जिल्लास्तरीय वार्षिक समीक्षा सुरु
अमरराज आचार्य
दाङ, २८ साउन । जिल्लाको समृद्धिका लागि एकताबद्ध भएर लाग्नुपर्ने कार्यक्रमका सहभागीले बताएका छन् । जिल्ला समन्वय समितिको आयोजनामा भएको जिल्लाका स्थानीय तह तथा सङ्घीय एवम् प्रदेश सरकारी कार्यालयको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन कार्यक्रमका सहभागीले जिल्लाको समग्र विकास र समृद्धिका लागि हरेक पक्ष एकताबद्ध भएर लाग्नुपर्ने बताएका हुन् ।
उनीहरूले सामूहिक रूपमा पहल गर्दा जिल्लाको समृद्धि र विकासको बाटोमा अगाडि बढ्न सकिने बताएका थिए । जिल्लाबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक तथा दलका नेतृत्व, सबै पालिका एवम् सरोकारवाला एकताबद्ध हुनपर्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री राजु खनालले सरकारले काम गरे पनि त्यसको बारेमा नागरिकलाई जानकारी गराउन नसक्दा राज्यको जिम्मेवारीप्रति निराश भएको बताए ।
सरकारले आफूले गरेका कामकारबाहीबारे नागरिकलाई स्पष्ट रूपमा बुझाउन आवश्यक रहेको उनले बताए । ‘तीन वटै सरकारले गरेका कामबारे नागरिकलाइ बुझाउन नसक्दा समस्या भएको हो’ उनले भने । नागरिकलाई बुझाउन नसक्दा नागरिकका निराशा र आक्रोश बढेको बताउँदै खनालले सरकारी निकायका सेवा प्रवाह सहज बनाउनतर्फ लाग्न सुझाएका थिए ।
हिजोको जस्तो सोचले आज नहुने भन्दै समयानुसार सेवा, सुविधा परिवर्तन गर्न सरकारी कार्यालयका प्रमुखहरूलाई पूर्वमन्त्री खनालले आग्रह गरेका थिए । ‘युवाहरूको सोचलाई सम्बोधन गर्दै प्रविधिसँग जोडेर लैजानुपर्छ’, उनले भने । वार्षिक समीक्षाले भएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्न सहयोग पुग्ने उनको भनाइ थियो ।
प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले सरकारी सेवालाई नेतामुखी नभई जनतामुखी हुनुपर्ने बताए । नागरिकलाई प्राथमिकतामा राखेर सरकारी निकायबाट प्रवाह हुने सेवा उपलब्ध गराउनुपर्ने उनले बताइन् । कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले सरकारी निकायप्रतिको नकारात्मक दृष्टि परिवर्तन नहुँदासम्म नागरिक र सरकारी निकायबिच समन्वय हुन समस्या भइरहने बताए ।
‘सहीलाई सही र गलतलाई लगत भन्न सक्नुपर्छ’, उनले भने । तीन वटै सरकारले गरेका काम एकीकृत गरेर आम नागरिकका सामुन्ने ल्याउन आवश्यक रहेको नगर प्रमुख चौधरीले बताए । उनका अनुसार काम गर्दा कानुले नियन्त्रण गर्दा समस्या भएको हुने गर्छ । ‘काम गर्ने क्रममा कानुनी अवरोधका कारण समस्या भएको छ’, उनले भने, ‘विकास तथा समृद्धिमा बाधा अड्चन पु¥याउने कानुन सच्चाएर काम गर्ने सहज वातावरण निर्माण गर्नु आवश्यक छ ।’
यसैगरी कार्यक्रममा राप्ती गाउपालिका अध्यक्ष प्रकाश विष्टले तीन वटै तहका सरकारले सहकार्य गरेर कामकारबाही गर्नसके जिल्लाको समृद्धिमा कुनै समस्या नहुने बताए । सबैको सहकार्य भए विकास तथा सरकारी निकायबाट प्रवाह हुने सेवा सहजै आम नागरिकसम्म पुग्ने उनले बताए ।
एउटा सरकारले गरेको काममा अर्को सरकारले सहयोग नगर्ने प्रवृत्तिले भने सेवा प्रवाहमा समस्या हुने गरेको बताए । निर्माण व्यवसायीले समयमा काम नगर्दा त्यसको दोष सरकारले लिनु परेको बताउँदै प्रमुख विष्टले भने, ‘निर्माण व्यवसायीको लापरवाहीले समयमा योजना, आयोजना सम्पन्न नहुँदा त्यसको दोष समेत हामीलाई लाग्ने गर्छ’, उनले भने । जिल्लाको समृद्धिका लागि सबै क्षेत्रको सहकार्य हुनुपर्ने उनले बताए ।
यसैगरी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले समन्वय समितिले तीन वटै सरकारसँगको समन्वयमा महत्वपूर्ण भूमिका खेलेको बताए । जिल्ला समन्वय समिति र स्थानीय पालिकाबिचको सहकार्य, समन्वयले कार्यालय प्रमुखहरूले विनियोजन गरेका बजेटको कार्यान्वयन गर्न सहज हुने बताए । यसैगरी शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमा बुढाथोकीले जिल्लाको समृद्धिसँग जोडिएका विविध कार्यक्रम आफ्नो पालिकामा गरेको बताइन् ।
सबैको इच्छा जिल्लाको समृद्धि रहेको बताउँदै उपाध्यक्ष बुढाथोकीले सामूहिक रूपमा जिल्लाको समृद्धिका लागि पहल गर्न आवश्यक रहेको बताइन् । नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले जिल्लाको समृद्धिका लागि सामूहिक प्रयास नै अचु उपाय भएको बताए । एकताबद्ध हुन नसक्दा जिल्लाको समृद्धिको बाटो तितरवितर भएको बताउँदै सचिव श्रेष्ठले कार्यालयहरूले गरेका कामबारे नागरिकलाई जानकारी दिनुपर्ने बताए । ‘नागरिकले अनुभूति गर्ने गरी उपलब्धि हासिल हुनुपर्छ’, उनले भने ।
यसैगरी नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले गरेका कामका उपलब्धिहरू तथ्याङ्कको रूपमा देखिनुपर्ने बताए । कुन स्थानबाट कुन स्थानमा पुगियो भनेर देखिनुपर्ने उनले बताए । जसलाई नागरिकले अनुभूति गर्न सक्नुपर्ने उनको भनाइ छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले आर्थिक क्षेत्रको विकासमा लगानी बढाउनु पर्ने बताए ।
जिल्ला समन्वय समितिको आयोजनामा वार्षिक समीक्षा गर्न थालिएको हो । समीक्षा दुई दिनसम्म सञ्चालन हुने भएको छ । वार्षिक समीक्षामा प्रस्तुत गरिएका वार्षिक प्रगति प्रतिवेदनमध्ये उत्कृट हुनेलाई पुरस्कृत समेत गरिने भएको छ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माको अध्यक्षता तथा प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री राजु खानलको प्रमुख आतिथ्यतामा भएको थियो । उपप्रमुख चेतना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समन्वय समितिका नासु बिमला पाण्डेले गरेकी थिइन्