शङ्का गरे लङ्का जल्छ, अति गरे खती हुन्छ

नारायणप्रसाद श्रेष्ठ

मानव जीवन इमान्दारिता, विश्वास, प्रेम, त्याग र समर्पण तथा भरोसाको सागर हो । यही विश्वास र समर्पणबाट नै जीवनले सहज गति निर्धारण गरेको हुन्छ । बाह्य आवरणमा देखिने जति पनि उतारचढाव छन्, ती सबै क्षणिक र मन भित्रको भ्रान्ती र सपना हुन् ।

समयको प्रवाहले कहिले खुसी कहिले दुःखी बनाउनु भनेको यो प्रकृतिको नियम पनि हो । प्रकृतिसँग रमाउन नजान्ने, मानिसको स्वभावले ल्याउने परिणाम भनेकै दुःख हो । यसलाई निवारण गर्ने उत्तम विकल्प भनेको एकले अर्काप्रति देखाउने सद्भाव र भरोसा हो । तर, कतिपय अवस्थामा मानवीय चिन्तनभित्र लुकेको इस्र्या र डाहाले उत्पन्न हुने शंकाले जीवनलाई निकै कष्टकर बनाएको हुन्छ ।

किनकि शंकाले मानिसलाई कहिल्यै पूर्ण हुन दिँदैन । न त यसले जीवनले निर्धारण गरेको गोरेटोलाई शुद्ध र आचरणयुक्त बनाउन मद्दतै गर्छ । जब यो मानवीय चिन्तनमा प्रवल भएर देखा पर्न थाल्दछ । तब त्यहाँ घृणा, द्वेष, इष्र्या, प्रतिशोधको भावना उत्पन्न भई मानिस आफूले आफैलाई पतन उन्मुख बनाउन पुग्दछ । यति मात्र होइन यसले जीवनलाई अपांग बनाई समाजदेखि पर र अर्धचेतन अवस्थामा पु¥याउँछ ।

शंकाले लंका जलाउँछ त्यसै भनिएको होइन । यसले मानिसलाई अँध्यारो गल्लीमा भड्किन बाध्य बनाउँछ । जीवनलाई अधोगति उन्मुख गराई यता न उता गराई सबैतिर नाशको परिस्थिति सिर्जना हुन पुग्दछ । जसको फलस्वरूप मानवीय चेतनामा नयाँ सोच चिन्तन जागृत हुन सक्दैन । यस्तो अवस्थामा न त विश्वासको जग बलियो वन्न सक्छ ।

न त अरुप्रति भरोसा राख्ने परिस्थिति नै उत्पन्न हुने अवस्था रहन्छ । यस्तो अवस्था आउनु भनेको मनलाई अशान्ति र भ्रमित बनाउनु हो । भ्रमित र चेतना सुन्ने मनले न त सिर्जनात्मक विचारको प्रादुर्भाव बनाउँछ । न त अरुप्रति विश्वासको वातावरण नै बनाउन सक्छ । उसभित्र छिपेको सत्यता समेत गुम्सिने अवस्था रहन्छ ।

किनकि मन नै सवै समस्याको समाधान गर्ने महत्वपूर्ण अंग हो । विचार हो । यदि मन नै विचलन हुने परिस्थिति जन्मन्छ भने त्यो पाखण्डी र नीति हराएको व्यक्तिभित्र गणना हुन पुग्दछ । भीडतन्त्रको भूमरीभित्र हराएको मनुस्य जस्तै हुन्छ । उसले न त आफूलाई उच्च शिखरमा उभ्याउन सक्छ न त सबैको प्रिय बन्न सक्छ । उसले एकातिर आस्था र भरोसा गुमाएको हुन्छ भने अर्कोतर्फ जीवनको गतिमा नैराश्यताको वातावरण जन्माउन पुग्छ ।

त्यसैले सन्देहले ल्याउने परिणाम र दलदलमा फस्दै जाने परिस्थितिको गम्भीर आकलन गरी मानवीय विवेक र चिन्तनमा आउने शंका, भएर अविश्वासलाई परित्याग गर्न सक्नु पर्दछ । अति भए खति हुन्छ यो कदापि भुल्न हुँदैन ।

सन्देहले आवेग र प्रतिशोध जन्माउँछ । यसले अरुमाथि दोषारोपण गर्ने अनर्थक प्रयास गर्न उक्साउँछ । उ होइन म नै योग्य हुँ भनी जिद्दी स्वभाव र स्वार्थपरक विचारहरु प्रभाव गराउन लागि पर्दछ । अरुलाई होइन आफूलाई योग्य बनाउन ठान्दछ ।

यसले गर्दा अरुप्रति आदर गर्ने व्यवहार होइन अनादार गर्ने बानीको विकास गराउँछ । इष्टमित्र नाता, कुल कुटुम्बप्रतिको उसको भावना दुराचार युक्ततर्फ आकृष्ट हुन पुग्दछ । यसले गर्दा उसले आफू र आफ्नो जीवनलाई समेत अधोगति उन्मुख गराउँछ । त्यसैले यी सबै समस्या र उल्झनबाट मुक्त हुन मैले यो जीवन छोड्नुपर्छ ।

म अहिले यो शरीरमा छु । भरे वा भोलि यो शरीर नहुन सक्छ । यो विचारलाई हर हमेशा मनको एउटा कुनामा राखेर आफूलाई प्रस्तुत गर्नुपर्दछ । सृष्टिको इतिहासदेखि अहिलेसम्म मानिसले मरेर के लगे र मैले पनि के लगेर जाने हो ? जस्ता प्रश्नको जवाफ आफैभित्र खोजी, प्रत्येक क्षण आफूले प्रवाह गर्ने विचार र व्यवहारलाई सकारात्मक उन्मुख बनाउनुपर्दछ ।

जन्मदा पनि नांगै, मर्दा पनि नांगै जाने यो प्रकृतिको नियम हो भन्ने सोच राखी आफूलाई रुपान्तरण गर्न सक्नु पर्दछ । अहिलेसम्मको इतिहास केलाएर हेर्ने हो भने हाम्रो पूर्खाले आफ्नो जीवनमा के गरे के गरेनन् । उनीहरुले के कस्तो संस्कार छोडेर गए ।

राम्रो काम गरे वा गरेनन् । अहिले इतिहास बोलिरहेको छ । यति मात्र होइन उनीहरुले आफ्ुनो धनसम्पत्तिसँगै लगे वा लगेनन् । त्यस कुराको हेक्का राखी अहिले आफूलाई प्रस्तुत गर्नु पर्ने भएको छ । हाम्रो पूर्खाले छोडेर गएको राम्रो प्रचलन, संस्कार अहिले हाम्रो लागि जीवन जिउने आधार बनेको कुरा पनि भुल्नु हुँदैन ।

इतिहास झुट बोल्दैन । त्यसैले हामीले पनि भावी सन्तानको लागि असल संस्कृतिको विकास गरी इतिहास रच्न सक्नुपर्दछ । अरुप्रति प्रतिशोध होइन, सदाचारको भावना बढाइ आफ्ना हरेक कर्मले नयाँ विचार प्रवाह गर्ने वातावरण बनाउन सक्नुपर्दछ ।

जीवन भनेको आशा भरोसा र विश्वासको प्रतिमूर्ति भएकोले यसबाट स्थापित मान्यता अनुरुप विचारलाई परिमार्जित गरी समाजलाई आदर्श उन्मुख र गतिशील बनाउन, आफ्ना हरेक कर्महरुलाई अरुको सहारा र भरोसा तथा विश्वास योग्य बनाउनु पर्दछ ।

यसको लागि शंका भय र प्रतिशोध भावनालाई हटाई आफूलाई इमान्दार, नरम प्रवृत्ति, उन्मुख बनाउनुपर्दछ । पद र प्रतिष्ठा केवल क्षणिक अनुभूति हुन् । तसर्थ पद र प्रतिष्ठा प्राप्त गरे भन्दैमा जथाभावी विचारहरु प्रदर्शन गर्ने हैकमवादी सोच र चिन्तन बढाउने गर्नु हुँदैन । यो राम्रो कार्य होइन ।

यसले नयाँ पिढीमा अविश्वासको वातावरण जन्माउँछ । शंका उत्पन्न गर्छ । जसको कारणले आफूले राम्रा कुरा गरेको भए पनि त्यो ओझल हुन पुगी अविश्वासको वातावरण मडारिन्छ । यस्तो अवस्था आउनु भनेको आफूले आफूलाई पतन उन्मुख गराउनु हो । त्यसैले हरेक समस्याको समाधान रचनात्मक चिन्तनबाट सम्भाव गराउँदै अगाडि बढ्न सक्नुपर्दछ ।

इज्जत र प्रतिष्ठालाई रकममा खरिद गर्ने प्रवृत्ति हटाई, जीवनमा देखा पर्ने विविध समस्यालाई सकारात्मक चिन्तनको माध्यम समाधान गर्दै अगाडि बढ्नुपर्दछ । विचार र सोचमा सिर्जनात्मक भाव जागृत गराई जीवनको हरेक क्षणलाई खुसी उन्मुख बनाउनुपर्दछ ।

कसैलाई प्रतिशोधको भावनाले बदला लिन्छु भनेर यदि विचार उत्पन्न गरिन्छ भने यो आफैमा प्रति उत्पादक बन्न सक्छ । किनभने चिनी धेरै खायो भने पनि तितो हुन्छ । त्यस्तै व्यवहार र कर्ममा गलत मानसिकता जगाई अति ग¥यो भने पनि खति अवश्य हुन्छ । यो कुराको हेक्का राख्न जरुरी छ ।

प्रेम र प्रिय बस्तु फेरिन सक्छ, सामाजिक कार्य गर्दा विविध समस्या आउन सक्छ, तसर्थ यस कुराको हेक्का राखी हठवादी चिन्तन हटाइ धर्ती माता (जसको वातावरणीय स्वच्छतालाई मानिसले जति नै धमिल्याउने काम गरे पनि उस्ले आफूले दिनु पर्ने शीतलता र फल दिन छोड्दैन ) त्यसैगरी प्रत्येक सचेत वर्गले आफूलाई इतिहासको पानामा दर्ज हुने गरी सकारात्मक कर्म गर्नुपर्दछ ।

शंकाले उत्पन्न हुने जति पनि नकारात्मक प्रवृत्ति छन् त्यसको समयमै पहिचान गरी आफूलाई प्रदर्शन गर्न सक्नुपर्दछ । म अरुको प्यारो कसरी बन्न सक्छु भनेर चिन्तन गर्नुभन्दा म अरुको कसरी सहयोगी बन्न सक्छु भन्ने सोच वृद्धि गरी, सहयोगी सदा सुखी, भन्ने मान्यतालाई स्थापित गर्न सक्नुपर्दछ ।

शंका भए इष्र्या र डाहा तथा प्रतिशोध यी मानिसलाई पतन गराउने आधार हुन् चाहिनेभन्दा पनि बढी भयो भने त्यसले अवश्य पनि क्षति पु¥याउँछ । यो सर्वमान्य किम्बदन्ती हो । त्यसैले अरुले के गरे भन्नु भन्दा मैले के गरे भन्ने विचार राखी सधैँ भविष्यको आधारशिला हुने गरी आफ्ना कर्महरु प्रदर्शन गर्न सक्नुपर्दछ । तब मात्र जीवनले खोजेको सत्य पहिल्याउने वातावरण बन्न सक्छ इतिहासले सकारात्मक भाव प्रदर्शन गर्न सक्छ । शंका गरे लंका जल्छ, अति गरे खती हुन्छ त्यसै भनिएको होइन । चेतना भया ।