महिला बन्दै प्रविधिमैत्री

प्रमोद आचार्य
दंगीशरण, ४ भदौ । प्रविधिको तीव्र विकास र डिजिटल प्रणालीको विस्तारसँगै दंगीशरण गाउँपालिकाका महिला प्रविधिमैत्री बन्दै गएका छन् । मोबाइल बैङ्किङ, अनलाइन बिल भुक्तानी, डिजिटल सेवा प्रणाली जस्ता प्रविधिको प्रयोग गर्दै महिलाहरू आफूलाई आधुनिक युगसँग जोड्न सक्ने भएका छन् ।

समुन्नति परियोजना र दंगीशरण गाउँपालिकाको साझेदारीमा सञ्चालित डिजिटल साक्षरता कक्षा वडा नम्बर १ मा चार वटा कक्षा र वडा नं. २ मा दुई वटा कक्षा सञ्चालन भएका छन् । दंगीशरण गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रमेश भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा मङ्गलवार डिजिटल साक्षरता कक्षाको उद्घाटन गरिएको हो ।

डिजिटल साक्षरता कक्षा उद्घाटन गर्दै पालिका अध्यक्ष गिरीले आफूहरू डिजिटल नेपाल निर्माणको अभियान स्थानीय तहबाटै सरुवात गर्न खोजेको बताए । उनले महिलाहरू प्रविधिमैत्री हुन सके आफूहरूको सफलता हुने बताए । दंगीशरणका सात वटै वडाका महिलामा डिजिटल साक्षरता कक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पालिकाले सञ्चालन गरेको तालिमबाट महिलाले बिजुली, खानेपानी र मोबाइल सेवाका बिल अनलाइनबाट तिर्न, मोबाइल एपको सहायताबाट बैङ्किङ कारोबार गर्न, सरकारी सेवा तथा सूचना डिजिटल माध्यमबाट प्राप्त गर्न सक्षम हुनेछन् । गाउँपालिका अध्यक्ष गिरी, उपाध्यक्ष पिमा खड्का वली र प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको नेतृत्वमा डिजिटल साक्षरताको अभियान थालिएको छ । महिलालाई प्रविधिमा दक्ष बनाउन सञ्चालन गरिएको तालिमको प्रशिक्षकमा सरिता चौधरी र जानकी वली रहेका छन् ।