गोरक्ष समाचारदाता
दाङ, २ भदौ । देशभर यो वर्ष अहिलेसम्म ९४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । यो परिमाण गत वर्ष सोही अवधिको तुलनामा चार प्रतिशतभन्दा कम हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार १ भदौसम्म ९४ दशमलव १५ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष भदौ २ गतेसम्म ९८ दशमलव ४४ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार १३ लाख ७६ हजार चार सय ६६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये १ भदौसम्म १२ लाख ९५ हजार आठ सय ८७ हेक्टरमा धान रोपाइँ भएको छ ।
प्रदेशगत हेर्दा कोशीमा २५ साउनसम्म ९४ दशमलव ४२ प्रतिशत रोपाइँ भएको छ । कोशीमा धान रोपाइँ हुने दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर क्षेत्रफलमध्ये दुई लाख ६० हजार नौ सय ६४ हेक्टरमा रोपाइँ सकिएको छ । यहाँ गएको वर्ष सोही अवधिमा ९९ प्रतिशत रोपाइँ भएको थियो । त्यसैगरी मधेश प्रदेशमा ३० साउनसम्म ८६ दशमलव ३५ प्रतिशत रोपाइँ भएको छ ।
मधेशमा धान रोपाइँ हुने तीन लाख ७० हजार एक सय ४५ हेक्टर क्षेत्रफलमध्ये तीन लाख १९ हजार छ सय २६ हेक्टरमा रोपाइँ भएको हो । गत वर्ष सोही अवधिमा यहाँ ९७ प्रतिशत रोपाइँ भएको थियो ।
बागमती प्रदेशमा २५ साउनसम्म ९७ दशमलव २७ प्रतिशत रोपाइँ सकिएको छ । बागमतीमा धान रोपाइँ हुने कुल एक लाख १५ हजार ६ सय २१ हेक्टर क्षेत्रफलमध्ये एक लाख १२ हजार ४ सय ५९ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष सोही अवधिमा ९९ प्रतिशत रोपाइँ भएको थियो । यस्तै गण्डकी प्रदेशमा १ भदौसम्म ९४ दशमलव ८३ प्रतिशत रोपाइँ सकिएको छ ।
गण्डकीमा धान रोपाइँ हुने ९४ हजार एक सय दुई हेक्टर क्षेत्रफलमध्ये ८९ हजार ३ सय ११ हेक्टरमा रोपाइँ सकिएको छ । गण्डकीमा गत वर्ष सोही अवधिमा नौ प्रतिशत रोपाइँ भएको थियो । लुम्बिनी प्रदेशमा २५ साउनसम्म नौ दशमलव ०७ प्रतिशत धान रोपाइँ भएको छ ।
लुम्बिनीमा धान रोपाइँ हुने कुल तीन लाख दुई हजार नौ सय ३९ हेक्टर क्षेत्रफलमध्ये दुई लाख ९७ हजार एक सय तीन हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष सोही अवधिमा नौ प्रतिशत रोपाइँ भएको थियो । यसैगरी कर्णाली प्रदेशमा १ भदौसम्म ९९ दशमलव ३४ प्रतिशत रोपाइँ सकिएको छ ।
कर्णालीमा धान रोपाइँ हुने कुल ४१ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये ४० हजार ७ सय ७० हेक्टरमा रोपाइँ भएको हो । गएको वर्ष सोही अवधिमा ९९ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिम प्रदेशमा १८ साउनसम्म ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिममा धान रोपाइँ हुने एक लाख ७६ हजार एक सय ५१ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७५ हजार ६ सय ५२ हेक्टरमा रोपाइँ भएको हो । गत वर्ष सोही अवधिमा शतप्रतिशत रोपाइँ भएको थियो ।