विपन्न महिलालाई आर्थिक सशक्तिकरण हाम्रो अभियान : कार्यकारी निर्देशक चौधरी [अन्तर्वार्ता]
२०५१ सालमा घोराहीमा स्थापना भएको ग्रामीण महिला उत्थान केन्द्र घोराहीको भातृ संस्थाका रुपमा २०७६ सालमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि अहिले दाङ जिल्लामा मात्र सीमित नभएर लुम्बिनी प्रदेशका अन्य जिल्लामा पनि कार्यक्षेत्र विस्तार गरेर गाउँमा छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी महिला उद्यमशिलताका माध्यमबाट ग्रामीण समुदायको आर्थिक सशक्तिकरणको अभियानमा छ ।
कम्तिमा साढे ३६ हजार सदस्य संख्या रहेको उक्त संस्थाले ग्रामीण समुदायको सशक्तिकरणका लागि उद्यम व्यवसाय, शिक्षा, स्वास्थ्य सिपमूलक तालिम, व्यवसाय प्रवद्र्धन तालिम लगायतका विषयबस्तुहरु जोडेर सशक्तिकरणको अभियानलाई व्यापक बनाउँदै आएको छ । यो संस्थाको वर्तमान अवस्था, भावि कार्यक्रम तथा लघुवित्त सञ्चालनमा देखिएका चुनौतीका विषयमा केन्द्रित रहेर संस्थाका कार्यकारी निर्देशक सोगतवीर चौधरीसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।
लघुवित्त संस्था स्थापनाको पृष्ठभूमि बारे केही बताइदिनुस् न ?
खासमा यस क्षेत्रका ग्रामीण भेकमा रहेका महिलाहरूलाई आत्मनिर्भर बनाउने तथा उनीहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले हामीले घोराहीमा ५१ सालमा ग्रामीण महिला उत्थान केन्द्र सञ्चालन गयौँ । संस्थाले महिला उत्थानका लागि वार्षिक रूपमा धेरै काम गर्दै गयो ।
हाम्रो उद्देश्य भनेको महिला उत्थान र उनीहरूलाई आत्मनिर्भर बनाउनु नै थियो । यसका लागि संस्थागत कार्यक्रमले मात्र सम्भव दिएन । हामी ती महिलाहरूलाई आत्मनिर्भर मात्र नभएर मालिक पनि बनाउन चाहन्थ्यौँ । यही पृष्ठभूमिमा ग्रामीण बस्तीमा रहेका दिदिबहिनिहरूलाई एकत्रित गरेर बचत गर्न सिकाउने र वचत भएको पैसा आलोपालो व्यवसायीक रूपमा लगानी गरेर उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित यो संस्था स्थापना भएको हो ।
अर्थात आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको मातृ संस्था भनेको ग्रामीण महिला उत्थान केन्द्र हो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिको उद्देश्य पनि ग्रामीण महिला उत्थान केन्द्रको उद्देश्यसँगै जोडिएको छ । विपन्न ग्रामीण समुदायका परिवारलाई आर्थिक सशक्तिकरण गर्न समूहमा आवद्ध गरी वित्तीय सेवा प्रवाह गर्नु नै हो ।
तपाईको संस्थाको वर्तमान अवस्थाका विषयमा केही जानकारी गराइदिनुस् न ?
घोराहीमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको कार्यक्षेत्र समग्र लुम्बिनी प्रदेश रहेको छ । हालसम्म सदस्य संख्या ३५ हजार पाँच सय ६४ जना रहेको छ । सुरुदेखि हालसम्मको कुल लगानी १४ अर्ब १४ करोड ७६ लाख ४१ हजार दुई यइ ५० रूपैयाँ, अहिले बजारमा लगानी भएको रकम एक अर्ब ५५ करोड, ३४ लाख १० हजार नौ यइ ४८ रूपैयाँ रहेको छ ।
जम्मा बचत ९८ करोड ९७ हजार एक यइ ८८ रूपैयाँ र जम्मा ऋणि १२ हजार दुई सय ४६ रहेको छ । संस्थामा जम्मा कर्मचारी ९६ जना रहेका छन् । हाम्रा सबै कर्मचारीहरू सम्बन्धित शाखा मार्फत् ग्रामीण भेकसम्म पुगेर महिला समूह गठन गरी उनीहरूको सानो बचत सङ्कलन गर्न सहजीकरण गर्ने र बचतकर्ताहरूको सशक्तिकरणका लागि बिना धितो ऋण प्रवाह गर्ने काम समेत संस्थाले गर्दै आएको छ ।
कर्जा प्रवाहको प्रक्रिया र व्याजका विषयमा पनि जानकारी गराइदिनुस न ?
हामीसँग दुईथरीका पँुजी हुन्छन् । एउटा राष्ट्र बैंकबाट लिएको सहुलियत कर्जाको ऋण र गाउँ–गाउँमा महिला समूहबाट जम्मा भएको पैसा हो । यही पैसालाई लगानी गरेर महिलालाई आत्मनिर्भर बनाउने हाम्रो अभियान हो । हामीले राष्ट्र बैंकबाट पनि ७ प्रतिशत व्याज दरका ऋण ल्याएका हुन्छौँ ।
हामीले समूहमा आवद्ध महिलालाई बिना धितो ऋण प्रवाह गर्दा लिने व्याज पनि यही दरमा हो । त्यसपछि बचत भएको पैसाको व्याज दिने पनि यही दरमा हो । लगानी गर्दा कर्जा लिने महिलाको व्यावसाइीक दक्षताक, सिप र लगानीका पूर्वाधारहरू निर्माणको अवस्था हेरेर बिना धितो ऋण दिने हो ।
हाम्रा सेवाहरू दैनिक बचत, ऋण, विमा, छात्रवृत्ति, सिपमूलक तालिम तथा प्रसूति सहुलियत हुन् । हामीसँग समूह बचत, व्यक्तिगत बचत, शिक्षा बचत र छोरीचेली बचतका कार्यक्रमहरू छन् । हामीले दिने कर्जा भनेको व्यवसायीक कर्जा, कृषि तथा पशुपालन कर्जा, मौसमी कर्जा, वैदेशिक रोजगारी कर्जा, आकस्मिक कर्जा, लघुउद्यम कर्जा र शिक्षा कर्जा हुन् ।
त्यसैगरी यो वर्ष मात्रै हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा पुगेर वित्तीय साक्षारता कार्यक्रम, छात्रवृत्ति तथा खाद्यान्न वितरण तथा सदस्यहरूलाई बिमा वितरण लगायतका काम सम्पन्न गरिसकेका छौँ ।
तपाईहरूले यति धेरै सदस्यहरू बनाएर लघुवित्त चलाइरहँदा लघुवित्तका विषयमा बचत भएको पैसा पनि दिँदैनन् भनेर विभिन्न टिकाटिप्पणी भइरहेका छन् नि ?
हाम्रो संस्थामा त्यस्तो कामको परिकल्पना गर्न समेत सकिँदैन । हाम्रो संस्थामा कहिल्यै पनि आर्थिक तरलता आएको छैन । हामीले संस्थामा जम्मा भएको बचतको समष्टिगत विश्लेषण गरेर मात्रै लगानी गर्दछौँ ।
बचतकर्ताहरू जुनसुकै बेला आफ्नो बचत फिर्ता गर्न आए पनि भुक्तानी नपाउने अवस्था रहँदैन । बरू समयमा किस्ता तिर्नेलाई व्याजमा छुट समेतको प्रबन्ध हाम्रो संस्थामा कार्यान्वयनमा ल्याउँदै छौँ ।
हामीले जहाँ–जहाँ लगानी गरेका छौँ, त्यसको बेला–बेलामा स्थलगत अनुगमन समेत गरेर लगानी खास उद्देश्य अनुरूप भएको छ छैन भनेर पनि निगमन गर्ने गरेका छौँ । हाम्रो लगानी डुब्ने अवस्थामा पनि छैन भन्ने हाम्रो आर्थिक विश्लेषण छ ।
लघुवित्त सञ्चालन गर्दा केही चुनौती पनि सामना गर्नु प¥र्या छ ?
उत्साहसँगै थुप्रै समस्या छन् । खासमा भन्नुपर्दा कहीँ कतै हामीले समूहका सदस्यहरूलाई दिएको व्यवसायीक कर्जा समूह मध्येकै टाठाबाठाले चलाउने गरेको पनि पाएका छौँ । किस्ता उठाउन कर्मचारी पठाउँदा पनि केहिले समय किस्ता नतिर्ने र केहिले धम्कि समेत दिने गरेका छन् ।
अर्को समस्या भनेको एउटा गिरोह लघुवित्तकै विरुद्धमा पनि लागेको छ । तपाईले पनि त सुन्नु भएको होला, मणिराम ज्ञवालीको नेतृत्वमा एउटा लघुवित्त विरुद्ध संघर्ष समिति बनेको छ । त्यो समितिको कुनै पनि कानुनी अर्थ छैन । उसको माग भनेकै लघुवित्तबाट ल्याएको ऋण मिनाह गराउनु हो । हामीले ऋण मिनाह गर्न कसरी सक्छौँ ।
अन्तमा केही भन्नु छ कि ?
नेपाल जस्तो अल्पविकसित मुलुकमा थुप्रै विपन्न समुदाय छन् । उनीहरूलाई दैनिक रोजी रोटीको समस्या छ । आइआर्जनका आधारहरू छैनन् । आयस्रोत पनि कमजोर नै हुन्छ । यस्ता विपन्न समुदायको उत्थानमा लघुवित्त कार्यक्रम नै विकल्प हो । सानो पुँजीबाट पनि केही गर्न सकिन्छ भन्ने सिकाउने संस्था नै लघुवित्त हो ।
ग्रामीण बस्तीमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी उत्पादनमूलक काममा लगाउनु नै लघुवित्तको मुख्य उद्देश्य हो । हामीले पनि त्इहि गर्दे आएका छौँ । हाम्रै वित्तीय संस्थाको माध्यमबाट पनि थुप्रै विपन्न समुदायका दिदिबहिनिहरू आत्मनिर्भर भएका छन् । स्वरोजगारको अभियानमा जोडिएका छन् तर यहाँ लघुवित्त कार्यक्रमका विषयमा पनि कही कतै भ्रम सिर्जना गर्ने काम पनि भएको छ ।
यस्तो भ्रमका पछि नलाग्न पनि मैले यसै पत्रिकामार्फत् सबैलाई अनुरोध गर्दछु । किनकि हामीले हरेक कामलाई पारदर्शिता पूर्वक गर्दै आएका छौँ । सूचना प्रविधिले हामीलाई पारदर्शी बन्न प्रेरित पनि गरेको छ । सबै कामहरू कम्प्युटराइज्ड भएका छन् । यति भन्दै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका विषयमा केही कुरा राख्ने अवसर दिनुभएकोमा गोरक्ष राष्ट्रिय दैनिक परिवारलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
