धर्म र संस्कृति संरक्षण सबैको साझा जिम्मेवारी : मुख्यमन्त्री आचार्य

दाङ, ४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धर्म र संस्कृतिमा विचलन आए विकृति र विसंगति भित्रने भएकाले यसप्रकारका प्रवृत्तिको अन्त्य सबैको साझा जिम्मेवारी रहेको बताउनु भएको छ ।

हरितालिका तीज पर्वको पूर्वसन्ध्यामा बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) ले आयोजना गरेको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पुर्खाले जसरी पर्वहरु मनाउँदै आएका थिए, त्यसैगरी वर्तमान समयमा पनि अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।

धर्म र संस्कृतिले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै भन्नुभयो,‘‘व्यक्तिलाई अनुशासनमा राख्न धर्म र संस्कृतिको विशेष योगदान छ । धर्म र संस्कृतिमा विचलन आए विकृति र विसंगति भित्रन्छ । त्यसैले यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नु सबैको साझा जिम्मेवारी हो ।’’ अहिले तीज पर्वलाई विभिन्न नाममा विकृत बनाउने काम भइरहेको भन्दै मुख्यमन्त्री आचार्यले विकृत प्रवृत्ति संस्कृतिमाथि धावा बोल्ने कार्य भएको बताउनुभएको हो ।

कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारीले चाडपर्वले सामाजिक मूल्य–मान्यतालाई जीवन्त राख्न मद्दत गर्ने भएकाले संस्कृतिको वास्तविक मर्म जोगाउनु जरुरी रहेको बताउनुभएको थियो । प्रदेश सचिव ईश्वरराज पौडेलले राज्यको समावेशी नीतिका कारण निजामती सेवामा महिला कर्मचारीहरुको उल्लेख्य सहभागिता बढेको बताउनुभएको थियो । स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले तीजलाई ऊर्जाशील पर्वको रुपमा लिनुपर्ने बताउनुभएको थियो । उहाँले भन्नुभयो,‘‘तीज पर्वले मानसिक स्वास्थ्यलाई टेवा पु¥याउँछ । तीजले ऊर्जाशील विचार ल्याउँछ । सांस्कृतिक र सामाजिक क्रियाकलापले पुस्तान्तरणमा सहयोग गर्छ । आत्मीय भावनाको विकास गराउँछ ।’’