बुदादेवी गोराथोकी ‘उत्कृष्ट महिला’ सम्मान प्रदान गरिने

गोरक्ष समाचारदाता
दाङ, २९ साउन । दाङ महिला जेसीजले ‘बुदादेवी गोराथोकी उत्कृष्ट महिला सम्मान’ प्रदान गर्ने भएको छ । दाङ महिला जेसीजले बुधवार पत्रकार सम्मेलनको आयोजन गरेर पाँच वर्षसम्म सामाजिक काममा सरिक भएका दाङबासी महिलालाई बुदादेवी गोराथोकी उत्कृष्ट महिला सम्मान प्रदान गरिने जानकारी दिएको हो ।

महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान प्रदान गरिएने दाङ महिला जेसीजका अध्यक्ष अनिता ढकालले जानकारी दिइन् । प्रत्येक वर्ष यो सम्मान फरक महिला समाजसेवीलाई प्रदान गरिँदै आएको महिला जेसीजले जानकारी दिएको छ । ‘हरेक क्षेत्रमा अगाडि बढेका महिलालाई यो सम्मानले प्रोत्साहित गर्नेछ’, उनले भनिन् ।

सम्मान पाउनका लागि दाङको बासिन्दा हुनुपर्ने, कुनै पनि सामाजिक क्षेत्रमा पाँच वर्षसम्म एउटै क्षेत्रमा काम गरेको हुनु पर्ने अध्यक्ष ढकालले बताइन् । सम्मानका लागि भदौ ११ गते सम्म निवेदन पेस गर्न सकिने उनले बताइन् । आएका निवेदनबाट छनोट गरेर सम्मान गरिने भएको छ । निवेदन इमेलमार्फत् पठाउन सकिने महिला जेसीजले जनाएको छ । इमेलबाट पठाउनेले व्अबलष्तबमजबपबद्दिछ२नmबष्।िअयm मा पठाउन सक्नेछन् ।

दाङ महिला जेसीजले स्न २०२३ बाट उत्कृष्ट महिला छनोट गरेर सम्मान गर्न थालेको हो । उक्त अक्षयकोष घोराही–१५ निवासी बुदादेवी गोराथोकीले स्थापना गरेकी हुन् । पत्रकार सम्मेलन दाङ महिला जेसीजका अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो । जेसीजका कोषाध्यक्ष अर्चना शर्माको जेसीज आस्थापाठबाट सुरु भएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव भीमा डिसीले गरेकी थिइन् ।