टेकबहादुर पुन
देउखुरी, ३१ साउन । चाडपर्व नजिकिँदै गर्दा देउखुरी उद्योग वाणिज्य संघले देउखुरी क्षेत्रका उद्योगी, व्यवसायीसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरेको छ । दशैँ, तिहार, छठलगायतका पर्व नजिकिँदै गर्दा बजारमा हुने अनुगमन, गुणस्तर परीक्षण र मूल्य नियन्त्रणका कारबाही प्रक्रियाबारे व्यवसायीलाई आवश्यक सतर्कता र कानूनी जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो ।
नेपालगन्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका टोलीको उपस्थितिमा भएको कार्यक्रम संघका अध्यक्ष कमलजंगसिंह ठकुरीको अध्यक्षता र कार्यालयका प्रमुख हरिबहादुर खत्रीको प्रमुख आतिथ्यता भएको थियो ।
बजार क्षेत्रमा प्रायः चाडपर्व नजिकिँदा सरकारी निकायले मूल्य नियन्त्रण, नापतौलको शुद्धता, म्याद गुज्रिएका सामानको बिक्रीमा रोकथाम तथा गुणस्तर सुनिश्चितता गर्न अनुगमन गरिन्छ । अनुगमनका क्रममा कतिपय व्यवसायी कानूनी जानकारीको कमी वा प्रक्रियागत कमजोरीका कारण कारबाहीमा पर्ने, सामान जफत गरिने वा जरिवानामा परेको देखिएकाले उद्योगी, व्यवसायीलाई सचेत गराउन कार्यक्रम गरिए संघले बताएको छ ।
पालना गर्नुपर्ने कानूनी दायित्व, आवश्यक प्रक्रिया र कागजातबारे सचेतना, उपभोक्ता अधिकार र व्यवसायीको जिम्मेवारीको सन्तुलन कायम गर्नेबारे व्यावहारिक जानकारी दिनु कार्यक्रमको उद्देश्य रहेको संघले भनेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रशिक्षक डम्बरबहादुर बुढाले व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने मुख्य विषयबारे विस्तृत प्राविधिक जानकारी प्रस्तुत गरेका थिए ।
उनले म्याद गुज्रिएका सामानप्रति सचेत, नापतौलको शुद्धता, वस्तुको मूल्यसूची सार्वजनिक, बिल÷रसिद अनिवार्य, कर, गुणस्तर मापदण्डलगायत कानूनी कारबाहीसमेतका विषयमा प्रशिक्षण दिएका थिए । अन्तरक्रियामा व्यवसायीले कर प्रणाली सरल बनाउन, अनुगमन टोलीको व्यवहार सुधार गर्न र व्यवसायमैत्री नीति बनाउन सरकारलाई सुझाव दिएका थिए । सहभागीले आआफ्ना अनुभव सुनाउँदै अनुगमनका क्रममा देखिने समस्या र समाधानका उपायबारे प्रश्न गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरिबहादुर खत्रीले बजार नियमनको उद्देश्य व्यवसायीलाई दण्ड दिन मात्र नभई उपभोक्ताको हक र उद्योगीको प्रतिष्ठा दुवैको रक्षा गर्ने रहेको बताए । उनले भने, ‘व्यवसायीले कानून र प्रक्रिया पालना गर्नुभयो भने अनुगमनमा कुनै समस्या हुँदैन, अनुगमनले त तपाईंहरूको व्यवसायमा विश्वास र बजारको छवि बढाउन सहयोग गर्छ ।’
कार्यक्रममा लमही–५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी ‘सागर’ले स्थानीय सरकारको तर्फबाट व्यवसायमैत्री वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मानिसको स्वास्थ्यसँग जोडिएको खाद्यवस्तुको बिक्री वितरणमा व्यवसायीले विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष ठकुरीले व्यवसायीलाई कानूनी प्रक्रियाको पालना गर्न आग्रह गरे ।
‘हामीसँग उचित जानकारी र तयारी भए कारबाहीबाट मात्र नभई बजारमा प्रतिस्पर्धा र विश्वसनीयतामा फाइदा हुन्छ’, उनले भने । अध्यक्ष ठकुरीले दसैं–तिहारमा मात्र नभई हरेक समयमा अनुगमन भइरहेको बताए । उनले संघको तर्फबाट आगामी दिनमा यस्ता प्रशिक्षण र अन्तरक्रियालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
वाणिज्य संघकी महिला उपाध्यक्ष शारदा सुवेदीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष केशवराज पोखरेलले गरेका थिए । देउखुरी उद्योग वाणिज्य संघको यो प्रयासलाई सहभागी व्यवसायीले समयानुकूल र उपयोगी भन्दै प्रशंसा गरेका थिए । चाडपर्वको व्यस्त बजार मौसम अघि भएको यस किसिमको कार्यक्रम व्यवसायी र उपभोक्ता दुवैका लागि लाभदायक हुने उनीहरूको भनाइ थियो ।