गोरक्ष समाचारदाता
दाङ, ४ भदौ । देउखुरीमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’ रोगबाट एक पुरुषको मृत्यु भएको छ । जापानिज इन्सेफ्लाइटिस रोगका कारण राप्ती गाउँपालिका–१ निवासी ६० बर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय दाङका किटजन्य सरुवा रोग फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।
फोकल पर्सन चन्दका अनुसार गत साउन १८ गते बिरामी भई बुटवलस्थित अस्पतालमा भर्ना भएका बिरामीको भदौ २ गते सोमवार उपचारका क्रममा मृत्यु भएको थियो । उपचारका क्रममा उहाँमा जापानिज इन्सेफ्लाइटिस रोगको संक्रमण पुष्टि भएको थियो ।
फोकल पर्सन चन्दका अनुसार जिल्लामा थप तीन जनामा जापानिज इन्सेफ्लाइटिस रोगका संक्रमित पुष्टि भएका छन् । उनका अनुसार राप्ती गाउँपालिका–६ निवासी ११ वर्षीय बालक, गढवा गाउँपालिका–६ निवासी ३६ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–१२ निवासी २६ वर्षीय एक महिला गरि तीन जनामा संक्रमण देखिएको छ ।
संक्रमितमध्ये राप्ती गाउँपालिका–६ निवासी बालकको राप्ती आधारभूत अस्पताल कालापानीमा उपचार भई रहेको छ भने अन्य दुई जनाको जिल्ला बाहिर उपचार भइरहेको छ । जिल्लामा पछिल्लो समय जापानिज इन्सेफ्लाइटिसका सङ्क्रमित पुष्टि भएपछि संकास्पद थप १६ जनाको नमूना संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने तयारी गरिएको छ ।
राप्ती गाउँपालिकाका विभिन्न वडामा संक्रमित भेटिएपछि सोमवार र मंगलवार त्यस क्षेत्रका अन्य ज्वरो आएका १६ जना बिरामीको रगत संकलन गरिएको छ । संकास्पद बिरामी भएका गढवा गाउँपालिका–६ , राप्ती गाउँपालिका वडा नं. १ र ६ बाट नमूना संकलन गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।
शाखा प्रमुख राउतका अनुसार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा र स्वास्थ्य कार्यालय दाङको प्राविधिक सहयोगमा संकलन गरिएको नमूना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारीमा गरिएको छ । फोकल पर्सन चन्दका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो ।