गोरक्ष समाचारदाता
दाङ, ३१ साउन । निरन्तरको वर्षासँगै जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका छन् । खास गरी पहाडी क्षेत्रमा खनिएका नयाँ सडक वर्षासँगै भासिएर तथा सडकमा पहिरो खसेर अवरुद्ध हुँदा स्थानीयले समस्या भोग्नुपर्ने भएको छ ।
वर्षाका कारण पहिरो खस्दा नेपाल–भारत सीमा अन्तर्गत गढवा गाउँपालिका–८ मुसीनाकाबासीलाई भारतीय भूभाग भएर हिड्दै कोइलावास आउनुपर्ने बाध्यता छ । नेपाली भूमि अन्तर्गत कोइलावास–मुसीनाका जोड्ने कच्ची सडकमा पहिरो खस्नुका साथै खोलाले सडक बिगार्दा असारको अन्तिम सातादेखि सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा स्थानीयलाई भारतीय क्षेत्रको बाटो हिडेर कोइलावाससम्म आउनुपर्ने बाध्यता भएको गढवा गाउँपालिका–८ कोइलावास निवासी गोविन्द अधिकारी बताउँछन् ।
दैनिक घरायसी सामान किनमेल, बालबालिकालाई विद्यालय जान, वडा कार्यालयमा सेवा लिन तथा बिरामी हुँदा स्वास्थ्यचौकी आउने बाटो बन्द हुँदा समस्या भएको भन्दै अधिकारीले भने, ‘मुसीनाकाबासीका लागि किनमेलदेखि बालबालिकालाई विद्यालय जान र बिरामी हुँदा औषधी किन्न आउने ठाउँ कोइलावास हो तर बाटो राम्रो नहुँदा समस्या छ ।’
आफनो देशको बाटो बिग्रिँदा दशगजा हुँदै भारतीय भूमि भएर करिब डेढ घण्टा हिँडेर कोइलावा पुग्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । उनका अनुसार भरपर्दाे सडक नहुँदा वर्षात्को समयमा प्रत्येक सडक बिग्रने र स्थानीयले दुःख भोग्नु पर्ने अवस्था रहेको छ । भारतीय क्षेत्रमा भएको राष्ट्रिय निकुञ्जको जङ्गल भएर हिंड्दा जङ्गली जनावरको त्रास हुनुका साथै निकुञ्जका मानिसले सिकार खेल्न आएको भनेर शङ्का गर्ने गरेको उनी बताउँछन् ।
‘दशगजा हुँदै भारतीय बाटो भएर आउन सहज छ तर जङ्गल क्षेत्रमा भेटे भने वन विभागका कर्मचारीले दुःख दिने गर्छन्’, उनले भने, ‘आफ्नै देशमा राम्रो बाटो भइदिए वर्षाको समयमा समस्या हुने थिएन ।’
मुसीनाका क्षेत्रजस्तै शान्तिनगर गाउँपालिका–१ पेदीखोला–बाघखोर हुँदै बाजबिसौना गाउँ जोड्ने ग्रामीण सडक पनि वर्षाका कारण बिग्रिएको छ । पेदीखोला–बाघखोर हुँदै बाजबिसौना जोड्ने सडक अन्तर्गत बाघखोर–बाजबिसौना सडक खण्डमा पहिरो खस्नुका साथै भत्किएर अवरुद्ध भएपछि स्थानीयलाई सास्ती भएको छ ।
सुख्खा समयमा ट्याक्सी चल्ने सडक बिग्रिएपछि अहिले पैदल हिड्न समेत समस्या भएको शान्तिनगर–१ पेदीखोला निवासी मिनबहादुर खत्री बताउँछन् । वर्षाका कारण सडक भत्किनुका साथै ठाउँठाउँमा पहिरो गएपछि ग्रामीण सडकमा यातायातका साधन चल्नै छाडेको भन्दै खत्रीले भने, ‘पानी नपर्दासम्म सडक राम्रो थियो । गाउँसम्मै ट्याक्सी आउँदा बजार किनमेल गर्न जान सजिलो थियो तर पानी परेर बाटो बिग्रिएपछि समस्या भएको छ ।’
सडक बिग्रिँदा करिब एक घण्टा पैदल हिड्नुपर्ने बाध्यता भएको उनी बताउँछन् । पछिल्लो समय निरन्तर परेको वर्षाका कारण राजपुर गाउँपालिका–७ अन्तर्गत गोठुवा हुँदै भालुमारे–सुनपथरी जोड्ने सडकलगायतका नाका जोड्ने अधिकांश सडक अवरुद्ध छन् ।
साउन महिना लागेसँगै परेको वर्षाका कारण सडक अवरुद्ध हुँदा स्थानीयलाई हिडडुल गर्न समस्या भएको छ । वर्षा नहुँदा हिउँदमा सवारीसाधन चल्ने सडक वर्षासँगै बिग्रिँदा स्थानीयलाई पैदल हिडेर वडा तथा गाउँपालिकामा पर्ने कामका लागि आउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले वर्षाको समयमा बर्सेनि नाकाबासीलाई सडकको समस्या हुने गरेको बताइन् । सडक नै नपुगेका नाका विभिन्न बस्तीमा सडक पु¥याउने काम गाउँपालिकाले गरे पनि वर्षात्मा निरन्तर हुने वर्षाका कारण सडक भत्किने र पहिरो गएर अवरुद्ध भइरहेको बताइन् ।
गाउँपालिकासँग सीमित बजेट र स्रोत साधन भएले वर्षात्मा जाने पहिरो हटाएर सडक सञ्चालन गर्न समस्या भइरहेको भन्दै भनिन्, ‘नाका जोड्ने अधिकांश सडक वर्षात्सँगै बिग्रिएका छन् । पानी निरन्तर पर्ने र सडक बिग्रिरहने भएकाले वर्षात् अधि सडकमा खसेको पहिरो हटाउन सक्ने अवस्था छैन ।’ सडक नहुँदा वर्षात्को समयमा स्थानीयलाई दुःख बिरामी परेका बेला समस्या हुने गरेको छ ।