बालाराम खड्का
तुलसीपुर, ३१ साउन । नेपालीले मनाउँदै आएका चाडपर्व सुरु भएका छन् । चाडपर्वहरू सुरु भएसँगै सहर बजारमा भिडभाड सुरु भएको छ । बजारमा किनमेल गर्नेदेखि परम्परागत जात्रा र लाखे नाचले बजारमा मनोरञ्जन दिनुका साथै चहलपहल बढाएका छन् ।
नेपालीका चाडपर्वहरू श्रीकृष्ण जन्माष्टमी, तिजपञ्चमी नजिकिँदै गर्दा बजारमा लत्ताकपडादेखि अन्य खाद्यवस्तु किनमेल गर्नेको चहलपहल बढेको छ । ‘बजार भरिभराउ छ, अब पर्वहरू नजिकिने बेला भएकाले पहिलेको भन्दा व्यापार बढेको छ’, स्थानीय माधव केसीले भने । उनले परम्परागत विभिन्न जात्रादेखि लाखेनाचले समेत बजारमा चहल पहल बढेको बताए ।
‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज शनिवार देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
आजको दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘ब्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दुबाट व्यक्त ‘श्रीमद्भागवत् गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । आज जिल्लाका विभिन्न ठुला, साना श्रीकृष्ण मन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ ।
यसै उपलक्ष्यमा तुलसीपुर–८ चन्द्रगन्जमा रहेको कृष्ण मन्दिरमा श्रीकृष्ण महोत्सव एवा् महाआरती २०८२ को आयोजना गरेको श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव भुपबहादुर केसीले जानकारी दिए । स्वामी केशवाचार्य (सूर्यपाकस्) महाराजको उपस्थितिमा सन्ध्याकालीन कृष्ण महोत्सव झुला प्रदर्शन सन्ध्याकालीन महाआरती तथा भजनकीर्तन गरिने समितिले जनाएको छ ।
यसैगरी बिहान ६ बजेदेखि अपराह्नसम्म पूजाआराधना, सांस्कृतिक कार्यक्रम, लाखे नाच र बेलुका सन्ध्याकालीन आरती, धार्मिक प्रवचन हुने कृष्णमन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । आयोजकले महोत्सव महाआरतीमा सहभागी भई पूजाआराधना तथा प्रसाद ग्रहण गरी पुण्य लाभ लिन सम्पूर्णमा अपिल गरेको छ ।