दाङ,२८ साउन । युवालाई अवसर नदिदासम्म देशको विकास नहुने युवा विद्यार्थीले जोड दिएका छन् ।
‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने नारासहित अन्तराष्टिय युवा दिवसका अवसरमा नेपाल परिवार नियोजन संघ दाङ शाखाले आयोजना तथा घोराही उपमहानगरपालिका र नयाँ पाइला पुनःस्थापना केन्द्र, बिजौरीको सहआयोजनामा मंगलबार घोराहीमा भएको वृहत यौनिकता शिक्षा तथा युवाका सवाल विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले देश विकासका लागि युवालाई अवसर दिनुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा सहभागी युवापुस्ताले नेपाल सरकारले युवाका लागि कागजमा राम्रो नीति ल्याएपनि व्यवहारमा उतार्न नसकेका कारण देशको विकास हुन नसकेको र युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको बताएका थिए । नेपाल परिवार नियोजन संघ दाङका सभापति भरतराज देवकोटाको अध्यक्षता तथा परिवार नियोजन संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष निर्मला गौतम रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययरत विद्यार्थी मार्था गहतराजले नेपालमा युवाका लागि काम गर्ने वातावरण अझै बन्न नसकेको बताएका थिए ।
पद्मोदय पब्लिक नमूना माविका सेजन भण्डारी, सुदनकुमार बिकले वृहत यौनिकता शिक्षा तथा युवाका सवालमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । पद्मोदय क्याम्पसमा अध्ययनरत विकासराज सेनले शिक्षासँगै आफ्नो काममा दक्ष बन्न सके रोजगारीका लागि भौतारिनु पर्ने अवस्था नरहेको बताबताए । माउन्टभ्यु कलेजकी स्वेच्छा योगीले शिक्षालाई व्यवहारिक बनाउन ध्यान दिनुपर्ने बताइन ।
अन्तरक्रिया कार्यक्रममा माउन्ट भ्युकै अर्का विद्यार्थी शशांक पोख्रेलले युवालाई सही बाटोमा लैजान अभिभावक, विद्यालय र समुदायको भुमिका रहने बताए । उनले सबैलाई भविष्यको चिन्ता हुने भएपनि सही चिन्तन गरेर युवामैत्री राज्य स्थापनामा सबैको ध्यान जान आवश्यक रहेको बताएका थिए ।
मावि रझेनाका कृष्णा केसी र सुजन केसीले युवाहरुका आवाजलाई राज्यले सुनेर सही ढंगबाट सम्बोधन गर्नुपर्ने बेला आएको बिचार राख्दै युवालाई देशमै केही गर्ने वातावरण नबन्दासम्म देशले विकास नहुने बताएका थिए । कार्यक्रममा १ सय ५० बढी युवापुस्ताले सहभागीता जनाएका थिए ।सो अवसरमा नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले बृहत् यौनिकता शिक्षा र युवाहरुको सवालका विषयमा अभिमुखीकरण गरेका थिए ।
कार्यक्रममा नयाँ पाइला पुनस्र्थापना केन्द्र बिजौरीका काउन्सिलर शैलेश शर्माले लागु औषध सचेतना तथा ब्रहमकुमारी इश्वरीय विश्वविद्यालयका प्रशिक्षक शिवलाल महतराले रक्तदानको महत्वका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङ शाखा कोषाध्यक्ष माया पोख्रेलले गरेकी थिइन ।