गोरक्ष समाचारदाता
दाङ, ४ भदौ । बालबालिका, युवा तथा महिलाहरूको सामाजिक सशक्तीकरण गर्ने लक्ष्यका साथ काम गर्दै आएको नेपाल महिला सामुदायिक सेवा केन्द्र, दाङले आफ्नो ३२ औँ स्थापना दिवसको अवसरमा पहिलो दिन रक्तदान कार्यक्रम गरेको छ ।
२०५० सालमा स्थापना भएको संस्थाले सामाजिक उत्तरदायित्व स्वरूप रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता एवम् घोराही–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेको विशिष्ट आतिथ्यतामा मङ्गलवार कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले महिला, बालबालिका, सीमान्तकृत, असहाय, पछि पारिएका वर्गको उत्थानका लागि ३२ वर्ष अघि संस्थाले लिएको परिकल्पना कार्यान्वयनबाट धेरैको जीवनमा परिवर्तन ल्याउन सफल भएको बताए । उनले सामाजिक संघसंस्थाले जस्तै काम राज्यले इमानदारीपूर्वक गर्न सकेको भए देशले कायापलट गर्न समय नलाग्ने विश्वास व्यक्त गरेका थिए ।
महिला, बालबालिकाको हित नभएसम्म सभ्य र भव्य समाज बन्न सक्दैन भनेर हिजोका दिनमा कठिन परिस्थितिबाट सुरु गरिएको कामले ठुलो सङ्घर्षबाट उपलब्धि हासिल गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । ‘महिला सक्षम हुनु भनेको समाजबाट गरिबी निवारणको आधार बन्नु हो ।
समाजमा समृद्धिको यात्रा थालनी हुनु हो’, प्रमुख अतिथि शर्माले भने, ‘नेपाल महिला सामुदायिक सेवा केन्द्रले नागरिकको अवस्था फेर्न गर्दै आएको प्रयासले रोजगारी सिर्जना गर्नेदेखि स्वदेशमै कमाउने र रमाउने वातावरण निर्माण गरेको छ ।’
वडाअध्यक्ष पाण्डेले समाज रूपान्तरणका लागि २०–२२ वर्षको उमेरमा तत्कालीन समयमा संस्थापकले लिएको सोँचलाई सफलतामा रूपान्तरण गर्ने काम अनुकरणीय रहेको बताए । उनले भौतिक विकासले मात्रै समाज समृद्ध बन्न सक्दैन भन्ने मान्यतालाई आत्मसात गरेर काम गरिरहेको संस्थाले जस्तै मानव संशाधन र सचेतनाको विकासमा अब सबैको ध्यान जान आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले सामाजिक सेवाको क्षेत्रमा संस्थाले गरेको कामले सकारात्मक प्रभाव पारेको बताएका थिए । राज्यले प्राथमिकता राखेका कुरा नागरिकले उपभोग गर्न नपाइरहेको अवस्थामा केन्द्रले सेवा प्रदान गरेर मानवता जागृत गर्ने काम गरेको बताएका थिए ।
घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख राधा पौडेलले दिगो विकास लक्ष्यका विषयमा सराहनीय काम गरेको बताइन् । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख उपेन्द्र बमले युवा, महिला, बालबालिकालाई सही मार्गमा हिँडाउन संस्थाले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
पछिल्लो समय युवा लागूऔषध दुव्र्यसनमा पर्ने गरेका घटनालाई ध्यानमा राखेर लागूऔषध नियन्त्रण, मनोसामाजिक परामर्श जस्ता काम समुदाय स्तरसम्म पु¥याउन आग्रह गरेका थिए ।
कार्यक्रममा महिलाको सामाजिक सशक्तीकरण, आर्थिक सशक्तीकरण, पर्यावरणीय विकास र दिगोपना, मनोसामाजिक परामर्श, सीप विकासलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको संस्थाले गरेको प्रयासले थुप्रैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकेको संस्थाकी अध्यक्ष कल्पना न्यौपानेले जानकारी गराएकी थिइन् ।
उनका अनुसार विभिन्न दातृ निकाय र साझेदार संस्थाहरूसँगको सहकार्यमा समुदाय स्तरमा परियोजनामार्फत् संस्थाले काम गर्दै आएको छ । अतिविपन्न परिवारका बालबालिकालाई औपचारिक शिक्षामा निरन्तरता, युवा तथा महिलालाई स्वरोजगार बनाउन सहकारी संस्था स्थापना तथा परिचालन, लघुवित्त कार्यक्रम तथा उद्यम विकास कार्यक्रममार्फत् तालिम, सिप तथा उत्पादनलाई बजारीकरण गर्दै आत्मनिर्भर बनाउँदै आएको संस्थापक अध्यक्ष योगीले बताइन् ।
महिलाहरूसँग सम्बन्धित घरेलु हिंसा, द्वन्द्व प्रभावित महिलाहरूको मानसिक स्वास्थ्य, द्वन्द्व प्रभावित परिवारका बालबालिकालाई शिक्षा तथा स्वास्थ्यमा पहुँच पु¥याउने काममा संस्थाले काम गर्दै आएको संस्थाका सूचना अधिकारी आरके शीतलले बताए । उनका अनुसार संस्थाले दाङ, रोल्पा, रुकुम पूर्व, रूकुम पश्चिम, जाजरकोटलगायतका जिल्लामा आफ्नो सेवा विस्तार गरेर काम गर्दै आएको छ ।
विभिन्न रचनात्मक काम गरेर साताव्यापी रूपमा स्थापना दिवस मनाउने क्रममा पहिलो दिन रक्तदान गरिएको हो । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा मदनकुमार शर्मा, विवेक केसी, पवन योगी, इन्द्रबहादुर रेग्मी, मधुसूदन न्यौपाने, कविता डिसी, अस्मिता रेग्मी, गगन योगी, सुनी जिसी, भुवन भण्डारी, पवित्रा चौधरी, अमितकुमार यादव, अम्बिका वली, प्रमिला पुन मगर, शरद महतरा, बुद्धिकुमारी जिसी, विवेक चौधरी, वसन्ता बस्नेत, अन्जु हमाल, प्रमेश चौधरी, उर्मिला बस्नेत, कल्पाना डाँगी र सुस्मा विक गरी २३ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमको सहजीकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रकी सचिव शिवा योेगीले गरेकी थिइन् ।