्य सुशीला आचार्यले तिजले वर्गीय र सामाजिक समानता स्थापना गर्न सन्देश दिने बताइन् । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सुदर्शन रिजाले तिजमिलन जस्ता कार्यक्रमले पत्रकारबिच आपसी सम्बन्ध र समझदारी बलियो हुने बताएका थिए । नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य सरिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य रमा नेपालीले गरेकी थिइन् ।