मेरो खुशी : सुनपुर गाउँमा विद्यालय स्थापना …

आज करिव बत्तिस वर्ष भयो तर त्यो समय मलार्ई आज पनि याद आउछ । सुनपुरको त्यो स्कुल । गाउँमा विद्यालय नहुँदा साना बालबालिका घण्टा जति पैदल हिडेर अन्यत्रको स्कुलमा जानु पथ्र्यो । आफूले विद्यार्थी राजनीतिसँगै पार्टी राजनीतिमा पनि जोडिदा शिक्षाको विकासलार्ई प्राथमिकता दिनु स्वाभाविकै पनि थियो ।

लेखिदिनु होला मेरो खुसी सुनपुरमा विद्यालय स्थापना । जुन विद्यालय मेरो गाउँको थियो, मेरो मुटुको ढुकढुकी थियो, सुनपुरको शैक्षिक भविष्य बोकेको थियो, अनि सुनपुरबासीको शिक्षाको घर थियो । समाजसेवी एवम् राजनीतिकर्मी भोला अधिकारीले आफ्नो खुसीको क्षणलार्ई यसरी व्यक्त गर्छन् । सुनपुर गाउँमा विद्यालय स्थापना गरेर भवन निर्माण गर्दाको क्षणलार्र्ई खुसीको क्षणका रूपमा लिन्छन् ।

विद्यार्थीसँगै नेपाली कांग्रेसको राजनीति गरेका अधिकारीको गाउँमा विद्यालय थिएन । गाउँमा विद्यालय नहुँदा साना बालबालिकालार्र्ई पढ्नका लागि गाउँदेखि टाढा जानु पर्ने बाध्यता थियो । साना बालबालिकाको त्यही दुःख देखेका अधिकारीले २०५० सालमा गाउँमै विद्यालय सञ्चालन सोच बनाए । त्यही अनुसार गाउँघरमा सल्लाह गरेर तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिएर निजी स्रोतबाट शिक्षकको व्यवस्थापन गरेर सुनपुरमा कक्षा १ सञ्चालन गरे । कक्षा ३ सञ्चालन भएपछि २०५३ सालमा जिल्ला शिक्षा कार्यालयले काजमा एकजना शिक्षकको व्यवस्थापन गरिदियो ।

तर विद्यार्थी बसेर पढ्नका लागि कक्षा कोठा थिएन । कक्षा पाँचसम्म पढाइ हुँदासम्म विद्यालयका स्थायी संरक्षण नहुँदा विद्यार्थीलार्र्ई समस्या भइरहेको थियो । गाउँघरबाट हुने सहयोग, नेतालार्र्ई भनसुन गरेर बिग्रिएको बनाउनेदेखि शिक्षकलार्र्ई तलब खुवाउने काम भइरहेको थियो । विद्यालयमा राम्रो भनेको जाइकाको सहयोगमा बनेको दुई कोठे भवन मात्र थियो ।

त्यही समयमा अधिकारी गरिबसँग विश्वेश्वर कार्यक्रममा जोडिने अवसर प्राप्त गरे । तत्कालीन मन्त्री चिरन्जीवी बाग्लेको पालनामा ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ को दाङको संयोजकका रूपमा अर्जुन श्रेष्ठ र सदस्यका रूपमा मैले करिब ६ महिना काम गरेको थिए । ६ महिना काम गर्दा तलब, भत्ता बापतको २८ सय रूपैयाँ बुझेको थिए ।

बुझेको २८ सयमध्ये आठ सय खाना, फिल्डमा जाँदा खर्चमा सकिएको थियो भने दुई हजार बचेको थियो । त्यही दुई हजारलाई विद्यालयको भवन निर्माणमा लगाउने घोषणा गरेर गाउँघरमा चन्दा सङ्कलनको अभियान अघि बढाए । अभियानअन्तर्गत एक लाख २५ हजार रूपैयाँ सङ्कलन भयो र त्यसमा पछि नेपाली कांग्रेसका नेता तथा तत्कालीन क्षेत्र नं. २ का सांसद बलदेव शर्मा मजगैयाले पनि धेरै सहयोग गर्नुभयो र विद्यालयको पाँच कोठे पक्की भवन निर्माण भयो । पछि सहयोग जुट्दै गएपछि त्यहीमाथि कक्षा थप गरेर दश कोठे भवन निर्माण गरिएको अहिले पनि विद्यालय सञ्चालन भइरहेको बताउँछन् । अधिकारीले उक्त विद्यालयमा स्थापनाकालदेखि २०६२÷०६३ सम्म विद्यालय व्यवस्थापन समितिको नेतृत्व गरेका थिए ।

मध्यम वर्गीय परिवारमा जन्मिएका अधिकारीको सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । राजनीतिसँगै त्रिभुवननगर जेसीज, लायन्स क्लब घोराही सिटी, मानव कल्यान तथा वातावरण संरक्षण केन्द्रलगायतका विभिन्न दर्जन बढी संघसंस्थामा आवद्ध भएर सामाजिक कार्य गरेका अधिकारी नेपाली कांग्रेस दाङका जिल्ला सदस्य छन् । घोराही उपमहानगरपालिका–१ स्थित गंगा माध्यामिक विद्यालय रामपुरमा अध्ययनका क्रममा २०३७ सालमा नेपाल विद्यार्थी संघको सदस्य लिएर सक्रिय राजनीतिमा जोडिएका अधिकारी २०३८÷०३९ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भएका थिए । भरत केसी नेविसंघको जिल्ला अध्यक्ष भएको समयमा किरण रेग्मी, गोपालराज शर्मा, अमर खड्कालगायतका हामी जिल्ला सदस्य थियौँ । भर्खर राजनीतिमा जोडिएको र नेविसंघ जिल्ला सदस्य भएकाले विद्यार्थी सङ्गठन निर्माणमा लाग्थ्यौँ ।

त्यो बेला गाडी नचल्ने भएका कारण घोराहीबाट नारायणपुर–लुहारडबरा–भोजपुर हुँदै श्रीगाउँ पुगेका थियौँ । विद्यालयमा कार्यक्रम गर्ने तयारी गर्ने समयमा कम्युनिष्ट निकट विद्यार्थीले कार्यक्रम गर्न नदिने बताएका थिए । उक्त विद्यालयमा नेविसंघभन्दा कम्युनिष्ट निकट विद्यार्थीको बर्चश्व थियो । त्यही कारण नेविसंघलार्र्ई कार्यक्रम गर्न नदिने बताएका रहिछन्, हामी पुगेपछि कम्युनिष्ट निकट विद्यार्थीका लिडरलार्र्ई बोलाएर छलफल ग¥यौँ ।

विपी कोइरालाको सम्झनामा शोकसभा गर्न नदिने भए नेविसंघको बर्चश्व रहेका क्याम्पस तथा विद्यालयमा कार्यक्रम गर्न नदिने अडान लिएपछि उनीहरू पछि हटे, त्यसपछि उक्त विद्यालयमा कार्यक्रम गरेका थियौँ । उक्त कार्यक्रममा पहिलो पटक प्रमुख अतिथि बनेर भाषण गरेको थिएँ, त्यो क्षण पनि विद्यार्थी जीवनको एउटा खुसीको क्षण हो ।

जुन कार्यक्रममा विद्यार्थीसँगै स्थानीय समुदायको उल्लेख्य सहभागीता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन तत्कालीन समयमा विद्यालयका शिक्षक नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मीले गरेका थिए । जनमत संग्रहका क्रममा बहुदलयका पक्षमा खुलेर प्रचारप्रसार गर्दै सक्रिय राजनीतिमा लागेका अधिकारी २०४५ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघबाट सचिवमा निर्वाचित भए ।

राजनीतिमा पहिलो पटक स्ववियु निर्वाचनमा प्रतिष्पर्धा गरेका अधिकारीले स्ववियुको निर्वाचनमा सचिव पदमा निर्वाचित हुँदाको क्षणलार्र्ई पनि खुसीको क्षणका रूपमा लिने गर्दछन् । स्ववियुको निर्वाचनमा उम्मेदवार बनेपछि क्याम्पससँगै गाउँगाउँ निर्वाचन प्रचारप्रसारका क्रममा गएको अनुभव सम्झिँदै भन्छन्,‘क्याम्पसमा नेविसंघको बर्चश्व भएका कारण चुनाव जितिन्छ भन्ने पहिल्यै थाहा थियो तर पनि निर्वाचन गोप्य मतदान भएकाले ढुक्क हुने अवस्था थिएन ।

त्यही कारण क्याम्पसमा प्रचारप्रसारसँगै बिदाको समयमा घरमा गएका विद्यार्थीलार्र्ई भेट्नका लागि तुलसीपुर र देउखुरीका विभिन्न ठाउँमा गएका थियौँ । नेविसंघको साख र त्यही प्रचारप्रसारका कारण निर्वाचन जित्दाको क्षण पनि खुसी हो ।’ उक्त स्ववियु निर्वाचनमा कम्युनिष्ट, राप्रपालगायतका अन्य विद्यार्थी सङ्गठन मिलेर निर्वाचन लड्दा नेविसंघका बासुदेव पन्त नेतृत्वको प्यानल विजयी भएको थियो ।

राजनीतिसँगै विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक कार्य गरेका अधिकारीले २०४७÷०४८ सालतिर पार्टीको सल्लाहमा ‘जय नेपाल’ साप्ताहिकमा काम गरेका थिए । पत्रकारितासम्बन्धी ज्ञान भएका विनोद पोख्रेलको सल्लाहमा भगिरथ योगी र आफूले करिब दुई वर्ष पत्रिका प्रकाशन गरेका थिए । त्यसक्रममा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला दाङसँगै सल्यान कार्यक्रममा जाँदा आफू पनि समाचार सङ्कलनका क्रममा सल्यानसमेत पुगेको अधिकारी बताउँछन् ।

पार्टीलार्र्ई सहयोग पुग्ने गरी नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्का, बलदेव शर्मा मजगैया र तीर्थराज चैतुको आग्रह अनुसार पत्रिका चलाएको र पछि पार्टीको कार्यकारी पदमा पुगेपछि पत्रिकाबाट अलग भएको बताए । बुबा विष्णुप्रसाद अधिकारी र आमा खिमादेवी अधिकारीका चार छोरा र तीन छोरीमध्ये जेष्ठ छोराका रूपमा भोला अधिकारी प्युठानको तिराममा २०१९ साल भदौ २६ गते जन्मिएका थिए ।

अधिकारी जन्मिएको करिब डेढ वर्षको उमेरमा प्युठानबाट बसाइसराई गरेर अधिकारीको परिवार घोराही उपमहानगरपालिका–४ वीपी मार्गअन्तर्गत सुनपुरमा आएको थियो । बुबा विष्णुप्रसाद अधिकारी धनुषा जिल्लाको जनकपुरस्थित मटयानी संस्कृत क्याम्पसमा अध्ययनका क्रममा विद्यार्थीको प्रतिनिधित्व गर्दै काठमाडौंमा भएको विद्यार्थीको सम्मेलनमा जानुभएको थियो । त्यही सम्मेलनमा विष्णुप्रसादले नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालासँगको भेटसँगै उहाँसँग कुरा गर्ने अवसर प्राप्त गर्नुभएको थियो । त्यसपछि उहाँ कांग्रेसप्रति आवद्ध हुनु भयो । बुबाले पार्टीको प्रत्यक्ष रूपमा सक्रिय राजनीति नगरेपनि अप्रत्यक्ष रूपमा पार्टीको सङ्गठन निर्माणका लागि ठुलो योगदान छ ।

नेविसंघ हुँदै नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ को संस्थापक क्षेत्रीय सहसचिव, दुई कार्यकाल क्षेत्रीय सचिव, १२औँ महाधिवेशनमा महासमिति सदस्य हुँदै अहिले नेपाली कांग्रेस दाङको जिल्ला सदस्यका रूपमा रहेका छन् । जिल्ला सदस्यमा निर्वाचित भएपछि वीपी पुस्तकालय तथा बाचनालयको संयोजक, सङ्गठन विभाग सदस्य, प्रशिक्षण समितिको सदस्यसँगै सम्मान समितिको सदस्यमा भएर काम गर्दै आएका अधिकारी त्रिभुवननगर जेसीजको अध्यक्ष, लार्यन्स क्लब घोराही सिटीको संस्थापक तथा दोस्रो कार्यकालमा अध्यक्ष, मानव कल्यान तथा वातावरण संरक्षण केन्द्रको सचिव, अधिकारी समाज दाङको अध्यक्ष, विश्व हिन्दु महासंघ दाङको सचिव, गंगा मावि रामपुर पूर्व विद्यार्थी समाजको संयोजक भइरहेका छन् ।

त्यसैगरी सुनपुर सामुदायिक वन उपभोक्ता समूह पूर्व अध्यक्ष, सामुदायिक महासंघ दाङको पूर्व लेखा संयोजक, मगर ग्राम सवारीकोटको पूर्व समन्वयकर्ता, तत्कालीन जिविस दाङको सुशासन परामर्शदाता, स्वास्थ्य कार्यालय दाङका पूर्व परामर्शदाता, तत्कालीन जिविस अन्तर्गत रहेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम संयोजक, उद्यम तथा सामाजिक विकास मञ्च दाङका (ग्ल्म्ए को साझेदार संस्था) संयोजक रूपमा समेत काम गरिसकेका छन् ।

सरस्वती अधिकारीसँग वैवाहिक बन्धनमा बाँधिएका अधिकारी दम्पत्तिबाट एक मात्र छोरी सञ्जना अधिकारी छिन् । २०२५ सालमा गोग्ली स्कुलबाट औपचारिक शिक्षा सुरुवात गरेका अधिकारीले कक्षा ३ देखि दश कक्षासम्म गंगा माध्यामिक विद्यालय रामपुरसम्म अध्ययन गरे । क्याम्पस अध्ययनका क्रममा २०३७ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएका अधिकारीले डिग्रीसम्म अध्ययन गरेका छन् ।

प्रस्तुति : लीलाधर वली