गोरक्ष समाचारदाता
दाङ, ३१ साउन । लुुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले युवालाई स्वरोजगार सिर्जना गर्नतर्फ सामाजिक संघसंस्था लाग्नुपर्ने बताएका छन् । लायन्स क्लब अफ घोराही सिटीको १५ औँ पद हस्तान्त्रणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
युवाले नेतृत्व गरेका संघसंस्थाले युवाकै लागि रोजगार सिर्जना गर्न भूमिका खेल्नु पर्ने उनले बताए । यसका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए । ‘प्रदेश सरकार सहकार्य गर्न तयार छ, रोजगार सिर्जनाका योजना लिएर आउनुस्’, उनले भने ।
सामाजिक संघसंस्थाले सम्भावनाबारे सरकारलाई सल्लाह सुझाव दिए सरकारलाई पनि रोजगार सिर्जनामा सहज हुने मन्त्री न्यौपानेले बताए । कार्यक्रममा लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष ओविन्द्र महराले सन् २०२५÷०२६ का लागि निर्वाचित अध्यक्ष सनत गिरीलाई पद हस्तान्तरण गरेका थिए ।
नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा पुष्पराज आचार्य, द्वितीय उपाध्यक्षमा रविकिरण केसी, तृतीय उपाध्यक्षमा चेतन बस्नेत, सचिवमा भीमसेन डिसी रहेका छन् । पदहस्तान्तरण कार्यक्रम लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष महराको अध्यक्षता तथा लुुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख आतिथ्यता एवम् घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको विशिष्ट आतिथ्यतामा भएको थियो ।
प्रथम उपाध्यक्ष पुष्पराज आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जीवन आचार्यले गरेका थिए ।