दंगीशरण–७ मा बाख्रा उपहार

गोरक्ष समाचारदाता
दाङ, ३१ साउन । दंगीशरण–७ को मन्त्रीडाँडामा दोस्रो पुस्ताका बाख्रा उपहार प्रदान गरिएको छ ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम ‘भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाऔँ’ भन्ने मुल उद्देश्यले नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीको आयोजना, दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा दोस्रो पुस्ताका बाख्रा उपहार प्रदान गरिएको हो ।

प्रगतिशील महिला समूहका अध्यक्ष सीता बुढाथोकीको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । बाख्रा उपहार कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले साना किसानको आर्थिक विकास तथा समृद्धिका लागि स्रोत र साधनलाई सबैलाई उपयोग होस् भन्ने उद्देश्यले परियोजनामार्फत् कार्यक्रम गरिएको बताए ।

अध्यक्ष गिरीले दंगीशरण गाउँपालिका कृषिमा आधारित गाउँपालिका रहेकाले कृषिमा परियोजनामार्फत् लगानी गरी कृषि आधुनिकीकरणतर्फ अगाडि बढेको बताए । गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले गाउँपालिकाबाट महिलाका लागि हुने लक्षित कार्यक्रमको भरपुर सदुपयोग गर्न आग्रह गरिन् ।

महिलामा इमान्दारिता, लगनशीलता र धीरता हुने भएकाले महिला सशक्त ढङ्गले अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । ७ नं. वडाका वडाध्यक्ष रेशम वलीले जनताको समस्या समाधान र किसानको आयआर्जनमा टेवा पु¥याउन गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा रहेको परियोजनाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, प्रशासन प्रमुख सुदीप डाँगी, छहरा समूहकी सदस्य भूमिका बुढाथोकी, महिला सामुदायिक सेवा केन्द्रका फोकल पर्सन नवराज अधिकारी, हरियाली समूहकी विष्णु भण्डारीलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

परियोजनामार्फत् प्रगतिशील महिला समूहलाई पहिलो पुस्ताका ६७ वटा बाख्रा उपहार दिइएको थियो । प्रगतिशील महिला समूहबाट छहरा महिला समूह कोइरालडाँडालाई २४ वटा बाख्रा प्रदान गरिएको हो ।

पहिलो पुस्ताका ६७ वटा बाख्रा वितरण गरेकोमा अहिले परियोजनाले ९१ वटा बाख्रा उपहार वितरण गरेको हो ।प्रगतिशील महिला समूहकी सचिव सविता केसीले प्रगति विवरण प्रस्तुत गर्दै समूहले बचत तथा उद्यमी बन्न सहयोग गरेको र अहिले सानो समस्या पर्दा हात थाप्नुपर्ने समस्याको अन्त्य भएको र समूहमा बस्दा आत्मनिर्भर भएको बताइन् । कार्यक्रममा प्रगतिशील महिला समूहका कोषाध्यक्ष सुमित्रा भण्डारीले स्वागत गरेकी थिइन् ।