राप्ती गाउँपालिकाको वित्तीय प्रगति ८६.५१ प्रतिशत

तुलबहादुर कवँर
भालुबाङ, २ भदौ । राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०८१÷०८२ मा स्वीकृत कुल बजेटको छ दशमलव ५१ प्रतिशत खर्च गरेको छ ।

कुल ६४ करोड ५३ लाख ३६ हजार रुपैयाँ स्वीकृत बजेट मध्ये ५६ करोड नौ लाख ७४ हजार रुपैयाँ प्राप्त भएको थियो । यसमध्ये ५५ करोड २६ लाख ४४ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त तीन करोड १३ लाख १५ हजार रुपैयाँमध्ये तीन करोड छ लाख ६२ हजार रुपैयाँ अर्थात् ९७ दशमलव ७१ प्रतिशत खर्च भएको छ ।

सङ्घीय सरकारबाट प्राप्त ३३ करोड २२ लाख तीन हजार रुपैयाँ अनुदानमध्ये ३२ करोड ३४ लाख २ हजार रुपैयाँ अर्थात् ९७ दशमलव ३५ प्रतिशत खर्च भएको छ । आन्तरिक आम्दानीबाट चार करोड ९९ लाख ७५ हजार रुपैयाँमध्ये चार करोड ७१ लाख ११ हजार रुपैयाँ अर्थात् ९३ दशमलव ४९ प्रतिशत खर्च भएको छ ।

राजस्व बाँडफाँडबाट प्राप्त १५ करोड ७० लाख ७१ हजार रुपैयाँमध्ये १५ करोड २४ लाख ६९ हजार रुपैयाँ अर्थात् ९६ दशमलव ४३ प्रतिशत खर्च भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न शाखा र वडाहरूले वर्षभर गरेका कार्य तथा उपलब्धिहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अध्यक्ष विष्टले योजनाहरू सफलता पूर्वक कार्यान्वयनमा गाउँपालिकावासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायको सहयोगप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि तथा युवा उद्यमशीलता जस्ता क्षेत्रमा पालिकाले उल्लेखनीय प्रगति गरेको बताए ।

‘जनताको विश्वासलाई केन्द्रमा राखी हरेक योजनामा पारदर्शिता र सहभागितालाई प्राथमिकता दिएका छौँ’, अध्यक्ष विष्टले भने, ‘स्थानीय सरकारको मूल जिम्मेवारी जनताको सेवा हो, जसलाई हामी सबै मिलेर अझ प्रभावकारी बनाउँदै लैजाने छौँ ।’ सेवा प्रवाहलाई पारदर्शी, गुणस्तरीय र उत्तरदायी बनाउन विशेष ध्यान दिन कर्मचारीलाई आग्रह गरे ।

प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले नतिजामुखी सेवा प्रवाह, स्रोतको सही उपयोग र जनसहभागिताको सन्तुलनमा जोड दिए । उनले कर्मचारी र जनप्रतिनिधिबिचको आपसी विश्वास र सहकार्यबाट मात्रै समृद्ध गाउँपालिका निर्माण सम्भव हुने विश्वास व्यक्त गरे ।

विभिन्न सूचकका आधारमा मूल्यांकन गर्दा वडा नं. २ प्रथम, वडा नं. १ द्वितीय र वडा नं. ४ तृतीय भएका छन्। कार्यक्रममा कार्यपालिका सदस्य, वडाध्यक्ष, शाखा प्रमुख, वडा सचिव, अन्य कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो । कार्यक्रममा सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा सूचना अधिकृत विश्वास विकले गरेका थिए ।