सुशासन प्रबद्र्धन प्रमुख लक्ष्य : मुख्यमन्त्री आचार्य

दाङ, २८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रबद्र्धनलाइ मुख्य लक्ष्यमा राखेर दृढतापूर्वक काम गरिरहेको बताउनुभएको छ ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकलाई बुधबार दाङको लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारले सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना निर्माण गरेको र त्यसकै आधारमा सुशासन प्रवद्र्धनका कार्यहरू अघि बढाएको बताउनुभएको हो ।

एक वर्षे उपलब्धिहरूको विवरण बैठकमा सुनाउँदै मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामहरूलाई पार्टी पंक्तिमार्फत जनस्तरमा पु¥याउनुपर्ने आवश्यकता बताउनुभयो । एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार निवारणका लागि बनाएको पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याएको भन्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘पूर्व विशिष्ट पदाधिकारीले पाउने सेवा सुविधा खारेज गरेर नयाँ सन्देश जनस्तरमा पु¥याएका छौं । एक वर्षको अवधिमा प्रदेश गौरवका योजनालाई नयाँ उचाइमा पु¥याउन सफल भएका छौं । सडक पूर्वाधार, पक्की तथा झोलुङ्गे पुल निर्माण, कालोपत्रे सडक, नयाँ सडक निर्माणमा उपलब्धि हासिल भएका छन् ।’

सरकारका कामकारबाहीबाट गाउँ र शहर जोडिन पुगेको, किसानले सिंचाइ सुविधा पाएको, स्थानीय उत्पादनले बजार पाएको, शैक्षिक गुणस्तरमा सुधार आएको र पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारले सफलता प्राप्त गरेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले एक वर्षे उपलब्धिहरूको विस्तृत विवरण बैठकमा प्रस्तुत गर्नुभएको थियो ।